प्राविधिक क्षेत्रमा पुरुष बढी 

बीबीसी

लन्डन — नयाँ प्रविधिले जडतालाई तोड्छ । यसले मानिसको मानसिकतामा परिवर्तन गर्छ । तर, जब हामी प्रविधि उद्योग (टेक इन्डस्ट्री) मा विविधताको कुरा गर्छौं, तब सबैभन्दा ठूलो अवरोधका रूपमा आजको टेक लिडर्सको जड मानसिकता नै देखा पर्ने गर्छ ।

एक सजातीय समूह, जसमा अधिकांश श्वेत पुरुषहरू सहभागी छन्, प्रविधि उद्योगको स्थापनामा तिनीहरूकै प्रधानता देखिन्छ । तिनीहरूकै आर्थिक लगानी पनि रहेको पाइन्छ । सुरुदेखि नै तिनीहरूले यस्तो वातावरण बनाए, जो उनीहरूजस्तै देखिन्छन्, सफल हुने सम्भावना पनि धेरै रहेको पाएको छ । पुरुष लगानीकर्ताको पूर्वाग्राहले महिला संस्थापकहरूको कम्पनीमा तिनीहरूलाई लगानी गर्नबाट रोकेको छ । श्वेत नागरिकले आफ्नाे नश्लीय समूह र क्षेत्रबाट बाहिर लगानी गरेको पाइँदैन । यो समस्या पहिला जसरी थियो, आज फरक शैलीमा उस्तै छ ।

पछिल्लो वर्ष अमेरिकामा उद्यम पुँजीको ठूलो हिस्सा श्वेत पुरुषहरूको कम्पनीमा लगाइएको थियो । महिला संस्थापकको कम्पनीमा उद्यम पुँजीको ९ प्रतिशत मात्रै लगानी भएको अध्ययनहरूले देखाएको छ । अश्वेत या ल्याटिन संस्थापकको कम्पनीमा भने ३ प्रतिशत मात्र लगानी रहेको पाइएको छ ।

उद्यम पुँजीपतीहरूमा ९० प्रतिशत श्वेत पुरुषहरूको दबदबा छ । यसमा कैयौं मानिस आफ्नो समूहबाट अगाडिको संसार हेर्नै पाउँदैनन्, जहाँ अन्य समुदायका मानिस पनि बसोबास गर्छन्, त्यसको अनुभूति अझै पनि गर्न सकिएको छैन । ‘मेट्रिक्स’ बाट एउटा कुरा जानकारीमा आएको छ कि महिला र पछाडि परेका नश्लीय तथा जातीय समूहका मानिसले थोरै मात्र टेक फन्ड प्राप्त गर्ने गरेका छन् ।

सन् २०१८ मा वोस्टन कन्सल्टिङ ग्रुप (बीसीजी) ले गरेको एक अध्ययनअनुसार महिला संस्थापकहरूलाई तिनीहरूको पुरुष समकक्षीलाई प्राप्त हुने फन्डको तुलनामा आधाभन्दा कम हिस्सा मात्रै प्राप्त हुने गरेको । ‘डिजिटल अनडिभाइडेड’ को परियोजना डायने रिपोर्टमा अश्वेत महिला संस्थापकलाई औसतमा ४२ हजार डलर फन्ड प्राप्त भएको उल्लेख छ ।

जब कि औसत फन्ड ११ लाख डलर रहेको छ । ‘डिजिटल अनडिभाइडेड’ ले गरेको एक तथ्यांक विश्लेषणअनुसार पछिल्लो दशकमा कुल उद्यम पुँजीको शून्य दशमलब ३ प्रतिशत हिस्सा मात्र ल्याटिन अमेरिकी महिलालाई प्राप्त भएको छ । हालैको अध्ययनबाट त्यो दृष्टिकोणमा देखिएका समस्या र विविधताका फाइदा, दुवैको जानकारी प्राप्त गर्न सकिन्छ ।

सन् २०१५ को म्याकिन्से प्रतिवेदनमा नश्लीय, जातीय र लैंगिक विविधता भएका कम्पनीले राम्रो व्यावसायिक प्रदर्शन गरेको उल्लेख छ । बीसीजीको रिपोर्टअनुसार महिला संस्थापकको स्टार्ट–अपको आर्थिक प्रदर्शन राम्रो रहेको छ । उनीहरूले पाँच वर्षमा १० प्रतिशत राजस्व (६ लाख ६२ हजार डलरको ठाउँमा ७ लाख ३० हजार डलर) जुटाएका छन् । प्रतिडलर लगानीमाथि उनीहरूको राजस्व दुई गुणाभन्दा बढी (०.३१ डलरको तुलनामा ०.७८ डलर) रहेको पाइयो ।

सन् २०१२ मा मैले आफ्नो भेन्चर क्यापिटल फर्म क्लेनर पर्किन्समाथि लैंगिक भेदभाव र कर्मचारीका रूपमा मसँग बदला लिन मुद्दा दायर भएको थियो । कम्पनीको दाबी उसको निर्णय प्रदर्शनमा आधारित थियो । २०१५ मा मैले त्यो मुद्दा हारे । तर यो मुद्दाले टेक्नोलजीबारे मानिसको सोचमा परिवर्तन भयो । केही विषयहरूमा मानिस टेक्नोलजी क्षेत्रलाई कसरी हेरिरहेको छ, त्यसमा पनि परिवर्तन भएको पाइयो ।

