दार्जिलिङमा चुनाव आज : मोदी–ममताबीच 'प्रतिष्ठाको लडाइँ’

पर्वत पोर्तेल

सिलिगुडी (भारत) — भारतमा जारी १७ औं लोकसभा निर्वाचनको दोस्रो चरणअर्न्तगत दार्जिलिङसहित पश्चिम बंगालका तीन जिल्लामा बिहीबार निर्वाचन हुँदै छ । बंगालको दार्जिलिङ, जलपाइगुडी र रायगन्ज जिल्लामा निर्वाचन हुन लागेको हो पहिलो चरणमा बंगालको आलिपुरद्वार र कोचविहार जिल्लामा निर्वाचन भएको थियो । 

दार्जिलिङमा चुनाव आज : मोदी–ममताबीच 'प्रतिष्ठाको लडाइँ’

लोकसभा निर्वाचनमा बर्सेनि दार्जिलिङ चर्चाको केन्द्रमा रहन्छ । पश्चिम बंगालको नेपालीभाषी बहुल क्षेत्र दार्जिलिङमा १० लाख बढी नेपालीभाषीको बसोबास छ । विगतमाझैं यस पटक पनि केन्द्रीय सत्ताधारी दल भारतीय जनता पार्टी र राज्यको सत्तारूढ दल तृणमूल कंग्रेसबीच भिडन्त हुँदै छ । दार्जिलिङ नरेन्द्र मोदी र ममता बेनर्जीबीचको प्रतिष्ठासँग जोडिएको जिल्ला पनि हो ।


दार्जिर्लिडको चुनावी मैदानमा मार्क्सवादी कम्युनिस्ट पार्टी, जनआन्दोलन पार्टी, राष्ट्रिय कंग्रेसजस्ता दल सानाठूला दलका १९ उम्मेदवार छन् । यसपटक सबैले गोर्खा समुदायकै उम्मेदवारलाई उठाएका छन् । छुट्टै राज्य गोर्खाल्यान्ड आन्दोलनको अगुवा दल गोर्खा जनमुक्ति मोर्चा विभाजित छ । मोर्चामा विमल गुरुड र विनय तामाडका भिन्न गुटले भिन्न दललाई सघाएका छन् । गुरुड खेमाले भाजपाका उम्मेदवार राजु विष्टलाई सघाएको छ ।


यस फटक गुरुड एक्ला छैनन् । सुवास घिसिडको दल गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, त्रान्तिकारी मार्क्सवादी कम्युनिस्ट पार्टीलगायतका दलको साथ छैन । तामाड खेमाले भने ममता बेनर्जी नेतृत्वको तृणमूल कंग्रेसका उम्मेदवार अमरसिंह राईलाई उम्मेदवार बनाएको छ । दार्जिलिङमा क्षेत्रीय दलहरू खास प्रभाव देखिँदैन ।


मार्क्सवादी कम्युनिस्ट पार्टीको पनि प्रभाव छैन । माकपाले नेपालीभाषी समन पाठकलाई उम्मेदवार बनाएको छ । ‘क्षेत्रीय दलहरूको पल्ला जता भारी हुन्छ, त्यही दलले जित्ने निश्चित छ,’ विश्लेषक विमल राई भन्छन्, ‘यस पटक मत विभाजनको संकेत ज्यादा देखिन्छ ।’ विगतमा भाजपाका केन्द्रीय नेताहरू जशवन्त सिंह (२०१०) र एसएस आहलुवालिया (२०१४) दार्जिलिङबाट विजयी बनेका थिए । यसपटक मणिपुरी नेपालीभाषी राजु विष्टलाई भाजपाले उम्मेदवार बनाएको छ । दार्जिलिङमा हालै आयोजित एक चुनावी सभामा विष्टले आफूले जित्ने दाबी गरे ।


एक साताअघि कालिम्पोडमा आयोजित चुनावीसभामा भाजपा अध्यक्ष अमित साहले मोदी सरकार आउनेबित्तिकै भारतभरि रहेका करिब डेढ करोड गोर्खालाई जनतातिको मान्यता दिइने दाबी गरेका थिए । दार्जिलिङमा दशकौंदेखि अलग प्रान्त गोर्खाल्यान्डको माग बल्दै र निभ्दै आएको छ । तर, यस पटक गोर्खाल्यान्डप्रति सबै दलहरू मौन छन् ।


विगतमा गोर्खाल्यान्ड दलका घोषणापत्रहरूमै समावेश हुन्थ्यो । तर, यस पटक गोर्खाल्यान्डको बदला जनजातिको मुद्दा मात्रै दलहरूले उठाउँदै आएका छन् । ‘जनजाति मान्यता दिनुपर्ने माग सुवास घिसिडले दशकअघि गरेका थिए,’ एक विश्लेषकले भने, ‘अहिले आएर दलहरूले यही मागलाई चुनावी मुद्दा बनाइदिए ।’


उम्मेदवार विष्ट को हुन् ?

