कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

कन्हैयालाई पछ्याउँदा

सुरेशराज न्यौपाने

नयाँदिल्ली — जेएनयूमा विद्यार्थी समूहले संसद हमलाका दोषी अफ्जल गुरु र कश्मीरी पृथकतावादी मक्बुल भाटलाई फाँसी दिएको विरोधमा कार्यक्रम राखे । त्यसमा भारत विरोधी नारा लागेपछि जेनएयू प्रशासनले कारबाही त गर्‍यो नै, राजद्रोहको मुद्दामा पक्राउ परे कन्हैयासहित ।

कन्हैयालाई पछ्याउँदा

दिल्ली उच्च अदालतको आदेशले जमानतमा जेलबाट बाहिरिएलगत्तै जेएनयूमा कन्हैया भाषण दिए– ‘भारतबाट आजादी होइन, भारतभित्रै आजादी चाहियो ।’ यही भाषणले चर्चामा पुर्‍यायो कन्हैयालार्ई । यिनै विद्यार्थी नेता कन्हैयाको उम्मेदवारीले बेगुसराय पुनः एकपटक चर्चाको केन्द्रमा छ ।


विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र मानिने भारत यतिबेला चुनावमय छ । यसबाट अछुतो छैन बिहारको औद्योगिक नगरी अर्थात् बेगुसराय पनि । तर, चौथो चरणअन्तर्गत २९ अप्रिलमा हुने यहाँको चुनावप्रति भने भारतमा मात्र होइन विदेशमा समेत विशेष चासो राखिएको छ । त्यही चासोका कारण देशी र विदेशी सञ्चारकमीरु चुनावी रिपोर्टिङका लागि त्यहाँ पुग्ने क्रम बढदो छ ।


र, बाहिरबाट आउने मिडिया टोलीलार्ई सहयोग गर्न स्थानीय सञ्चारकर्मीलार्ई भ्याइनभ्याइ छ । बेगुसरायलार्ई यसपटक चर्चामा ल्याएको हो नयाँदिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालय (जेनएयू) का पूर्व विद्यार्थी विद्यार्थी नेता कन्हैया कुमारको उम्मेदवारीले । उनले भारतीय कम्युनिस्ट पार्टी सीपीआईका उम्मेदवार दिएका छन् ।


परिवारका माहिला छोरा कन्हैयाको स्कुलदेखि नै राजनीतिमा चासो भए पनि पूर्णकालीन राजनीतिमा लाग्ने सोच भने थिएन । भाइ प्रिन्सका अनुसार कन्हैया इन्जिनियर बन्न चाहन्थे । तर, परिवारको आर्थिक अवस्था कमजोर भएका कारण कन्हैया सुरक्षित सरकारी जागिर खान चाहन्थे । सरकारी जागिरमा पनि सेनामा जागिर खान अलि सजिलो थियो ।


त्यसैले उनले एक पटक जलसेनाका लागि आवेदनसमेत दिए । सेनामा जागिर खानकै लागि उनले आईएस्सी पढेको भाइ प्रिन्सले सुनाए । तर, त्यसमा नभएपछि उनी पढाइ निरन्तरता दिँदै गए । छात्रवृत्ति पाए पछि उनी जेएनयूमा पीएचडी पढ्न थाले । तार्किक भाषण शैलीले उनी त्यहाँको विद्यार्थी युनियनको सभापति चुनिए । तर, सन् २०१६ को जेएनयू घटनाले कन्हैयाको जीवनलार्ई पूर्णरुपमा राजनीतिक मोड दियो ।


९ फेब्रुअरी २०१६ मा जेएनयूमा विद्यार्थीहरू एक समूहले संसद हमलामा दोषी अफ्जल गुरु र कश्मीरी पृथकतावादी मक्बुल भाटलार्ई फाँसी दिएको विरोधमा कार्यक्रम राखेको थियो । भारतीय जनतापार्टी निकट अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ले ऊक्त कार्यत्रम भारतविरोधी नारा लागेको भन्दै आयोजकहरूलार्ई कारबाही गर्नुपर्ने माग राख्यो । र, त्यही कारण देखाएर जेनएयू प्रशासनले कन्हैया लगायतका केही विद्यार्थीहरूलाई कारबाही गर्‍यो । त्यही घटनालार्ई आधार बनाएर स्थानीय प्रहरीले राजद्रोहको मुद्दा लगाएर पक्राउ गरेको थियो ।