त्यसयता सयौं मानिस भेदभावको कथालाई साझा गरिसकेका छन् । यो कथाले दृष्टिकोण र व्यवहार दुवैमा परिवर्तन ल्याइसकेको छ । उदाहरणका रूपमा कैयौं थप कम्पनीमा महिलालाई साझेदारका रूपमा जोडिएको छ । यसले मलाई परिवर्तन सम्भव रहेको पाठ सिकायो । तर यो माथिबाटै हुनुपर्छ । यदि कुनै कम्पनीमा कनिष्ट र त्यसभन्दा माथि तहमा धेरै महिला भएमा उनीहरूलाई नोकरीमा राख्नु , निकाल्नु र उनको तलब निर्धारण गर्ने अधिकार पूर्वाग्रही पुरुषसँग भए उद्यम पुँजी र उद्यमशीलतामा पुरुषको वर्चस्व रहन्छ ।

प्रविधिलाई विविधतापूर्ण र समावेशी बनाउनका लागि भविष्यमा कारोबार गर्ने नेताहरूलाई आफ्नो स्टार्ट–अप र कम्पनी सुरु गर्नुपर्छ र तीनवटा मूल्यहरूलाई ध्यानमा राख्नुपर्छ । पहिलो मूल्य हो, समावेशिता । सन् १९८७ मा अश्वेत महिलावादी विद्ववान् किङबरले क्यान्सोको एउटा सिर्जनात्मक शब्द थियो ‘इन्टरसेक्सनलिटी’ । उनीबाट लिङ र नस्ल जस्तो पहिचानको कैयौं शैली परस्पर जोडिएको भन्ने प्रतिक्रिया आएको थियो ।

उदाहरणको रूपमा अश्वेत र ल्याटिन अमेरिकी महिला संस्थापकहरूका लागि फन्डमा अवरोध सामान्य माहिलाहरूको तुलनामा बढी रहेको पाइयो । अर्को मूल्य हो, समझदारीमा व्यापकता । नाम मात्रको प्रयास र नियुक्तिबाट काम चल्दैन । यसको स्थानमा कामको सबै तहमा र सबै समूहमा विविधता र समावेशिता ल्याउनुपर्छ । तेस्रो मूल्य हो, जवाफदेहिता । जबसम्म उन्नति र समुदायबीचको खाल्डोको मापन हुन्न र त्यसको व्यवस्थापनका लागि मेट्रिक्सको प्रयोग गरिन्न तबसम्म यो थाहा पाउनु कठिन काम हो कि वास्तवमा यो क्षेत्रमा कति प्रगति भएको । तर यो कारोबारको प्राथमिकतामा छैन ।

एलेन पाओ

प्रकाशित : वैशाख १०, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्

विदेशबाट फर्केका १९ हजारको आवेदन, एउटैले ऋण पाएनन्

सजना बराल

काठमाडौँ — पाँच वर्ष विदेश बसेर फर्किएका सिन्धुली दुधौली ५ का पुष्कर खड्का अब चप्पल कारखाना खोल्न चाहन्छन् । यसका लागि ऋण चाहिएको छ । गत पुसमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले सहुलियत कर्जाका लागि आवेदन खुला गरेपछि उनले दिनभरि लाइन बसेर आवदेन बुझाएका थिए ।

त्यसयता उनी बोर्ड सचिवालयमा फोन गर्दै कहिले ऋण पाइएला भनेर सोधिरहेका छन् । बोर्डले बैंकमा जान आग्रह गरेको छ ।
‘बिनाधितो सहुलियत कर्जा पाइन्छ भनेर त्यत्रो लाइन बसिएको थियो,’ उनले भने, ‘सरकार संलग्न भएपछि सहज होला भन्ठानेको थिएँ तर अहिलेसम्म केही प्रगति भएको छैन । बेरोजगार छु ।’ पुष्करजस्ता कुल १८ हजार ७ सय ६७ युवा आफूले बुझाएको आवेदन के भयो, ऋण पाइएला कि नपाइएला भन्नेमा अनविज्ञ छन् । प्रवर्द्धन बोर्ड भने यसबारे चासो राख्नेलाई बैंकमा गएर आफ्ना परियोजना देखाउन आग्रह गर्दै आएको छ ।

‘बोर्ड वा नेपाल सरकारले ऋण दिने होइन,’ बोर्डका लेखा अधिकृत नारायणप्रसाद दहालले भने, ‘आवेदकले आफ्ना परियोजना र आवश्यक कागजपत्र बैंकलाई देखाएर ऋण लिन सक्छन् । त्यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरिसकेको छ ।’ राष्ट्र बैंकले पुसमै शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, व्यावसायिक कृषि क्षेत्रमा ‘सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५’ यथाशीघ्र लागू गराउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको थियो ।

