कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘एनआरसीले गोर्खालाई असर गर्दैन’

पर्वत पोर्तेल

कावाखाली, सिलिगुढी — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकतासम्बन्धी कानुन ‘नेसनल रजिस्टर अफ सिटिजन’ (एनआरसी) ले गोर्खार् समुदायमा असर नपर्ने दाबी गरेका छन्  । सिलिगुढीनजिकैको कावाखालीमा बुधबार आयोजित चुनावीसभामा उनले भने, ‘एनआरसीका कारण गोर्खा समुदायले कुनै क्षति व्यहोर्नुपर्ने छैन  ।

‘एनआरसीले गोर्खालाई असर गर्दैन’

उत्तर बंगालको आलिपुरद्वारमा गत शुक्रबार आयोजित चुनावीसभामा भारतीय जनता पार्टीका अध्यक्ष अमित साहले पश्चिम बंगालमा पनि चाँडै एनआरसी लागू गरिने जानकारी दिएका थिए । यो कानुन अघिल्लो वर्ष असममा लागू गरिएको थियो । खासगरी गैरभारतीयको घुसपैठ रोक्न सरकारले एनआरसी लागू गर्दै आएको छ । असममा बंगलादेशीको अवैध घुसपैठ भएको निष्कर्ष निकाल्दै एनआरसी लागू गरिएको थियो । पश्चिम बंगालमा पनि बंगलादेशीको अवैधानिक बसोबास रहेको भन्दै एनआरसी लागू गर्न लागिएको हो ।


भाजपा अध्यक्षको उद्घोषलगत्तै दार्जिलिङका नेपालीभाषी (गोर्खा) सशंकित बनेका थिए । मोदीले भने, ‘एनआरसी गोर्खा समुदायलाई लक्षित होइन, बंगलादेशी घुसपैठविरुद्ध हो ।’ पूर्वोत्तरको अरुणाचलको चुनावीसभा सम्बोधन गरेर बंगाल आइपुगेका मोदीले दार्जिलिङका ११ जातिलाई जनजातिको मान्यता प्रदान गर्न पार्टी अग्रसर बनेको बताए । उनले गोर्खाको यो माग चाँडै सम्बोधन गरिने जिकिर गरे । ‘दार्जिलिङ र जलपाइगुडीका समस्या मलाई सबै थाहा छ तर दिदी (ममता बेनर्जी) ले काम गर्नै दिएकी छैनन्,’ उनले भने ।


अघिल्लो निर्वाचनताका गोर्खाल्यान्ड आन्दोलन चर्किरहेको थियो । दार्जिलिङका नेपालीभाषीको समर्थन बटुल्न उनले ‘गोर्खाको सपना मेरो पनि सपना’ भन्दै गोर्खाल्यान्डप्रति सहानुभूति व्यक्त गरेका थिए । यस पटक भने उनले गोखाल्यान्डको नामै लिन चाहेनन् । उनले दार्जिलिङ र जलपाइगुडीका चिया श्रमिकको हकअधिकारका लागि आफू प्रतिबद्ध रहेको जिकिर गरे । ‘गोर्खा, चिया श्रमिकहरूको पक्षमा काम गर्न खोज्यो भने दिदीले बाटो छेकिहाल्छिन्,’ उनले बंगालकी मुख्यमन्त्री बनर्जीप्र्रति व्यंग्य गर्दै भने, ‘दिदी पश्चिम बंगालको विकासकी स्पिड ब्रेकर हुन् ।’ दार्जिलिङमा आउँदो १८ अप्रिलमा चुनाव हुँदै छ । दार्जिलिङका उम्मेदवार राजु विष्टको पक्षमा मोदीले मत पनि मागे । राजुलाई आफूले दुई दशकदेखि चिन्दै आएको उनले बताए । राजु मणिपुरी नेपालीभाषी हुन् । उनी दुई दशकदेखि भाजपाको मातृ संगठन आरएसएसमा आबद्ध थिए । पेसाले उनी व्यवसायी हुन् ।

प्रकाशित : चैत्र २१, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?