सुडानमा संकट : कर्फ्युको अवज्ञा, सेना अस्वीकार
खार्तुम, सुडान — सुडानमा गहिरिँदै गएको छ राजनीतिक संकट । सेनाले बिहीबार मात्रै राष्ट्रपति ओमार अल–बसिरलाई सत्ताच्यूत गर्यो । उसले शासनको बागडोर आफ्नो हातमा लियो । महिनौंदेखि जारी प्रदर्शनले अस्तव्यस्ता बढ्दै गएको थियो ।
प्रदर्शनकारीले ओमारको राजीनामा माग्दै उग्र प्रदर्शन थाले । चार महिनायता ४९ जनाको ज्यान लिने गरी भएका प्रदर्शनपछि सुडानी सेनाले शासनसत्ता आफ्नो नियन्त्रणमा लिएको हो । तर, त्यसको विपक्षमा फेरि प्रदर्शन थालिएका छन् । स्थिति नियन्त्रण गर्न राजधानी खार्तुममा रातिको समयमा निषेधज्ञा लागू गरिएको छ । तर त्यसको अवज्ञा गर्दै प्रदर्शनकारी सडकमा उत्रेका छन् । पुरानै सत्ताको पुनरागमन भएकाले सैनिक नेतृत्वलाई स्वीकार्न नसकिने उनीहरूको प्रतिक्रिया छ ।
तीन दशकयता ओमार नेतृत्वको सैनिक सरकारको बन्धकमा मुलुक रहेको भन्दै प्रदर्शनकारीले लोकतान्त्रिक सरकार गठन नहुँदासम्म प्रदर्शनमा सहभागी हुन सर्वसाधारणलाई अपिलसमेत गरेका छन् ।
गरिबीको चपेटामा परेको सुडानमा चरम भोकमरी र जनजीवन अस्तव्यस्त छ । खार्तुमका शुक्रबार उग्र प्रदर्शन भए । पसल र कार्यालय बन्द रहे । सुडानकै अर्को ठूलो सहर ओम्डुरमानमा समेत प्रदर्शन भएका छन् ।
यसैबीच, अमेरिकाले सैनिक परिषद्लाई धैर्य अपनाउन र नयाँ सरकार गठन हुँदा नागरिकको सहभागिता सुनिश्चित गर्न आग्रह गरेको छ । त्यस्तै, युरोपेली संघले पनि सैनिक नेतृत्वसमक्ष शासनसत्ता जतिसक्दो चाँडो नागरिकलाई हस्तान्तरण गर्न आहृवान गरेको छ । सुडानका अन्तिम निर्वाचित प्रधानमन्त्री सदिक अल–माहदीले प्रदर्शनकारीलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।
सन् १९८९ मा बसिरले सैनिक बलबाट उनलाई सत्ताच्यूत गरेका थिए । निर्वासनबाट खार्तुम फर्किएपछि उनले आफ्नो उम्मा पार्टीसँग अन्य साना दल र समूह मिलाएर गठबन्धन तयार गरेका थिए । सुडानका चिकित्सक, शिक्षक र इन्जिनियरका पेसागत संगठनहरू शुक्रबारको प्रदर्शनमा सहभागी भए ।
प्रकाशित : चैत्र ३०, २०७५ ०८:३५