वाराणसीमा ढुक्क मोदी

सुरेशराज न्यौपाने

वाराणसी — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार आफ्नो लोकसभा निर्वाचन क्षेत्र वाराणसीमा चुनावी र्‍यालीमा सहभागी भए । ऊनले सातौं अर्थात् अन्तिम चरण १९ मेमा हुने चुनावका लागि शुक्रबार मनोनय दर्ता गर्ने कार्यत्रम  छ ।

वाराणसीमा ढुक्क मोदी

उनको आगमनले वाराणसीलाई चुनावले केही छोए जस्तो देखिए पनि स्थानीय पाँच वर्षअघिको तुलनामा यसपटक चुनावको वातावरण नभएको बताउँछन् । सन् २०१४ को चुनावको प्रसंग कोट्याउँदा पनि उनीहरू रोमाञ्चित हुन्छन् । हुन पनि उक्त चुनावमा वाराणसीको चुनावी माहोल कम्ती रोचक थिएन ।


भ्रष्टाचारविरोधी आन्दोलनबाट एकाएक चर्चामा आएका आम आदमी पार्टीका अध्यक्ष अरविन्द्र केजरीवाल र भारतीय जनता पार्टीका तर्फबाट भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारिएका नरेन्द्र मोदीबीचको प्रतिस्पर्धाले पूरै भारतको ध्यान बनारसमा केन्द्रित थियो । जसले गर्दा स्थानीय मतदातामा पनि वाराणसी लोकसभा क्षेत्रको चुनावले बैग्लै उत्साह थपेको थियो ।


मोदीसँग पराजित भए पनि आश्चर्यजनक रूपमा दुई लाखभन्दा बढी मत ल्याएर दिल्लीका केजरीवाल सबैलाई आश्चर्यचकित तुल्याएका थिए । ‘यस पटक त के चुनाव भन्नु । जे थियो माहोल अघिल्लो पटक नै थियो,’ स्थानीय लालबाबु राउतले कान्तिपुरसँग भने । यसपटक वाराणसीलाई किन चुनाव लागेको छैन त ? उनले त्यसको कारण प्रस्ट्याउँदै भने, ‘मोदीजीलाई टक्कर दिने कोही छैन, अनि के लागोस् ?’


हुन पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यहाँको चुनावी प्रतिस्पर्धामा निकै अघि देखिन्छन् । जातीय समीकरण, पछिल्लो पाँच वर्षमा सुरु गरिएका विकास परियोजनाहरू र विपक्षीहरूको अलमल सबै हिसाबले वाराणसी मोदीका लागि निकै नै सुरक्षित देखिन्छ ।


भाजपा काशी क्षेत्रका अध्यक्ष महेशचन्द्र श्रीवास्तवको भनाइमा पछिल्लो पाँच वर्षमा सुरु गरिएका विकासका आयोजनाहरू र प्रधानमन्क्री मोदीको व्यत्तित्वलाई नै बाराणासीका जनताले भोट दिने दाबी गरे । ‘पाँच वर्षमा भएको विकास बाराणासीले नजिकबाट हेरेको छ । स्वास्थ्य, शिक्षा, पूर्वाधार, ऐतिहासिक सांस्कृतिक धरोहरहरूको संरक्षणमा भएको कामबाट बारणासीका जनता अभिभूत छन् र मोदीको पक्षमा एकजुट भएर उभिएका छन्,’ श्रीवास्तवले भने ।


यो लोकसभामा करिब अठार लाख मतदाता रहेका छन् । यो क्षेत्र विगत देखि नै भाजपाको गढका रूपमा चिनिँदै आएको छ । मोदीका लागि सबैभन्दा अनुकूल पक्ष हो, जातीय समीकरण । कुल मतदातामध्ये करिब ३ लाखको हाराहारीमा मुस्लिम छन्, बाँकी सबै हिन्दु ।


हिन्दुहरूमध्ये सबैभन्दा बढी ब्राहृमण २.५ लाख, कुर्मी (पटेल) करिब १.५ लाख, यादव १.५ लाख, भूमिहार १.५ लाख, वैश्य दुई लाख, कायस्थ ६५ हजारको संख्यामा छन् भने दलित मतदाता एक लाखको हाराहारीमा छन् । परम्परागत रूपमै ब्राहृमण, भूमिहार, वैश्य, कायस्थ र कुर्मी मतदाता भाजपाको पक्षमा उभिँदै आएका छन् । पटेल समुदाय राम्रो पकड भएको अपना दल र भाजपाबीच गठबन्धन भएका कारण त्यसको लाभसमेत उसलाई हुनेछ ।


पछिल्लो पाँच वर्षमा वाराणसी लक्षित विकास योजनाहरूका कारण पनि यो निर्वाचन क्षेत्र भाजपाका लागि थप सुरक्षित बन्न पुगेको देखिन्छ । प्रधानमन्त्रीको निर्वाचन क्षेत्र भएकाले विगत पाँच वर्षमा वाराणसीका लागि भन्दै केन्द्रीय सरकारले करिब ५ हजार भारुको दर्जनौं परियोजना सुरु गरिएका छन् ।


तीमध्ये कतिपय सम्पन्न भइसकेका छन् भने कतिपय सञ्चालनका क्रममा छन् । भाजपाको परम्परागत प्रतिद्वन्द्वी कंग्रेसले उम्मेदवार चयनमा गरेको ढिलाइले पनि मोदीलाई नै फाइदा पुग्ने देखिन्छ । कंग्रेसले धेरै ढिलो गरी बिहीबार मात्र उम्मेदवार चयन गरेको छ ।


लामो समयदेखि महासचिव प्रियंका गान्धी बाड्राले चुनाव लड्ने चर्चा चले पनि त्यसलाई गलत सावित गर्दै कंग्रेसले सन् २०१४ मा तेस्रो भएका अजय रायलाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । राजनीतिक विश्लेषकहरू उम्मेदवार तोक्न कंग्रेसबाट भएको ढिलाइले प्रत्यक्ष रूपमा मोदीलाई नै फाइदा पुग्ने बताउँछन् ।


राजनीतिक विश्लेषक डा. दीनबन्धु तिवारी भने कंग्रेसले प्रियंकालाई मैदानमा उतारेको खण्डमा चुनावको केही रोचक हुने भए पनि जित भने त्यो मोदीलाई हराउन पर्याप्त नहुने निष्कर्ष बताए । ‘एक त बनारस आफैंमा भाजपाको बलियो क्षेत्र हो । त्यसमाथि प्रधानमन्त्री मोदी नै उम्मेदवार भएपछि त्यसको केही फाइदा अवश्य हुन्छ,’ तिवारीले भने ।


कंग्रेसले गरेको ढिलाइकै कारण समाजवादी पार्टी (सपा) र बहुजन समाज पार्टी (बसपा) गठबन्धनले यसअघि नै शालिनी यादवको नाम तय गरिसकेका छ । जसले गर्दा मोदीविरुद्ध विपक्षीहरू एक हुने सम्भावना टरेर गएको बताइएको छ । र, विशेष गरी मुस्लिम मतदाता विपक्षीहरूमै बाँडिने निश्चित छ । कंग्रेसका जिल्ला अध्यक्ष प्रजानाथ शर्मा भने उम्मेदवारी घोषणामा भएको ढिलाइले खासै फरक नपर्ने बताए ।

प्रकाशित : वैशाख १३, २०७६ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?