श्रीलंकामा विस्फोट : आक्रमणकारी व्यापारिक घरानाका

एजेन्सी

कोलम्बो — कोलम्बोको देमातागोडामा आलिसान बंगलाहरू लहरै छन् । तीमध्ये एउटा तीनतले घरमा बस्छ वाईएम इब्राहिमको परिवार । इब्राहिम कोलम्बोकै चर्चित मसला उद्योगी हुन् । उनी इसाना निर्यात कम्पनीका संस्थापक पनि हुन् ।

श्रीलंकामा विस्फोट : आक्रमणकारी व्यापारिक घरानाका

यो कम्पनीले आफ्नो वेबसाइटमा सन् २००६ यता श्रीलंकाकै सबैभन्दा ठूलो मसला निर्यातक कम्पनी भनेर उल्लेख गरेको छ । इस्टर मनाइरहेका बेला गत आइतबार चर्च तथा होटलमा भएको विस्फोटको अनुसन्धानका लागि अन्य ६० जनासहित तिनै इब्राहिम पक्राउ परेपछि छिमेकी स्तब्ध छन् ।


विस्फोटमा संलग्न ९ आत्मघाती आक्रमणकारीमध्ये २ जना उनकै छोरा भएको र उनले छोराहरूलाई सघाएको अभियोगमा सुरक्षा अधिकारीहरूले अनुसन्धान गरिरहेका छन् । यद्यपि प्रहरीले उनीमाथि औपचारिक रूपमा कुनै अभियोग लगाइसकेको छैन ।


इब्राहिमको सम्बन्ध देशका राजनीतिज्ञदेखि व्यवसायीसम्म थियो । ८४ वर्षीय पियाल सिरिवर्देनाका अनुसार इब्राहिमले कोलम्बोनजिकैको पिटाहमा खाना खान सयौं मानिसलाई बोलाउने गरेको र त्यसमा नेताहरूसमेत उपस्थित हुने गरेको बताए । एकपटक त इब्राहिमले मार्क्सवादी विचारधाराको पार्टीमार्फत राजनीतिमा प्रवेश गर्ने प्रयास पनि गरेका थिए । ‘उनी साह्रै असल र उदार मानिस थिए,’ सिरिवर्देनाले भने, ‘म अचम्मित भएको छु ।’


देमातागोडाको मस्जिदका अध्यक्ष रेयाज सल्लेले पनि इब्राहिम साँच्चिकै असल र व्यापारिक मानिस रहेको बताए । उनले तामाको उद्योगमा पनि लगानी गरेका थिए । उक्त उद्योगका बारेमा प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ ।


प्रहरीले आक्रमणमा आवश्यक सामग्री उपलब्ध गराएको आरोपमा तामा उद्योगका ९ कर्मचारीलाई अदालतमा उपस्थित गराएको थियो । मुस्लिम काउन्सिल श्रीलंकाका उपाध्यक्ष हिल्मी अहमदले पनि इब्राहिमका छोराहरू विदेशबाट पढेर आएका शिक्षित रहेको बताए । अहमदले इब्राहिमलाई आफ्ना छोराहरूका योजनाबारे थाहा भएकामा शंका गरे ।


छिमेकीका अनुसार इब्राहिम परिवारका महिलाहरू पनि कमैमात्र बाहिर देखिन्थे । उनका छोराहरू पनि छिमेकीसँग खासै घुलमिल गर्दैनथे । केही छिमेकीले भने प्रार्थनाका बेला छोराहरूले अनौठो क्रियाकलाप गरेको देखेका थिए र त्यस्तो गतिविधि कट्टरपन्थी इस्लामको ‘सालफिज्म’ सँग सम्बन्धित थियो ।


आक्रमणमा इब्राहिमकै २ छोराहरू इम्साथ अहमद र इल्हाम अहमद संलग्न भएको सुरक्षा अधिकारीको भनाइ छ । उनीहरू ३० वर्षको हाराहारीका थिए । उनीहरूको पहिचानबारे भारतीय सञ्चारमाध्यम ‘फस्ट पोस्ट’ ले भारतीय गुप्तचर अधिकारीलाई उद्धृत गर्दै पहिलोपटक सार्वजनिक गरेको थियो ।


श्रीलंकाका रक्षा राज्यमन्त्री रुवान विजेवर्दनेले पनि बुधबार आयोजित पक्रकार सम्मेलनमा आत्रमणमा शिक्षित, उच्च मध्यमवर्ग परिवार र आर्थिक रूपले पनि समृद्ध परिवारका सदस्य संलग्न भएको बताएका थिए । ‘यो साह्रै चिन्ताजनक विषय हो,’ उनले भनेका छन् ।


बेलायती सुरक्षा स्रोतहरूले अर्का आक्रमकारी अब्दुल लतिफ जमिल मोहम्मद भएको र उनले सन् २००६ देखि २००७

सम्म बेलायतमा शिक्षा लिएको जनाएका छन् । रक्षा राज्यमन्त्री विजेवर्दनेले पनि एक आक्रमणकारी बेलायतमा पढेर आएको र श्रीलंका फर्कनुअघि अस्ट्रेलियामा पोस्ट ग्राजुएटका विद्यार्थी भएको जनाए ।


