अमेठी सहज छैन राहुललाई

पछिल्लो समय बेरोजगारी, कमजोर पूर्वाधार र भाजपाको बलियो हुँदै गएको सांगठनिक सञ्जालका कारण अमेठी निर्वाचन कंग्रेसका लागि चुनौतीपूर्ण बन्दै गएको छ 
सुरेशराज न्यौपाने

अमेठी, भारत — उत्तर प्रदेशको अमेठी लोकसभा क्षेत्र भारतीय प्रतिष्ठित राजनीतिक घराना गान्धी परिवारको विरासत । सन् १९६७ मा लोकसभा क्षेत्र बने यता भारतीय राष्ट्रिय कंग्रेसले एकाधबाहेक यस क्षेत्रबाट नेहरू–गान्धी परिवारका सदस्यलाई नै उठाउँदै आएको छ ।

अमेठी सहज छैन राहुललाई

यस क्षेत्रमा सन् १९७७ र १९९८ बाहेक कंग्रेस पराजित भएको छैन । अमेठी ५४३ लोकसभा सिटमध्ये कंग्रेसका लागि सबैभन्दा सुरक्षित मानिन्छ । प्रत्येक चुनावमा कंग्रेसको जित–हारभन्दा पनि जितमा मतान्तर कति भन्ने विषयमाथि मात्र चर्चा हुने गरेको थियो ।

पछिल्लो समय बेरोजगारी, कमजोर पूर्वाधार र भाजपाको बलियो हुँदै गएको सांगठनिक सञ्जालका कारण अमेठी निर्वाचन कंग्रेसका लागि चुनौतीपूर्ण बन्दै गएको छ । पछिल्ला केही निर्वाचनमा उसको घटदो मतले पनि यस्तो संकेत गर्छ । सन् २०१४ को चुनावमा राहुलले ४ लाख ८ हजार ६५१ भोट ल्याएका थिए भने उनकी निकटतम प्रतिद्वन्द्वी भाजपाकी स्मृति इरानीले ३ लाख ७ हजार ४८ मत प्राप्त गरेकी थिइन् ।


त्यसअघि सन् २००९ को चुनावमा राहुलको मतान्तर ३ लाख ७० हजारभन्दा बढी थियो । सन् २००४ मा पनि उनले करिब ३ लाखको अन्तरले बहुजन समाजवादी पार्टी (बसपा) का उम्मेदवार चन्द्रप्रकाश मिश्र मटियारीलाई हराएका थिए । कंग्रेस र विपक्षीबीचको यसरी घटदो मत अन्तरले पनि गान्धी परिवारका लागि अमेठीको विरासत डगमगाउन थालेको प्रस्ट हुन्छ ।


उत्तर प्रदेश (यूपी) को ३७ औं लोकसभा सिट अमेठीमा सन् २०१७ को मतदातासूचीअनुसार १७ लाख ११ हजार ३ सय ९३ मतदाता छन् । जातीय हिसाबले हेर्ने हो भने अमेठीमा पिछडा वर्ग, दलित र मुस्लिमको बाहुल्य छ । ब्राहृमणलगायतका उच्च जातिको पनि राम्रो उपस्थिति छ । जसमा पछिल्लो समय भाजपाले बलियो पकड बनाएको छ ।


कुल जनसंख्यामा दलितलगायतका अनुसूचित जाति र जनजातिको संख्या करिब ३० प्रतिशत छ । यो क्षेत्रमा मतदान पनि निकै कम हुँदै आएको छ । २०१४ मा ५२.३९ प्रतिशत मात्र मत खसेको थियो । निर्वाचन आयोगले अमेठीमा पाँचौं चरणअन्तर्गत ६ मेमा निर्वाचन मिति तोकेको छ ।


सन् २०१४ मा झैं यस पटक पनि कंग्रेस अध्यक्ष राहुल गान्धी र भाजपाकी स्मृति इरानी नै प्रमुख प्रतिस्पर्धीका रूपमा छन् । यस पटकको चुनावमा प्रधानमन्क्री नरेन्द्र मोदीविरुद्ध आत्रामक रहँदै आएका गान्धीका लागि अमेठी सिट सुरक्षित गर्ने मात्र नभएर मतान्तर बढाउनुपर्ने दबाब छ भने इरानीका सामु अघिल्लो पटकको हार बदला लिने राम्रो अवसर छ ।


