कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

श्रीलंकामा भएको शृंखलाबद्ध विस्फोटमा मृतकको संख्या २ सय ७ पुग्यो, ४५० भन्दा बढी घाइते [अपडेट]

मृत्यु हुनेहरूमा ३५ विदेशी
१२ घण्टाको कर्फ्यू घोषणा, सामाजिक सञ्जालमा प्रतिबन्ध
७ शंकास्पद पक्राउ, नेसनल थोहिथ जमात (एनटीजे) समूहले गराएको अनुमान
एजेन्सी

कोलम्बो — श्रीलंकामा आइतबार ८ ठाउँमा भएका शृखंलाबद्ध विस्फोटमा २०७ को मृत्यु भएको छ भने ४ सय ५० भन्दा बढी घाइते भएका छन् । तीन चर्च र ४ होटलसहित ८ स्थानमा विस्फोट भएका हुन् । 

पश्चिमी तटीय सहर नेगोबोको प्रख्यात सेन्ट सेबेस्टियन चर्च, पूर्वी तटीय सहर बाट्टीकालोआको जियोन चर्च र कोलम्बोको कोच्चिकाडे जिल्लास्थित सेन्ट एन्थोनी चर्च, कोलम्बोका ठूला होटलहरू सांग्रिला, किङ्सबरी तथा सिनामन ग्रान्ड, देहीवालाको एउटा होटल तथा देमातागोडाको एउटा घरमा विस्फोट भएका हुन् । 

श्रीलंकामा भएको शृंखलाबद्ध विस्फोटमा मृतकको संख्या २ सय ७ पुग्यो, ४५० भन्दा बढी घाइते [अपडेट]

विस्फोटपछि रक्षा मन्त्रालयले स्थानीय समयअनुसार आइतबार साँझ ६ देखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यू लगाएको छ भने प्रमुख सामाजिक सञ्जालहरूमा अस्थायी रूपमा प्रतिबन्ध लगाइएको छ । सुरक्षाकर्मीहरूले ७ जनालाई पक्राउ गरे पनि आक्रमणमा कसको संलग्नता थियो भन्ने आइतबार साँझसम्म खुल्न सकेको छैन ।


इस्टरका कार्यक्रम भइरहेका बेला सबैभन्दा पहिला कोलम्बोको सेन्ट एन्थोनी चर्चमा विस्फोट भएको थियो भने त्यसलगत्तै नेगोम्बोको सेन्ट सेबास्टियन चर्च, बाट्टीकालोआको जियोन चर्च र कोलम्बोका तीन होटलमा लगातार विस्फोट भएका थिए । सातौं विस्फोट दक्षिणी कोलम्बोको देहीवालास्थित चिडियाखाना नजिकैको होटलमा भएको थियो । कोलम्बोको देमातागोडा जिल्लामा आठौं विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी एउटा घरमा छापा मार्न गएका बेला आक्रमणकारीले आफैंलाई बमले उडाउँदा घरको छत खसेर तीन प्रहरी अधिकारी मारिएका छन् ।


सबैभन्दा बढी क्षति सेबेस्टियन चर्चमा भएको छ । त्यहाँ कम्तीमा पनि ६७ जनाको मृत्यु भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरहरूमा चर्चको छत ध्वस्त भएको र कुर्सीहरू रगतले लतपतिएका र मानिसका कपडा यत्रतत्र छरिएका देखिन्छन् । बाट्टीकालोआको चर्चमा २७ जना मारिएका छन् । अधिकांश चर्चका छत विस्फोटले उडेका छन् भने सिसा यत्रतत्र छरिएका छन् । बाट्टीकालोआ अस्पतालले ३ सय घाइते भर्ना भएको जनाएको छ ।

विस्फोटमा बेलायत, नेदरल्यान्ड, अमेरिका, टर्की, चीन, पोर्चुगललगायत देशका ३५ विदेशी नागरिक पनि मारिएको जनाइएको छ ।


विस्फोट भएको होटल सिनामन ग्रान्ड प्रधानमन्त्रीको सरकारी निवास नजिकै पर्छ । ग्राहकहरूले खचाखच त्यहाँको रेस्टुरेन्टमा आक्रमणकारीले बिहान ८.३० बजे आफैंलाई बमले उडाउँदा एकजनाको मृत्यु भएको छ । विस्फोट गराउनुअघि आक्रमणकारी खानाको लाइनमा उभिएको होटलका कर्मचारीले बताएका छन् । सांगि्रला होटलको दोस्रो तलामा विस्फोट गराइएको थियो । विस्फोटबाट झ्याल उडेको छ भने बिजुलीका तारहरू सिलिङमा झुन्डिएका छन् ।


आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । एएफपीका अनुसार श्रीलंकाका प्रहरी प्रमुख पुजुथ जयसुन्दराले १० दिनअघि उच्च अधिकारीहरूलाई आत्मघाती आक्रमणकारीहरूले प्रमुख चर्चहरूमा आक्रमण गर्ने योजना बनाएको सूचना पाएको भन्दै अलर्ट गराएका थिए । विदेशी गुप्तचर रिपोर्टलाई उद्धृत गर्दै अलर्टमा भनिएको थियो, 'नेसनल थोहिथ जमात (एनटीजे) समूहले प्रमुख चर्च र कोलम्बोस्थित भारतीय हाई कमिसनमा आत्मघाती आक्रमणको योजना बनाएका छन् ।' एटीजे चरमपन्थी मुस्लिम समूह हो । गत वर्ष बुद्धका मूर्तिहरू तोडफोडमा पनि यो समूह संलग्न भएको पाइएको थियो ।


............

श्रीलंकाको राजधानी कोलम्बोस्थित ३ गिरिजाघर र ३ ठूला पर्यटकीय होटलमा भएको श्रृंखलावद्ध बम बिस्फोटमा परी हालसम्म १३८ जनाको मृत्यु हुनुका साथै ४०० जनाभन्दा बढी घाइते भएको सुरक्षा निकाय तथा अस्पतालले जानकारी दिएको छ । श्रीलंकामा १० वर्ष अघि सकिएको गृहयुद्ध पछि भएको यो सबैभन्दा ठूलो विस्फोट हो ।


इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहँदा राजधानी कोलम्बोस्थित कोचीकाडे, नेगम्बो र बाट्टीकालोवामा रहेका तीनवटा चर्च तथा सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा बम विस्फोट भएको हो ।


कोलम्बोको कोचीकाडे गिरिजाघरमा भएको विस्फोटमा मात्रै ५० जनाको मृत्यु भएको बताइएको छ ।


यस्तै बाट्टीकालोवास्थित चर्चमा भएको विस्फोटमा मर्नेको संख्या २५ रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । होटलमा भएको विस्फोटमा परी कतिजना हताहत भए भन्ने खुलाइएको छैन । यद्यपी मर्नेहरुमा ९ जना विदेशी रहेको सुरक्षा निकायले पुष्टि गरेको छ ।


आक्रमणको जिम्म कसैले नलिएको पनि सुरक्षा निकायले जनाएको छ ।


विस्फोट लगत्तै प्रधानमन्त्री रनील विक्रमासिंघेले सुरक्षा परिषदको आपत्कालिन बैठक बोलाएका छन् ।

प्रकाशित : वैशाख ८, २०७६ ११:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?