दादुराका बिरामी ३०० प्रतिशतले बढे

एएफपी

जेनेभा — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले अघिल्लो वर्षको तुलनामा सन् २०१९ को तीन महिनामा विश्वभर दादुराका बिरामीको संख्या ३०० प्रतिशतले वृद्धि भएको जनाएको छ । दुई वटा खोप लगाउँदा दादुरा पूर्णरुपमा नियन्त्रण गर्न सकिन्छ ।

तर खोपको दरमा कमी भएपछि यसका बिरामीको संख्या एकाएक वृद्धि भएको डब्लूएचओको भनाइ छ ।‘विश्वभरबाट संकलित प्रारम्भिक तथ्यांक विश्लेषण गर्दा सन् २०१९ को पहिलो तीन महिनामा दादुराका बिरामी ३०० प्रतिशतले बढेको पाइयो,’ डब्लूएचओले भनेको छ, ‘दुई वर्षदेखि नै दादुराका बिरामीको संख्या बढ्दै गएको पाइएको थियो र त्यसैको निरन्तरता अहिले पनि देखिएको छ ।’

डब्लूएचओले यो तथ्यांकले दादुराको बढ्दो प्रवृत्तिलाई संकेत गरेको जनाएको छ । धेरै देशमा दादुराका बिरामी ठूलो संख्यामा देखिएका छन् । विश्वका सबैजसो क्षेत्रमा दादुराका बिरामी पाइएको छ ।यस वर्ष विश्वका १ सय ७० देशबाट संकलित तथ्यांकमा एक लाख १२ हजार १ सय ६३ जनामा दादुरा पाइएको छ । गत वर्ष १ सय ६३ देशको तथ्यांकमा २८ हजार १ सय २४ जनामा दादुरा देखिएको थियो ।

हावाबाट संक्रमण हुने दादुराबाट ज्वरो आउने, खोकी लाग्ने र शरीरमा राता फोका उठ्ने गर्दछ । कतिपय अवस्थामा समयमै उपचार नभए घातक हुने गर्दछ । धेरै विकसित देशमा दादुरा रोग उन्मूलन भइसकेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार दादुरा विरुद्धको पहिलो खोप ८५ प्रतिशतले कमी भएको छ भने करिब ६७ प्रतिशतले मात्र दोस्रो खोप लिने गरेका छन् ।

प्रकाशित : वैशाख ३, २०७६ २०:१५
प्रतिक्रिया
पठाउनुहोस्

प्रधानमन्त्री भन्छन्, ‘जागिर पाइन भन्दै भौंतारिनु पर्दैन’

मधु शाही

बाँके — प्रधानमन्त्री केपी ओलीले अब जागिर पाइन भनेर भौँतारिनु नपर्ने बताएका छन् । उनले युवाहरू आफैले नविन सिर्जना गरेर आत्मनिर्भर बन्नु पर्ने सुनाए । नेपालगन्जमा मङ्गलबार नेपालकै पहिलो ५ तारे हरित सोल्टी होटेल उद्घाटन गर्ने क्रममा उनले यसो भनेका हुन् ।

भेरी बबई डाइभर्सन ब्रेक थ्रु कार्यक्रममा सहभागी भएपछि उनी नेपालगन्ज फर्किए। ‘जागिर पाइन भनेर भौँतारिनु पर्दैन’, उनले भने, ‘आफै नविन काम थालेर आत्मनिर्भर बन्न सकिन्छ।’

उनले खानपान, योग र आराम यी तीन पक्ष अपनाउँदा स्वास्थ्य बन्न सकिने सुझाव समेत दिए। होटेल स्वास्थ्य र वातावरणीय अनुकूल हुनुपर्ने विषयमा बोल्दै प्रधानमन्त्रीले स्थानीय कृषकसँग सहकार्य गरेर स्वास्थ्य खाद्य उत्पादनमा होटेल व्यवसायीले जोड दिनुपर्ने बताए। ‘अर्गानिक खाना खुवाउन कृषकसँगै सहकार्य गर्नुपर्छ’, उनले भने, ‘विषमुक्त खाद्य उत्पादनमा जोड दिन जरुरी छ।’

‘नेपाल जस्तो प्रकृति भएको थोरै देश छन्। जहाँ, हिमाल, ताल, भिर, तराई, पहाड सबै छन्। सुन चालेर जीविकोपार्जन गर्ने नागरिक यही छन्। ’ प्रधानमन्त्री ओलीले भने,‘हरेक चिज हुँदा हुँदै पनि हामी किन गरिब छौँ? विकास सरकार र निजी क्षेत्र दुवै पक्षबाट हुनु पर्छ।’

उनले सुखी नेपाली समृद्धि नेपालको परिकल्पना पुरा हुन सबैको उत्तिकै दायित्व हुने बताए। प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले नेपालगन्जमा मानसरोवर र औद्योगिक क्षेत्रको प्रशस्त सम्भावना रहेको सुनाए। साथै औद्योगिक क्षेत्र बढाउन, मानसरोवर पार्क बनाउन र आधुनिक कृषिमा टेवा पुर्‍याउने खालका प्रदेश सरकारले विशेष योजना ल्याउने सुनाए।

प्रकाशित : वैशाख ३, २०७६ २०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्