१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

'प्रअको आदेशमा छात्राको हत्या’

एएफपी

ढाका, बंगलादेश — बंगलादेशमा गत हप्ता हत्या गरिएकी छात्रा नसरत जहाँ रफीलाई उनकै प्रधानाध्यापकले आगो लगाउन आदेश दिएको प्रहरीले शुक्रबार जनाएको छ ।

'प्रअको आदेशमा छात्राको हत्या’

१९ वर्षीया रफीमाथि यौनदुर्व्यवहार गरेको भन्दै प्रहरीमा मुद्दा दर्ता गरेपछि उनलाई मुद्दा फिर्ता गर्न भनिएको तर किशोरीले मुद्दा फिर्ता गर्न नमानेपछि आरोपित प्रधानाध्यापकले मट्टितेलमा छर्केर आगो लगाउन आदेश दिएको खुल्न आएको प्रहरीले बताएको छ । बंगलादेशभर नसरतको हत्याविरुद्ध आन्दोलन भएपछि प्रधानमन्त्रीले घटनामा संलग्न जोकोहीलाई कानुनी कठघरामा उभ्याइने बताएकी छन् ।


‘रफीलाई उनी सहभागी एक कार्यक्रम स्थलबाट सोही घरको छतमा लगी प्रहरीमा दायर भएको यौन दुर्व्यवहारसम्बन्धी मुद्दालाई फिर्ता लिन दबाब दिएको तर मुद्दा फिर्ता लिन नमानेपछि मट्टितेलमा चोबेर आगो लगाउन आदेश दिएको आरोपमा पक्राउ परेका १७ जनामध्ये एक आरोपितले बयान दिएका छन्,’ अनुसन्धानमा संलग्न वरिष्ठ प्रहरी उपरीक्षक मोहम्मद इकबालले बताए ।


रफीले मार्चको अन्त्यतिर आफूमाथि यौनदुर्व्यवहार भएको भनी मुद्दा दर्ता गर्न पुगेको तर प्रहरीको स्थानीय कार्यालयका प्रमुखले घटनालाई सामान्य भन्दै मुद्दा दर्ता गर्न नमानेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि यसले देशव्यापी रूपमा चर्चा पाएको थियो ।


बयानमा पक्राउ परेका आरोपितमध्ये पाँच जनाले रफीलाई एउटा पछ्यौरा (स्कार्फ) ले बाँधी आगो लगाएका थिए । उक्त घटनामा तीन जना रफीकै सहपाठीसमेत रहेका खुल्न आएको छ ।


किशोरीले आत्महत्या गरेको पुष्टि गर्ने योजना उक्त समूहको रहेको भए पनि आगोले जलेर पछ्यौराले बाँधिएका हातखुट्टा खुलेपछि रफी आगो सल्किएकै अवस्थामा भवनको तल्लो तलामा झर्न सफल भएको भेटिएको प्रहरी उपरीक्षक इकबालले बताए । करिब ८० प्रतिशत शरीरमा आगोले जलेकी रफीको उपचारका क्रममा अप्रिल १० मा निधन भएको थियो ।


रफीको मृत्युपूर्व उनले भिडियो रेकर्ड गरी आफ्ना प्रधानाध्यापकलाई दोषारोपण गरेकी थिइन् । उनले भिडियोमा भनेकी थिइन्, ‘प्रधानाध्यापकले मलाई गरेको यौन आक्रमणको अन्तिम श्वाससम्म मुकाविला गर्नेछु,’ उनले घटनामा संलग्न अन्य केहीको पनि परिचय दिएकी थिइन् ।

प्रकाशित : वैशाख ७, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?