इजिप्टमा संविधान संशोधनबारे जनमतसंग्रह

एएफपी

कायरो — इजिप्टमा संविधान संशोधन प्रस्तावमाथिको जनमतसंग्रहका लागि शनिबार मतदान सुरु भएको छ । तीन दिनसम्म जारी मतदानले इजिप्टका राष्ट्रपतिको शासनकाल लम्ब्याउने प्रस्तावसहितको संविधान संशोधन गर्ने मार्ग प्रशस्त गर्नेछ ।

जनमतसंग्रहबाट संविधान संशोधन प्रस्ताव पारित भए इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीको कार्यकालमा दुई वर्ष थपिनेछ । त्यसपछि छवर्षे कार्यकालका लागि उनी पुनः उम्मेदवार बन्न पाउनेछन् ।


अधिकारकर्मीले यो जनमतसंग्रहको विरोध गर्दै आएका छन् । उनीहरूले जनमतसंग्रहबाट इजिप्टको राजनीतिमा सैनिक जनरल अब्देल फताहको पकड झनै बलियो बनाउने दाबी गरेका छन् । ‘जनमतसंग्रहले न्यायापालिकामा फताहको नियन्त्रणको बाटो खोलेको छ,’ विश्लेषकहरू भन्छन्, ‘राजनीतिमा सेनाको प्रभाव बढाउनेछ ।’


सन् २०११ मा भएको जनविद्रोहले होस्नी मुबारकको शासनसत्ता ढालेपछि गठित नागरिक सरकारलाई अपदस्थ गरी सैनिक जनरल फताह इजिप्टका राष्ट्रपति भएका थिए । सन् २०१३ मा मोर्सीलाई सत्ताच्यूत गरिएको थियो । एक वर्षपछि फताह इजिप्टका राष्ट्रपति बने । सन् २०१८ को मार्चमा ९७ प्रतिशतभन्दा बढी मत पाएर उनी फेरि राष्ट्रपतिमा निर्वाचित भएका थिए ।


विपक्षीहरू र मानवअधिकारवादीले इस्लामिक र धर्मनिरपेक्ष समूहमाथि राष्ट्रपति फताहले दमन गरेको भन्दै आलोचना गर्दै आएका छन् । इजिप्टेली संसदले अघिल्लो साता राष्ट्रपतिको शासनकाल सन् २०३० सम्म लम्ब्याउन सक्ने गरी संविधान संशोधन प्रस्ताव पारित गरेको थियो ।


सरकारी सञ्चारमाध्यमका अनुसार, संसद्ले देशको सेनालाई मुलुकको राजनीतिक मामिलामा प्रवेश गराउने तथा न्यायापालिकामाथि राष्ट्रपतिले बढी नियन्त्रण गर्न पाउने प्रावधानसमेत पारित गरेको छ । राष्ट्रपति फताह देशको सैनिक नेतृत्वबाट राजनीतिमा प्रवेश गरेका हुन् ।


संसद्ले पारित गरेको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई जनमतसंग्रहमार्फत अनुमोदन गर्नुपर्ने संवैधानिक व्यवस्था छ । वर्तमान संवैधानिक व्यवस्थाअनुसार सन् २०१८ मा निर्वाचित राष्ट्रपति फताहको कार्यकाल निर्वाचित भएको मितिबाट ६ वर्षमा सकिनेछ । सभामुख अलि अब्देल आलले संविधान संशोधनको पक्षमा ५३१ तथा विपक्षमा २२ मत परेको जनाए ।

प्रकाशित : वैशाख ८, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?