अमेठी पुग्दा स्थानीयहरूमा कमजोर पूर्वाधार, सार्वजनिक शिक्षा र स्वास्थ्यलाई लिएर गान्धी र कंग्रेसप्रति क्रमशः असन्तुष्टि बढदो देखिन्छ । यिनै विषयमा जिज्ञासा राख्दा औषधि पसलका सञ्चालक अभिषेक मिश्र एकाएक राहुलप्रति आक्रामक देखिए । उनले छोटो सम्वादमै अमेठीको पूर्वाधारप्रति राहुलले बेवास्ता गरेको आरोप लगाए । ‘अमेठीले उनलाई ३ पटक जिताएर पठाइसक्यो तर अहिलेसम्म पनि यहाँको अवस्था कुनै पिछडिएको देहातभन्दा फरक छैन,’ मिश्रले भने ।


गान्धी परिवारसँग नाता जोडेर कहिलेसम्म बस्ने भन्ने उनको प्रश्न थियो । ‘न त रोजगारी छ, न कुनै राम्रो पूर्वाधार छ, न त सार्वजनिक स्कुलको अवस्था राम्रो छ । गान्धी परिवारको विरासत भन्दै कहिलेसम्म कुर्ने ?’ आक्रोशित मुद्रामा मिश्रले भने । हुन त सडक र ढल निकासको अवस्था अमेठी रेल्वे स्टेसनबाट बाहिर निस्कनासाथ देखिने भत्केको सडक र खुला ढलबाटै प्रस्ट हुन्छ ।


निजी र गुठीबाट केही राम्रा स्कुल र कलेज सञ्चालनमा रहे पनि सार्वजनिक शिक्षाको अवस्था पनि दयनीय देखिन्छ । अमेठी बजारमै रहेको एउटा प्राथमिक स्कुलमा पुग्दा अमेठीको सार्वजनिक शिक्षाको दयनीय अवस्था प्रस्ट भयो । पुरानो र जीर्ण भवनको उक्त स्कुलमा हाल ८५ विद्यार्थी छन् ।


तीमध्ये अधिकांश आर्थिक रूपमा विपन्न र तल्लो जातिको रहेको शिक्षिका प्रीति त्रिपाठीले सुनाइन् । कमजोर पूर्वाधारका कारण अमेठीको बजारमै भएर पनि उक्त स्कुल मध्यम र उच्च वर्गको प्राथमिकतामा नपरेको सहजै अनुमान लगाउन सकिन्छ । पूर्वाधारहरूको अवस्था हेर्दा गान्धी परिवारले अमेठीलाई जुन प्राथमिकता दिनुपर्थ्यो त्यो नदिएको अधिकारकर्मी तथा राजनीतिक विश्लेषक हसनको टिप्पणी छ । ‘अमेठी जसरी राष्ट्रिय राजनीतिको केन्द्र छ, त्यसअनुसार त्यहाँको विकास भएको पाइनँ,’ उनले भनिन् ।


भाजपाले यस पटक कमजोर पूर्वाधारलगायत मुद्दाले राहुललाई घेर्ने रणनीति बनाएको देखिन्छ । अमेठी विधानसभा विधायक प्रतिनिधि तथा भाजपाका नेता अनन्तविक्रम सिंह अघिल्लो पुस्तामा गान्धी परिवारको प्रभाव रहे पनि अहिलेको नयाँ पुस्ताले इतिहासभन्दा पनि अहिलेको वास्तविकतामा राहुललाई प्रश्न गरिरहेको धारणा राख्छन् । ‘युवाहरूले कंग्रेसले अमेठीमा के गर्‍यो र भाजपाले अन्य क्षेत्रमा के गर्‍यो भन्ने देखिसकेका छन् । सधैं इतिहास भजाएर चल्दैन,’ सिंहले भने । राहुलले बिनाएजेन्डा एक पक्षीय ढंगले मोदीको विरोध गरिरहेको सिंहको टिप्पणी छ । ‘भाजपाको मूल एजेन्डा भनेको अमेठीको विकास हो । विगतमा भाजपाले नजिते पनि केन्द्रबाटै यस क्षेत्रको विकासका लागि धेरै काम गरेको छ, जब कि राहुलको योगदान भनेको पानीका धारामा आफ्नो नाम लेखाउने मात्रमा सीमित छ,’ सिंहले व्यंग्य मिश्रित भाषामा भने ।


अमेठी संसदीय क्षेत्रका कंग्रेस प्रमुख चन्द्रकान्त भने अमेठीको अहिले अवस्थामा कंग्रेस र नेहरू गान्धी परिवारको योगदान रहेको दाबी गर्छन् । अमेठी अरु ठाउँभन्दा पछाडि छ भन्नेहरूले पृष्ठभूमि बुझ्न उनी सुझाउँछन् । ‘१९७७ मा पहिलो पटक सञ्जय गान्धी चुनाव लडदा यो क्षेत्र विकास सूचकांकमा सबैभन्दा पछि थियो । अम्लीय माटोका कारण खेती हुँदैनथ्यो । सिँचाइ थिएन ।


