१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

न्यु साउथ वेल्समा सत्तारूढ दलको बहुमत

नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यमा भएको चुनावमा सत्तारूढ लिबरल पार्टीले बहुमत हासिल गरेको छ । निर्वाचनमा हार व्यहोरेपछि विपक्षी दल लेबरका नेता माइकल डेलीले आफ्नो पदबाट राजीनामा दिएका छन् । 

कुल ९३ सिट रहेको प्रतिनिधिसभामा लिबरलले ४७ सिटमा विजयी भएको हो । विपक्षी दल लेबरले भने जम्मा ३५ सिटमा मात्र जित हासिल गरेको छ । ग्लाडिस बेरेजिक्लियानले न्यु साउथ वेल्सको चुनावमा बहुमत ल्याउने पहिलो महिला नेतृ बनेकी छन् । उनी न्यु साउथ वेल्सकी प्रिमियर हुन् । देशकै सबैभन्दा ठूलो व्यावसायिक केन्द्र सिड्नी राजधानी रहेको राज्यको निर्वाचनलाई अस्ट्रेलियामा निकै महत्त्वका साथ हेरिन्छ ।


निर्वाचनमा हार व्यहोरेसँगै विपक्षी दल लेबरमा केही महिनाअघि मात्र नेतृत्वमा आएका माइकल डेलीले पार्टी नेताबाट राजीनामा दिएका छन् । निर्वाचनमा भएको हारसँगै विपक्षी पार्टीभित्र उत्पन्न दबाब थेग्न नसकेर उनी राजीनामा दिन बाध्य भएको अस्ट्रेलियाली सञ्चारमाध्यमले उल्लेख गरेका छन् । तर उनले आफू केही महिनापछि हुने पार्टीक नेतृत्व चयनमा सहभागी हुने बताएका छन् ।


केही महिनामा हुन लागेको केन्द्रीय निर्वाचनमा समस्या पर्ने आंकलनबीच सत्तारूढ लिबरलाई न्यु साउथ वेल्समा भएको जितले केही राहत दिएको विश्लेषण गरिएको छ । लिबरका आधा दर्जनभन्दा बढी उच्च नेताले केही समयअघि राजनीतिबाट सन्यास लिएका थिए । न्यु साउथ वेल्सको निर्वाचन परिणामले केन्द्रीय निर्वाचनमा समेत असर पार्न सक्ने आंकलन गरिएको छ ।


विगत दुई कार्यकालदेखि लगातार सत्तामा रहेको लिबरलले यस निर्वाचनमा ४ सिट गुमाएको भए पनि सरकार बनाउन आवश्यक सिट भने जित्न सफल बनेको छ । राजनीतिक विश्लेषकहरूले लिबरलले निर्वाचनमा अपेक्षा गरेभन्दा राम्रो नतिजा निकालेको दाबी गरेका छन् ।

प्रकाशित : चैत्र १२, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?