श्रीलंकाका राष्ट्रपतिका सल्लाहकार शिरल लाख्तिलाकाले सांग्रिला होटलमा आत्मघाती विस्फोट गराउने व्यक्ति कोनाम इन्सान सिल्भन रहेको र उनी आक्रमणका प्रमुख योजनाकार रहेको बताए । अन्य अधिकारीहरूले आक्रमणमा जहरन हसिम नामका उग्र कट्टरपन्थी आक्रमणमा संलग्न रहेको जनाएका छन् । इस्लामिक स्टेट (आईएस) ले विस्फोटलगक्तै आत्रमणमा संलग्न भनेर हसिमलगायतका आक्रमणकारीको भिडियो सार्वजनिक गरेको छ ।


मुस्लिम समुदायका अगुवा अहमद र सल्लेले आफूहरूले हसिमका बारेमा अधिकारीहरूलाई बारम्बार सचेत गराउँदै आएको बताए । ‘हामीले ३ वर्षअघि नै गुप्तचर अधिकारीहरूलाई भनिसकेका थियौं र हसिमको प्रवचनको भिडियो रहेको डीभीडी पनि देखाएका थियौं,’ अहमदले भने ।


२०१८ को डिसेम्बरमा मुस्लिम र बौद्ध समुदायबीचको दंगाका बेला पनि आफूहरूले उसलाई पक्राउ गर्न आग्रह गरेको पनि उनले बताए । युट्युबमा अपलोड गरिएको एउटा भिडियोमा हसिमले इस्लाममा परिवर्तन नहुने गैरमुस्लिमको हत्या गरिनुपर्ने बताएका छन् । अहमदले आफ्ना चेतावनीलाई बेवास्ता गरिँदा या गम्भीर रूपमा नलिँदा यो घटना भएकामा आफूलाई पछुतो लागेको बताएका छन् ।


थप आक्रमणको चेतावनी

श्रीलंकाली प्रहरी अधिकारीहरूले राजधानी लगायतका क्षेत्रमा थफ आक्रमण हुन सक्ने चेतावनी विहीबार जारी गरेको छ । चेतावनीसँगै मुस्लिम नेताहरूले शुत्रबारको प्रार्थना सभा नगर्न अनुरोध गरेको छ ।


यता, क्याथोलिक धर्मावलम्बीहरूका लागि साता अन्त्यमा हुने सेवाहरू स्थगित गरिएको छ । यसैबीच, राजधानी कोलम्बोबाट पूर्वतर्फको बाहिरी क्षेत्रमा फेरी बम बिस्फोट भएको प्रहरीले जनाएको छ । स्थानीय समयानुसार बिहीबार भएको विस्फोटमा कुनै मानवीय क्षति भएको छैन । गत आइतबारको शृंखलाबद्ध बम विस्फोटमा मृत्यु भएकाको संख्या ३ सय ६० पुगेको छ ।


मृत्यु भएकाहरूमा भारतीय, अमेरिकी, बेलायती, जापानीसमेतका ३७ विदेशी छन् । अस्पतालले जनाएका छन् । बिस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ तर सरकारले श्रीलंकामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशङा गरेको छ । यो समूहलाई अन्तर्राष्ट्रिय आतंकवादी समूहले मद्दत गरेको हुन सक्ने श्रीलंका सरकारको अनुमान छ । विस्फोटमा संलग्न अधिकांश व्यक्तिको पहिचान खुलेको र उनीहरू सबै श्रीलंकाली रहेको पाइएको छ ।


विस्फोटका घटना हुन नदिन पर्याप्त सुरक्षा बन्दोबस्त नगरेको भन्दै प्रहरी प्रमुखमाथि प्रश्न तेर्साइएको छ । बुधबार श्रीलंकाली राष्ट्रपतिले प्रहरी प्रमुख र रक्षा सचिवको राजीनामा मागेका छन् । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले तत्काल राजीनामा दिन प्रहरी र सेनाको नेतृत्वलाई भनेका हुन् ।


उनले प्रहरी प्रमुख पुजिथ जयसुन्दर र रक्षा सचिव हेमासिरी फेर्नान्डोलाई राजीनामा दिन भनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । विनाशकारी घटनालाई नियन्त्रण गर्न सकिने अवस्था हुँदाहुँदै पनि सुरक्षा प्रमुखहरूको लापरबाहीका कारण घटना भएको ठहर गर्दै उनीहरूलाई परिवर्तन गर्न लागिएको हो ।


राष्ट्रपति सिरिसेनाले घटनालगत्तै केही दिनअगाडि नै एउटा बैठकमा उनीहरूलाई राजीनामा दिन आदेश दिएको अधिकारीहरूले बताएका छन् । उनले मंगलबार बेलुका राष्ट्रका नाममा सम्बोधन गर्दा पनि सुरक्षा निकायका प्रमुखहरूलाई परिवर्तन गर्ने संकेत दिएका थिए ।


यसैबीच, राष्ट्रपतिको दबाबपछि श्रीलंकाका उच्च सुरक्षा अधिकारीले बिहीबार राजीनामा दिएका छन् । राष्ट्रपति मैत्रीपालको निर्देशनमा सैन्य कर्मचारीतन्त्रका वरिष्ठ सरकारी अधिकारी हेमासिरी फर्नोन्डोले राजीनामा दिएका हुन् ।


उनले आफ्नो राजीनामा राष्ट्रपति पठाएको नाम नछाप्ने सर्तमा एक अधिकारीले बताएको एएफपीले जनाएको छ । ‘हेमासिरीले घटनामा आफ्नो दोष रहेको स्वीकार्दै राजीनामा दिएका हुन्,’ ती अधिकारीले भने । केही अन्य उच्च अधिकारीले समेत राजीनामाको तयारी गरेका छन् ।

प्रकाशित : वैशाख १३, २०७६ ०९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?