सडकलगायतका पूर्वाधार शून्य बराबर थियो । रेल्वे सुविधा, शिक्षा, स्वास्थ्य केही थिएन । यहाँको माटो परीक्षण गरेर सुधारको योजना ल्यायो । त्यसैको परिणाम हो आज अमेठीमा राम्रो खेती हुन्छ,’ चन्द्रकान्तले भने । अहिलेसम्म जेजति कलकारखाना खुलेका छन्, ती सबै कंग्रेसकै कारण सम्भव भएको उनले जिकिर गरे ।


राहुलका लागि सबैभन्दा प्रतिकूल भनेको २०१७ मा विधानसभा चुनावमा भएको नमीठो पराजय हो । उक्त चुनावमा अमेठीका पाँचवटा विधानसभा क्षेत्र छन्, गौरीगन्ज, जगदीशपुर, अमेठी, तिलोई, सलोन । जसमध्ये २०१७ को चुनावमा गौरीगन्जमा मात्र समाजवादीले जितेको थियो भने बाँकी चारवटै सिटमा भाजपाले जित हात पारेको थियो ।


पछिल्लो समय कंग्रेस र अन्य पार्टीका पुराना नेताहरूको प्रवेशले पनि भाजपालाई थप बलियो अवस्थामा पुर्‍याएको छ । तिलोई विधानसभा क्षेत्रका पूर्वविधायक डा. मोहम्मद मुस्लिम कंग्रेस छाडेर हालै मात्र भाजपा प्रवेश गरेका छन् । त्यसैगरी पूर्व विधायक चन्द्रप्रकाश मिश्र पनि बसपा छाडेर भाजपा प्रवेश गरेका छन् । मिश्रको प्रवेशले भाजपाले अमेठीको ब्राहृमण मतको केही हिस्सा तान्न सक्ने अनुमान गरिएको छ । अन्य पार्टीबाट आएका ठूला नेताहरूका कारण भाजपाभित्र असन्तुष्टहरूको संख्या पनि बढदो छ ।

स्मृतिका सामु पनि पार्टीभित्रका असन्तुष्ट नेताहरूलाई थामथुम पार्नु सबैभन्दा ठूलो चुनौती बनेको छ । उनले पुराना नेता तथा कार्यकर्तालाई पाखा लगाएकोमा पार्टीपंक्तिमा असन्तुष्टि बढदै गएको बताइन्छ । त्यही भएर नै तिलोई विधानसभा क्षेत्र विधायक मयंकेश्वरशरण सिंह सबैभन्दा असन्तुष्ट रहेको पार्टी निकटहरू बताउँछन् । ‘उम्मेदवारका आकांक्षीलाई अन्य पार्टीबाट आएकाहरूका कारण ठूलो झटका खानुपर्छ । किनकि नवप्रवेशीलाई त्यसै पनि बढी भाउ दिने परम्परा छ । त्यसैले अन्य पार्टीका ठूला नेता आएभन्दा धेरै खुसी भइहाल्नुपर्ने छैन केही पकेट तान्लासँगै पार्टीपंक्तिमा असन्तुष्टि बढाउने जोखिम पनि छ,’ विश्लेषक हसनले भनिन् ।


अर्कोतर्फ स्थानीयहरूको असन्तुष्टि र भाजपाको आक्रामक प्रचारशैली तथा मोदी फ्याक्टरका कारण राहुललाई केही चुनौतीपूर्ण देखिए पनि उनीसँग जितका केही बलिया आधार भने अझै पनि छन् । त्यसमध्ये सबैभन्दा महत्त्वपूर्ण भनेको बसपा र सपाले यूपीमा बनाएको मुस्लिम–यादव–दलित (एमवाईडी) समीकरण हो । अमेठीमा एमवाईडी मतदाता ५० प्रतिशतभन्दा बढी रहेको बताइन्छ ।


मुस्लिम समुदाय त विगतदेखि नै कंग्रेस निकट रहँदै आएको छ । त्यसमाथि यसपटक बसपा र सपाले उम्मेदारी नदिएका कारण अमेठीको कुल मतदातामध्ये १९ प्रतिशतको संख्यामा रहेका मुस्लिम मतदाता स्वतः राहुलकै पक्षमा रहने छन् । त्यसैगरी दलित र यादवको भोटसमेत राहुललाई जाने कंग्रेसको दाबी छ ।


राहुलका लागि सबैभन्दा अनुकूल पक्ष भनेको स्थानीय समाजसेवी सञ्जय सिंहको साथ हो । सिहंको अमेठीमा विशेष प्रभाव छ । कंग्रेस र गान्धी परिवारले मतदाताको आकांक्षा र भावनाप्रति बेवास्ता गरिराख्ने हो भने पुरानो किल्ला भत्किन बेर नलाग्ने राजनीतिक विश्लेषक हसनले बताइन् ।

प्रकाशित : वैशाख ६, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?