१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लन्डनमा नेपाली पाठशाला

नवीन पोखरेल

लन्डन — घरमा आमाबाबु नेपालीमै कुराकानी गर्थे । तर, बेलायतमै जन्मे हुर्केको छोरा अंग्रेजीमात्र बोल्ने । बाबु आमाले नेपालीमा केही सोधे थोरै अंश बुझेर जवाफ फर्काउने तर अंग्रेजीमा । यसको मतलव नेपाली अलि अलि बुझेपनि लेखाइ पटक्कै थिएन । 

सटनस्थित रवीन हुड प्राइमरी स्कुलमा इयर वानमा अध्ययनरत ६ वर्षीय साकार गुरुङ अचेल क, ख देखि ज्ञ सम्म राम्ररी लेख्न र पढ्न सक्छन् । सेप्टेम्बरयताआफ्नो नाम लेख्ने, पढ्ने र अरुको पनि लेख्न सक्ने अवस्थामा पुगेका छन् साकार । ‘अचेल उसलाई नेपाली बोल्न, लेख्न रुची बढेको छ’, साकारका बाबुले एक सांझ भने, ‘बेलायतमै जन्मिएपछि अंग्रेजी त सिकाउनै परेन । त्यसकारण हाम्रो जोड नेपाली सिकाउनतिर छ । नेपाली भाषा नै नरहे हाम्रो पहिचान पनि गुम्ने चिन्ता यहाँ बढेको छ ।’ रिजरोड सटनमा अवस्थित ‘प्रारम्भ पाठशाला’ साकार जस्ता बेलायतमै जन्मिएर हुर्कंदै गरेका बालबालिकालाई नेपाली भाषा, संस्कृति सिकाउन अग्रसर छ यतिखेर ।


‘अर्ली इयर्स एजुकेशन सोसाइटी यूके’ (आइज यूके) अन्तर्गतको प्रारम्भ पाठशाला सुरुमा दस जना जति बालबालिका राखेर दुई वर्षअघि सुरु भएको थियो । अहिले उक्त पाठशालामा ४ देखि १२ वर्षका २८ नेपाली बालबालिका छन् । धेरै विद्यार्थीको चाहना भए पनि जनशक्ति अभावले लिन नसकिएको पाठशालाको गुनासो छ ।


प्रत्येक आइतबार बिहान ११ देखि साढे १२ बजेसम्म नेपाली विषयको पढाइ हुन्छ । त्यहां सिकाउने विधि अचम्मको छ । बालबालिकाले क, ख, ग, घ घोकेर होइन । बरु नाचेर, हाउभाउबाट नेपाली भाषाको मात्रा सिक्छन् । ‘बन्सी’ नामक सफ्टवेयरबाट अडियो, भिडियो सिकाइन्छ । विद्यार्थीले नै पाठ्यक्रम तयार गर्छन् ।


‘सुनाइ, बोलाइ, पढाइ र लेखाइ चारवटैमा परीक्षा लिने गरिन्छ,’ पाठशालाका प्रमुख शिक्षक एवं आइज यूके अध्यक्ष पूर्णकुमार श्रेष्ठ भन्छन्, ‘ती बालबालिका नेपालीमा लेख्छन्, कविता पढ्न लेख्न सक्छन् । भाषा सिक्नबाहेक राष्ट्रिय गान, देउसी भैलो, दसैंतिहारजस्ता चाडपर्व, सरस्वती पूजा सामूहिक रूपमा मनाउँछौं हामी ।


नेपालको विकास समस्या, विदेशबाट मातृभूमिलाई कसरी सहयोग गर्न सकिन्छ ? हाम्रो गौरवशाली इतिहास के छ ? स्थानीय समुदायमा कसरी समाहित हुन सक्छौं ? जस्ता कुरा पनि सिकाइन्छ ।’ प्रारम्भ पाठशालामा ६ सहायक शिक्षकसमेत छन् । ५ कक्षासम्म पढाएर विद्यार्थीलाई पूर्ण बनाउने सोच रहेको श्रेष्ठ बताउँछन् । अहिले कक्षा एकदेखि तीनसम्म पढाइन्छ र आठदेखि १६ हप्ताको कोर्स छ ।


विगत तीन दशकदेखि शिक्षण पेसामा आवद्ध श्रेष्ठ नेपाल छँदा नेपाल इंग्लिस ल्यांग्वेज टिचर्स एसोसिएसन (नेल्टा) का सचिव थिए । प्राइमरी शिक्षक, हेड टिचर, शिक्षकलाई तालिम दिलाउँदै विगत ११ वर्षदेखि बेलायतमा रहेर पनि उनी शिक्षणमै रमाएका छन् । भोलुन्टरी सर्भिस ओभरसिस (भीएसओ) इन्टरनेसनलको सल्लाहकार हैसियतमा बेलायत आएका हुन् उनी ।


आइज यूकेले बालबालिकालाई नेपाली भाषा, संस्कृति र स्वास्थ्यमा पनि जोड दिएको छ । प्रत्येक विकेन्ड विद्यार्थी र अभिभावक गरी करिब २० जना पार्क रनमा सहभागी भइरहेका छन् । लन्डन बरो अफ सटन काउन्सिलले पनि नेपाली समुदायलाई विशेष महत्त्वका साथ हेरेको छ ।


काउन्सिलले पहिलो पटक आगामी १४ अप्रिलमा नेपाली नयाँ वर्ष कार्यक्रम मनाउने तयारी गरेको छ । उक्त अवसरमा नेपाली समुदायका ९० जनालाई निमन्त्रणा दिइएको स्थानीय समाजका अभियन्ता सूर्य गुरुङले जनाए ।


कन्जरभेटिभका तर्फबाट काउन्सिलर परम नन्धाले गत २८ जनवरीमा काउन्सिल बैठकसमक्ष प्रमुख धर्महरूका मुख्य चाडपर्व मनाइनुपर्ने प्रस्ताव राखेपछि काउन्सिलले यसलाई पारित गरेको थियो । ‘चाडपर्वले नै समुदायलाई एकै ठाउँमा ल्याउने गर्छ,’ काउन्सिल लिडर काउन्सिलर रुथ डोम्बेले भनिन् ।

प्रकाशित : चैत्र २६, २०७५ ०९:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?