१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

'आप्रवासी नरोके मेक्सिको सीमा बन्द’

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका छिर्न खोज्ने आप्रवासी रोक्न थप कदम नचाले मेक्सिकोसँगको सीमा बन्द गर्ने चेतावनी दिएका छन् । राष्ट्रपतिले भनेजस्तै दुई देशबीचको सीमा बन्द गरिए आवतजावत अवरुद्ध हुनुका साथै अर्बौं डलरको व्यापार खर्च बढ्नेछ ।

'आप्रवासी नरोके मेक्सिको सीमा बन्द’

मेक्सिको नाका हुँदै अमेरिका छिर्ने आप्रवासीको संख्या बढिरहेका बेला राष्ट्रपति ट्रम्पले पछिल्लो चेतावनी दिएका हुन् ।


मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल ओब्राडोरले सीमा विवादको विषयमा आफू मुठभेडमा नउत्रने प्रतिक्रिया दिएका छन् । मेक्सिकोका विदेशमन्त्री मार्सेलो एब्रार्डले आफ्नो देश अमेरिकाको ठूलो छिमेकी भएको र चेतावनीका आधारमा कदम नचाल्ने भन्दै ट्वीट गरेका छन् ।


राष्ट्रपति ट्रम्पले पत्रकारसँग भने, ‘आगामी साता मैले सीमा बन्द गराउँछुजस्तो देखिन्छ र त्यो मेरा लागि उचित हुन्छ ।’ ट्रम्पका अनुसार मेक्सिकोले अमेरिका छिर्न खोज्ने आप्रवासीलाई नगरेको दाबी छ । त्यसपछि ट्रम्पले शृंखलावद्ध ट्वीट गर्दै लागूऔषध तस्करी रोक्न ठूलो रकम खर्चनुको साटो सीमा बन्द उपयुक्त हुने जनाए ।


राष्ट्रपति ओब्राडोरले मेक्सिकोबाट नभई मध्य अमेरिकी देशका कारण आप्रवासी समस्या भएको जनाउँदै ‘आप्रवासीसम्बन्धी विषय मेक्सिकोसँग निर्भर नभएको’ दाबी गरे । उनले भने, ‘मेक्सिकोका जनताले अब अमेरिकामा काम खोज्दैनन् । अधिकांश आप्रवासी मध्य अमेरिकी देशका बासिन्दा हुन् ।’


ट्रम्पका ट्वीटको प्रतिक्रियामा ओब्राडोरले आफ्ना समर्थकहरूमाझ भने, ‘हामी अमेरिकी सरकारसँग झगडा गर्ने पक्षमा नरहेको म स्पष्ट पार्न चाहन्छु । शान्ति र माया ।’ उनले आप्रवासन मानव अधिकार भएको बताए । ‘मध्य अमेरिकी देशका नागरिकसँग कुनै विकल्प नभएकाले उनीहरू बाँच्ने उपाय खोज्छन् ।’


आन्तरिक सुरक्षामन्क्री त्रिस्टन निएल्सनले एल साल्भाडोर, होन्डुरस र ग्वाटेमालामा पछिल्लो समय बढ्दै गएको हिंसापछि विस्थापित आप्रवासी सम्हाल्न सीमा सुरक्षा कर्मचारीलाई हम्मेहम्मे परिरहेको बताएकी छन् ।


मन्त्रालयले मार्चमा पक्राउ पर्ने गैरकानुनी आप्रवासीको संख्या लाखभन्दा बढी हुने अनुमान गरेको छ । मन्त्रालयका अनुसार नियन्त्रणमा लिइएका एक हजारभन्दा बढी बालबालिका आमाबुवाको साथमा छैनन् । नियन्त्रणमा लिइएका ६ हजार ६ सय आप्रवासीको हेरचाहमा समस्या उत्पन्न भएको निएल्सनको भनाइ छ ।


निएल्सनले सीमा बन्द गरिए त्यसको ठूलो आर्थिक असर पर्ने चेतावनी दिइन् । उनका अनुसार पर्यटन र दुई देशबीचको व्यापार निकै प्रभावित हुनेछ । मेक्सिकोको टिजुआनास्थित सीसीई ग्रुपका व्यवासाय प्रमुख कुर्त होनोल्डले खर्बौं डलर बराबरको नोक्सान पुग्ने बताए । अमेरिकी तथ्यांकअनुसार गतवर्ष दुई देशबीचको व्यापार ६ सय १२ अर्ब डलर बराबरको थियो ।


सन् २०१६ को राष्ट्रपतीय चुनावको अभियानका क्रममा ट्रम्पले गैरकानुनी आप्रवासीमाथि कडाइ गर्ने बताएका थिए । मेक्सिकोले सीमाबाट ‘लागूऔषध, अपराध र बलात्कारी’ अमेरिका भित्र्याएको उनको आरोप थियो । यद्यपि, सीमा क्षेत्रमा पर्खाल निर्माण गर्ने राष्ट्रपतिको वाचा कंग्रेसले बजेट दिन अस्वीकार हुन सकेको छैन । आफ्नो मागअनुसार कंग्रेसले बजेट नदिएपछि ट्रम्पले राष्ट्रिय संकट घोषणा गरिसकेका छन् ।


गतसाता अमेरिकी रक्षा मन्त्रालयले सीमा पर्खालका लागि १ अर्ब डलर रकम छुट्ट्याएको जनाइसकेको छ । यद्यपि, उक्त रकम पर्खाल निर्माणका लागि निकै कम हो । ट्रम्पले बिहीबार मिचिगनमा आयोजित र्‍यालीमा भने, ‘सीमा बन्द गर ।’ तर मेक्सिकोका राष्ट्रपति ओब्राडोरले शुक्रबार पत्रकारसँग भनेका छन्, ‘आप्रवासीको लस्कर र यससँग सम्बन्धित विषय राजनीति र अमेरिकी चुनावी अभियानसँग सम्बन्धित छन् । त्यस कारणमा म यसमा फस्दिनँ ।’

प्रकाशित : चैत्र १७, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?