२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

'अम्रेला मुभमेन्ट' : ९ अभियन्ता दोषी ठहर 

बीबीसी

हङकङ — हङकङमा लोकतन्त्र र समाज सुधारका लागि स्वतन्त्र चुनावको माग गर्दै आन्दोलनमा विरोध प्रदर्शनमा उत्रेका ९ अभियन्तालाई जनजीवनमा व्यवधान पुर्‍याएकोमा दोषी ठहर गरिएको छ ।उनीहरुले हङकङमा सन् २०१४ मा भएको 'अम्रेला मुभमेन्ट' को अगुवाइ गरेका थिए ।

हङकङले आफ्नो नेता आफैं चुन्न पाउनुपर्ने आन्दोलनको मुख्य माग थियो । आन्दोलनका क्रममा हजारौं मानिस प्रदर्शनमा उत्रेपछि करिब ३ महिना हङकङको दैनिक जनजीवन ठप्प भएको थियो ।


उनीहरुलाई ७ वर्षसम्मको जेल सजाय हुने बताइएको छ । 'अम्रेला मुभमेन्ट' का अभियन्ताविरुद्धको मुद्दालाई चीनमा न्यायिक स्वतन्त्रताको परीक्षणका रूपमा लिइएको थियो । गत नोभेम्बरको सुनुवाइका क्रममा उनीहरुले आफूहरु निर्दोष रहेको दाबी गरेका थिए ।


दोषी ठहर गरिएकाहरुमा ६० वर्षीय समाजशास्त्रका प्राध्यापक चान किन-मन, ५४ वषर्ीय कानुनका प्राध्यापक बेनी ताई र ७५ वषर्ीय इसाई नेता चु यिउ-मिङ छन् । उनीहरुलाई उक्त आन्दोलनको संस्थापकका रूपमा हेरिने गरिएको छ ।


'आज जे भयो केही मतलब छैन । हामी आफ्नो मागमा प्रतिबद्ध छौं र निरन्तर लागिरहने छौं,' ताईले पत्रकारहरुसँग भने । उनीहरुलाई सजाय कहिले सुनाइन्छ भन्नेबार केही उल्लेख गरिएको छैन ।


मुद्दाको फैसलाका समय उनीहरुलाई समर्थन जनाउन ठूलो संख्यामा मानिस उपस्थित भएका थिए । फैसला सुनाउँदै न्यायाधीश जोनी चानले 'अम्रेला आन्दोलनका कारण सयौं मानिस घाइते भएका तथा सडक अवरुद्ध पारिएकाले' उनीहरुलाई दोषी ठहर गरिएको जनाए । सुनुवाइका क्रममा चानले 'आन्दोलनले समाजमा महत्त्वपूर्ण तथा सकारात्मक प्रभाव पारेको' भन्ने दाबी ठाडै अस्वीकार गरेका थिए ।


हयुमन राइट्स वाचलगायतका मानवअधिकारवादी संस्थाले अदालतले 'डरलाग्दो सन्देश दिएको' जनाएका छन् । यसअघि मानव अधिकारवादी संगठन एम्नेस्टी इन्टरनेसनले उनीहरुविरुद्धको मुद्दाको सुनुवाइ 'राजनीति प्रेरित भएको' जनाएको थियो । एम्नेस्टीका अनुसार सरकारी कदम वाक् स्वतन्त्रता र शान्तिपूर्वक भेला हुन पाउने अधिकारविरुद्धको हो ।


सन् २०१७ मा हङकङमा गरिने निर्वाचनमा चीनले स्वीकृति दिने नेताहरु मात्र प्रतिस्पर्धा गर्न पाउने घोषणा गरेपछि आन्दोलन गरिएको थियो । चीनको निर्णयको विरोधमा तीन अभियन्ताले शान्तिपूर्ण अवज्ञा आन्दोलनको आहृवान गर्दै विद्यार्थीहरुको आन्दोलनमा सहभागी भएका थिए ।


सुरक्षाकर्मीले प्रहार गरेको अश्रुग्यास तथा पानी छेक्न आन्दोलनकारीले छाता बोकेपछि आन्दोलन 'अम्रेला मुभमेन्ट' -छाता आन्दोलन) का नामले चर्चित भएको हो । यसअघि हङकङको एक अदालतले गैरकानुनी रूपमा सभा सम्मेलन गरेको आरोपमा ३ विद्यार्थीलाई दोषी ठहर गरेको थियो ।

प्रकाशित : चैत्र २६, २०७५ १९:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?