राजु भाजपाको छत्रछायामा हुर्किएका नेपालीभाषी हुन् । दुई दशकदेखि भाजपाको राष्ट्रिय स्वयंसेवक दल (आरएसएस) का लागि काम गर्दै आएका राजु मूलतः व्यवसायी हुन् । तर, उनको भाजपा र यो दलका नेताहरूसँग बलियो सम्बन्ध थियो । त्यही सम्बन्धका कारण उनलाई सिंगो दलले विश्वास गरेको देखिन्छ ।


भारतको चर्चित सूर्य रोशनी लिमिटेडका मालिक राजु आफ्नो व्यावसायिक आम्दानीबाट सामाजिक सेवामा समेत सक्रिय थिए । राजुले सूर्या फाउन्डेसनमार्फत सामाजिक गतिविधि गर्दै आएका छन् ।


पूर्वोत्तर भारतको मणिपुरस्थित काडपोखमा जन्मिएका राजुको अस्थायी बसोबास दिल्लीको पश्चिम पन्जाबस्थित बाघामा पनि छ । उम्मेदवार बनेपछि राजुले दार्जिलिङलाई आधुनिक सहरको रूपमा स्थापित गर्ने जनाए । केन्द्रीय विश्वविद्यालय निर्माणदेखि चिया श्रमिकका आवत समस्या उनको चुनावी मुद्दा हो । भने, ‘गोर्खाहरूको शिर निहुरिन दिने छैन ।’


सीमा बन्दले सास्ती

भारतमा जारी लोकसभा निर्वाचनका कारण नेपाल–भारत सीमा नाका बन्द हुँदा यात्रु तथा पर्यटकलाई सीमा वारपार गर्न सास्ती भएको छ । बिहीबार पश्चिम बंगालको दार्जिलिङ, जलपाइगुडी र रायगन्ज जिल्लामा निर्वाचन हुँदै छ । निर्वाचनका कारण भारतीय सुरक्षा संयन्त्रले मंगलबार बेलुकाबाटै नाका बन्द गराएको थियो । जसका कारण सयौं यात्रु अलपत्र थिए । तर, बुधबार दिउँसोदेखि नेपाल तथा भारतीय सुरक्षाकर्मीबीचको सहकार्यमा यात्रुलाई वारपार गराइएको थियो ।


भारततिर जाने यात्रुलाई भारतीय मतदाता परिचय पत्रका आधारमा प्रवेश गर्न सीमा सुरक्षा बल सहमत भएको थियो । भारतबाट आउने यात्रुको हकमा भने कुनै कागजात जरुरी नभएको सुरक्षा अधिकारीले जनाए । भारतीय सीमा सुरक्षा बल (एसएसबी) का महानिरीक्षक श्रीकुमार बन्दोपाध्यायले खुला सिमानाका कारण निर्वाचनमा हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रणका लागि नाका बन्द गरिएको जनाए । निर्वाचनका दिन बिहानैदेखि यात्रुसहित सवारी आवागमनलाई पूर्णरूपमा निषेध गरिने जनाइएको छ । निर्वाचन सम्पन्न भएपछि शुक्रबार बिहानदेखि नाका खुला गरिनेछ ।


उनका अनुसार निर्वाचनका सुरक्षाका लागि निर्वाचन हुने तीन जिल्लामा विशेष सुरक्षा योजना लागू गरिएको छ । तीन जिल्लामा करिब विभिन्न ९ कम्पनी सुरक्षाकर्मी परिचालन गरिनेछ । उनले नेपाल–भारत सीमा सुरक्षित रहेको तर भुटान र बंगलादेशसँगका सीमा क्षेत्रहरू असुरक्षित रहेकाले ती क्षेत्रहरूमा निगरानी बढाइएको जनाए । नाका बन्दका कारण मेची भन्सार र भद्रपुर छोरी भन्सार कार्यालयको आयात निर्यात पनि ठप्प छ । भारत तथा नेपाली बजारहरू पनि प्रायः सुनसान छन् ।

प्रकाशित : वैशाख ५, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?