दिल्ली उच्च अदालतको आदेशपछि उनी जमानतबाट जुटेका थिए । जेलबाट बाहिरिए लगत्तै जेएनयूमा कन्हैयाले दिएको ‘भारतबाट आजादी होइन, भारतभित्रै आजादी चाहियो’ भाषणले उनलार्ई थप चर्चामा पुर्‍यायो । यिनै विद्यार्थी नेता कन्हैयाको उम्मेदवारीले बेगुसराय पुनः एकपटक चर्चाको केन्द्रमा छ । त्यसो त नब्बेको दशकसम्म पनि भारतीय राजनीतिमा बेगुसराय सबैका लागि चासो र चर्चाको विषय बन्ने गर्थ्यो । कम्युनिस्टहरूले पनि यहाँको राजनीतिलार्ई आफ्नो प्रतिष्ठाको विषय बनाउने गर्थे ।


तर, पछिल्ला दुई दशकयता कार्यकर्ता पलायनका संगठन कमजोर हुँदै जानु र अन्य राजनीतिक दलहरूले प्रभाव विस्तार गर्दै पछि बेगुसरायमा कम्युनिस्टहरूको प्रभाव पनि फितलो हुँदै गयो । र, राष्ट्रिय राजनीतिको परिदृश्यबाट समेत विस्तारै ओझेल पर्न थाल्यो । तर, कन्हैयाको उम्मेदवारीले सीपीआईका कार्यकता मात्र नभएर नेतृत्वसम्मकै आशाको सञ्चार गराएको छ । सीपीआईका सचिव नारायणले कन्हैयाको उम्मेदवारी सीपीआईको मात्र नभएर सबै समग्र कम्युनिस्ट आन्दोलनको पुनर्जीवन दिएको बताए ।


कन्हैयाको प्रचारशैली पनि अन्य उम्मेदवारभन्दा भिन्न छ । गएको बुधबार कन्हैयाको चुनावी प्रचारको गन्तव्य थियो बेगुसरायको मुख्य बजारबाट करिब ४० किलोमिटर परको विक्रमपुर गाउँ । गाउँकै एक जना सीपीआईका पुराना कार्यकर्ताको घरमा भेला राखिएको थियो । पालैपालो स्थानीय कार्यकर्ताहरू यी युवा उम्मेदवारलार्ई भेट्दै आआफ्नो समस्या र सुझाव दिइरहेका थिए । कन्हैयालार्ई भेट्ने सीपीआईका पुराना कार्यकर्ताहरूमा एउटा बेग्लै खुसी देखिन्थ्यो । मानौं हराएको देउता अचानक भेटिएजस्तै । लठ्ठी टेक्दै आएका एक जना बृद्धले कन्हैयाको टाउमा हात राखेर पनि जित्नु भन्दै आर्शिवाद दिइरहँदा वातावरण एकाएका भावुक बनेको थियो ।


त्यही उनले स्थानीयहरूसँगै बसेर दही च्युरा खाजा खाए । त्यसपछि उनले होण्डा कारको माथि उभिएर करिब दस मिनेट सम्बोधन गरे । सम्बोधनका क्रममा उनले राज्यले गलत नियत राखेर आफूमाथि देशद्रोहको मुद्दा लगाएको र त्यसले बेगुसरायको माटो तथा जनताको अपमान गरेको दाबी गरे । ‘यो अपमानको बदला बेगुसरायको जनताले कसरी लिन्छन् भनेर देश र विदेशका मिडियाले चासो राखेका छन्,’ उनले भने । भाषणका क्रममा उनी सँधैझैं मोदी सरकारप्रति व्यंग्य गर्न चुकेनन् ।


देशद्रोही भएको भए आयोगले मलार्ई किन चुनावमा भाग लिन दियो भनेर मोदी सरकारप्रति कटाक्ष गरे । ‘म देशद्रोही हो भने त मलार्ई चुनाव लड्न छुट दिने आयोग, स्थानीय प्रशासन र मुलुकको पुरै कानुनव्यवस्था देशद्रोही हो,’ कुमारले आक्रोशित हुँदै भने । उनले सम्बोधन गरिरहँदा कन्हैया कुमार जिन्दावाद जिन्दावादको नारा लागिरहृयो । उनले आफ्नो उम्मेदवारी अधिनायवादी शासनको विरुद्ध र भारतीय जनताको आजादीका लागि भएको दाबी गरे ।


