३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

भारतीय प्रधान न्यायाधीशमाथि यौन दुर्व्यवहार आरोप

एएफपी

नयाँदिल्ली — भारतीय सर्वोच्च अदालतका प्रधान न्यायाधीश रञ्जन गोगोईमाथि यौन उत्पीडनको आरोप लागेको छ । एक पूर्व सहयोगीले उनीमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी हुन् ।

भारतीय प्रधान न्यायाधीशमाथि यौन दुर्व्यवहार आरोप

यौन उत्पीडन आरोप लगाउने ३५ वर्षीया महिलाले सर्वोच्चका सबै (२२ जना) न्यायाधीशलाई शुक्रबार पत्र लेखी आफूलाई गोगोईले सरकारी निवासस्थित कार्यालयमा गत वर्षको अक्टोबरमा दुई पटकसम्म यौन दुर्व्यवहारको प्रयास गरेको बताएकी छन् ।


प्रधान न्यायाधीश गोगोईले आफूविरुद्ध अदालतका पूर्वकर्मचारीले लगाएको आरोप ‘अविश्वसनीय’ रहेको प्रतिक्रिया दिएका छन् । उनले आफूलाई महत्त्वपूर्ण मुद्दाको सुनुवाइ गर्न रोक लगाउने दुर्भावनाबाट यो प्रेरित अभिव्यक्ति मात्र भएको प्रतिक्रिया दिँदै आरोपको खण्डन गरेका छन् । यस क्रममा प्रधान न्यायाधीश गोगोईले आफूमाथि लागेको आरोप आधारहीन रहेको र यसको पछाडी कुनै ठूलो शक्तिको हात हुन सक्ने प्रतिक्रिया दिएका छन् ।


आफूमाथि लागेको आरोप अस्वीकार गर्दै गोगोईले भने, ‘यो न्यायपालिकाको स्वतन्त्रतामाथि खतराको संकेत हो ।’ उनले यो आरोप न्यायपालिकालाई अस्थिर बनाउनका लागि गरिएको एक षड्यन्त्र भएको समेत बताए । ‘यसका पछि ठूलो शक्ति लागेको हुन सक्छ,’ उनले भने, ‘यस्तो अवस्थामा काम गर्नुपर्‍यो भने राम्रा मान्छे यो अफिसमा कहिल्यै काम गर्न आउँदैनन् ।’ प्रधान न्यायाधीश गोगोईले ती महिलाको आपराधिक पृष्ठभूमि भएको बताए । ‘ती महिलालाई सर्वोच्चमा कसरी जागिर मिल्यो ? जब कि उसको विरुद्ध आपराधिक मुद्दा छ । यसको पनि जाँच हुनुपर्छ,’ उनले भने ।


महिलाले गोगोईले आफूमाथि यौन उत्पीडन गरेको, उनको प्रस्तावमा सहमत नभएपछि जागिरबाट हटाएको र आफ्नो परिवारलाई विभिन्न तरिकाले प्रताडित गरेको आरोपसमेत लगाएकी छन् । महिलाले पत्रमा लेखेकी छन्, ‘उहाँले मलाई मेरो कम्मरमा समात्नुभयो, शरीरका सबै अंगमा हात लगाउनुभयो र मलाई उहाँको शरीरतर्फ अँठ्याउनुभयो ।’


यसैबीच, प्रधान न्यायाधीशले आफूमाथि लागेको आरोपको सुनवाइ आफैं संलग्न रहेको बेन्चबाट गरेका छन् । प्रधानन्याधीश गोगोईविरुद्ध लागेको यौन उत्पीडनको आरोपमाथि सर्वोच्च अदालतमा शनिबार प्रधान न्यायाधीश रञ्जन गोगोई, न्यायाधीश अरुण मिश्रा र सञ्जीव खन्ना रहेको विशेष बेन्चमा सुनुवाइ भएको हो ।


बेन्चले प्रधान न्यायाधीशमाथिको आरोपबारे अन्य न्यायाधीशसहितको एक विशेष बेन्चमा सुनुवाइ हुने जनाएको छ । आफैं आरोपित भएको अवस्थामा बेच्चमा बस्नु गलत भएको प्रतिक्रिया केही कानुन व्यवसायीहरूले दिएका छन् । महिला कानुन व्यवसायीहरूले यस प्रकारको सुनवाइलाई यौन उत्पीडन आरोपका लागि निर्धारित प्रक्रियाको उल्लंघन भएको बताएका छन् ।


गोगोईको यात्रा

भारतको पूर्वोत्तर राज्यबाट प्रधान न्यायाधीश बन्ने गोगोई पहिलो व्यक्ति हुन् । उनी भारतको ४६ औं प्रमुख न्यायाधीशका रूपमा कार्यरत छन् । उनको कार्यकाल १७ नोभेम्बर २०१९ सम्म रहेको छ । १८ नोभेम्बर १९५४ मा जन्मेका गोगोईले सन १९७८ मा कानुनी सेवाका लागि आफ्नो नाम दर्ता गराएका थिए । उनी गुवाहाटी उच्च अदालतमा संवैधानिक र कम्पनी विषयमा बहसहरू गरेका थिए ।


२८ फेब्रुअरी २००१ मा गुवाहाटी उच्च अदालतले उनलाई स्थायी न्यायाधीशमा नियुक्त गरेको थियो । ९ सेप्टेम्बर २०१० मा उनलाई पन्जाब र हरियाणा उच्च अदालतमा सरुवा गरिएको थियो । उनलाई १२ फेब्रुअरी २०११ मा पन्जाब र हरियाणा उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त गरियो । २३ अप्रिल २०१२ मा सर्वोच्च अदालतको न्यायाधीशमा उनी नियुक्त भएका थिए ।


पछि ३ अक्टोबर २०१८ मा उनी भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश बने । उनले असमको राष्ट्रिय नागरिक रजिस्टार, सांसद तथा विद्यालयकहरूका लागि विशेष सुनुवाइका लागि विशेष अदालतहरू गठन, राजीव गान्धी हत्याकाण्डका अभियुक्तहरूलाई आजीवन कराबासको सजायमा कमी, लोकपालको नियुक्तिसहितका विभिन्न विषयहरूमा महत्त्वपूर्ण फैसला आफ्नो कार्यकालमा दिइसकेका छन् ।

प्रकाशित : वैशाख ८, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?