आवेदन भर्नेहरू भने बोर्डले प्रदान गर्ने टोकन (सिरियल नम्बर) हेर्दै परिणाम आउनेमा आशावादी छन् । बोर्डले गोरखापत्रमा परिणाम निकाल्छ भन्ने सुनेको पुष्करले बताए । यता बोर्डले भने आवदेकको विवरण कम्प्युटरमा इन्ट्री गरेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पठाएको जानकारी दियो । श्रमले अर्थ मन्त्रालयमा विवरण पठाएको छ । ‘अर्थले राष्ट्र बैंकलाई पठाउनेछ,’ श्रम मन्त्रालयका प्रवक्ता नारायण रेग्मीले भने, ‘राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई यसबारे जानकारी देला ।’

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले आफूहरूले यसअघि नै बैंक तथा वित्तीय संस्थालाई झकझकाइसके पनि उनीहरू इच्छुक नदेखिएको बताए । सरकारको आग्रहमा आवेदन बुझाएकाहरू ऋण पाउने/नपाउनेमा दोधारमा रहेका बेला यी सरकारी निकायहरू अस्पष्ट कुरा गर्दै बसिरहेका छन् । बोर्ड सचिवालयले आफ्नो काम भनेकै निवेदन आह्वान गरेर न्यूनतम मापदण्ड पूरा गरेका निवेदन संकलन गरी श्रम मन्त्रलायलाई पठाउने भएको र सो काम पूरा गरेको जनाएको छ ।

श्रमले ती निवेदन दुई हप्ताअघि नै सर्लक्क अर्थलाई पठाएको प्रवक्ता रेग्मीले बताए । ‘अर्थले कहिले राष्ट्र बैंकलाई पठाउँछ त्यो उसैलाई सोध्नुहोस्,’ उनले भने । यी विवरणका आधारमा अर्थ मन्क्रालयले आगामी बजेट र नीति तथा कार्यत्रममा यो क्षेत्रलाई सम्बोधन गर्न सक्ने केहीको अनुमान छ । ‘वैदेशिक रोजगारबाट फर्केकाका लागि नीति तथा कार्यक्रममा केही आउँछ कि भन्ने छ,’ बोर्डका लेखा अधिकृत दहालले भने, ‘अहिलेलाई भने आवदेकले बैंकबाट ऋण लिने हो ।’

बोर्डले केही दिनमै आवदेकको सूची आफ्नो वेबसाइटमा राख्न लागेको पनि उनले जानकारी दिए । ‘यसो हुँदा बैंकले पनि विवरण हेर्न सक्छन्,’ उनले भने, ‘मापदण्ड पूरा भए/नभएको जाँचिरहनु परेन ।’ श्रमका रेग्मीले पनि आफूहरूले विवरण संलकन गरेर अर्थ हुँदै राष्ट्र बैंकमा पठाउनु नै ऋणका लागि बैंक तथा वित्तीय संस्थालाई सिफारिस गरेको हुने भनाइ राखे ।

‘कृषिबाहेक अन्य क्षेत्रमा माग नआएकाले अपेक्षित रूपमा ऋण दिन सकिएको छैन,’ एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने । योग्य प्रस्ताव आए ऋण दिन सकिने दाबी उनले गरे ।

कृषि र पशुपालनमा बढी इच्छुक
सहुलियत कर्जाका लागि ऋण लिन चाहनेमध्ये अधिकांशले कृषि तथा पशुपालनसम्बन्धी परियोजना पेस गरेको बोर्डले जनाएको छ । कुल १८ हजार ७ सय ६७ मध्ये ७ हजार ६ सय ७५ जनाले कृषि तथा पशुपालनमा लगानी गर्न चाहेको विवरण छ । यसमा पनि कुखुरापालन गर्न चाहनेको संख्या २ हजार ८ सय ९५ छ भने गाई, भैंसी, बंगुर र बाख्रापालन गर्न चाहनेहरू २ हजार ६ सय ३७ जना छन् । खेती किसानीमा २ हजार २९ जना र माछापालनमा इच्छा देखाउनेको संख्या ११४ जना छ ।

होटल व्यवसाय, यातायात, उद्योग र अन्य व्यवसायमा युवाले विभिन्न खाले परियोजना पेस गरेका छन् । आवदेन भर्नेमा १७ हजार ८ सय ७४ जना पुरुष र ८९३ जना महिला रहेको बोर्डको तथ्यांक छ । यीमध्ये सर्वाधिक ६ हजार ४ सय १७ जना मलेसियाबाट फर्केका छन् ।

साउदी अरबबाट फर्केकाको संख्या ४ हजार ३ सय ९९ र कतारबाट ३ हजार ६ सय १६ जना छन् । यूएई, कुवेत, ओमान, बहराइन, जोर्डन, जापान, दक्षिण कोरियालगायत देशमा श्रमको अनुभव बटुलेका सयौं युवाले स्वदेशमा काम गर्ने इच्छा देखाएका छन् ।

प्रकाशित : वैशाख १०, २०७६ ०८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्