उनले भने, ‘अन्य पार्टी बेगुसरायको जित भनेको एउटा सिट जित्नु मात्र हो तर, मेरा लागि भने पूरै बेगसरायको जनताको जित हो । उनीहरूको आवाजको जितको कुरा हो ।’ गरिब र निमुखा जनताको आवाज दबाउन चाहन्छ अहिलेको सत्ता त्यसैले मप्रति जनताको सहानुभूतिसमेत रहेको उनले दाबी गरे ।


प्रचारप्रसार औपचारिक रूपमा डेढ महिनाअघि चुनाव घोषणापछि भए पनि आफूहरूले बेगुसराय जिल्लामा अढाइ वर्षदेखि २३० वटा पञ्चायतमा जनसंवाद कार्यक्रम चलाउँदै आएको कन्हैयाका भाइ प्रिन्सले बताए । त्यो पनि कालान्तरमा चुनावी अभियानमा परिणत भयो । उक्त अभियानले कन्हैयालार्ई स्थानीय मतदाताहरूसामु चिनाउन सघायो । पहिले गएका पन्चायतहरूमा चुनाव घोषणापछि पुनः एकपटक मतदातासमक्ष पुग्ने कार्यक्रम तय गरिएको छ । र, २४ अप्रिलसम्म त्यो सम्पन्न गर्ने योजना छ ।


बेगुसरायमा कन्हैयाको चुनावी अभियानले पनि विशेष चर्चा बटुलेको छ । चुनावी अभियानका केही विशेष फर्मुला तय गरिएको छ । अभियानलार्ई कमजोर क्षेत्रबाट सुरु गरेर बलियो क्षेत्रमा लैजाने । कन्हैयासँग हिँड्ने टोलीबाहेक अन्य विभिन्न सासाना समूहहरू पनि घरदैलोमा व्यस्त छन् । त्यसैगरी महिलाहरूको छुट्टै समूह छ । कन्हैयाको चुनावी प्रचारका लागि गुजरातका विद्यार्थी नेता जिग्नेस पनि एक महिनादेखि बेगुसरायमै डेराडण्डा जमाएर बसेका छन् । उनले विशेषगरी दलित लगायतका पिछडिएका जातिको भोट तान्न विशेष अभियान नै चलाएका छन् ।


त्यसैगरी बाहिरबाट आएका कन्हैयाका जेएनयूका साथी र अन्य शुभचिन्तकहरू ससानो समूह बनाएर घरघरमा पर्चा बाँड्ने काम गरिरहेका छन् । सीपीआईका २० जना कार्यकर्ता र पाँच जना बाहिरबाट आउका स्वयंसेवकसहितको टोलीले घरघरमा गएर मतदातासँग अन्तरक्रिया गरेको छ । जसदौरान अप्रत्यक्ष रूपमा उनीहरूको राजनीतिक पृष्ठभूमि, गुनासा र असन्तुष्टिहरू बुझ्ने गरेको छ । त्यसरी प्राप्त जानकारीलार्ई प्रत्येक दिन साँझ समीक्षा गरिएको छ ।


र, त्यसको जानकारी कन्हैया र उनको कोर टिमलार्ई जानकारी दिइन्छ । कन्हैयाको चुनावी अभियानको संयोजनका लागि सीपीआईले केन्द्रबाट नेताहरू खटाएको छ । त्यसको संयोजन पार्टीका सचिव के नारायणले । उनी एक महिनादेखि बेगुसरायमै बसेर कन्हैयाको चुनावी अभियानको संयोजन गरिरहेका छन् ।


बिहार जातीय राजनीतिको ऊर्वर भूमि मानिन्छ । विगतदेखि नै आर्थिक र विकासका मुद्दाभन्दा पनि भूमिहार, यादव, दलित, मुस्लिमबीचको समीकरणले नै चुनावी परिणाम तय गर्दै आएका छन् । यसपटक बेगुसरायका मतदाता जातीय राजनीतिबाट माथि उठ्न सक्छन् सक्दिैनन् त्यसले नै कन्हैयाको सुरु गरेको राजनीतिक यात्राको भविष्य तय गर्नेछ ।

प्रकाशित : वैशाख ७, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?