१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

सुडानमा तीन सैनिकको राजीनामा

रासस/एएफपी

खार्तुम — सुडानको सत्तारूढ संक्रमणकालीन सैनिक परिषदका तीन उच्च सैनिक अधिकारीले पदबाट राजीनामा दिएका छन् । राजीनामा स्वीकृत हुन बाँकी रहेको परिषद्ले जनाएको छ ।

राजीनामा दिएकामा परिषदको राजनीतिक समितिको नेतृत्व गर्दै आएका लेफटनेन्ट जनरल ओमार जाइन अल-अबिदिनसहित लेफटनेन्ट जनरलद्वय जलाल अल-दिन अल-शेख र अल-तायिब बबाकर अलि फादिल छन् ।


सुडानमा जनविद्रोहको मुख्य नेतृत्वकर्ता सुडानी पेसागत संघ -एसपीए) ले सैनिक परिषदविरुद्ध राजधानी खार्तुमसहित देशका प्रमुख सहर र ग्रामीण इलाकामा दसौं लाख जनतालाई सडकमा उत्रन आहृवान गरेसँगै सैनिक अधिकारीहरुले राजीनामा दिएका हुन् । संघले प्रदर्शनमा उत्रिएका जनतालाई दमन गरेको र धेरै प्रदर्शनकारीको हत्या आरोप लागेका यी तीनै अधिकारीलाई परिषद्बाट तत्काल बर्खास्त गर्न माग गरिरहेको थिए ।


बुधबार विपक्षी र सैनिक परिषद्बीच आपसी मतान्तर सुल्झाउन एउटा समिति गठन गर्न सहमति भएको थियो । सुडानका तत्कालीन शासक ओमार अल-बसिरलाई सेनाले नै सत्ताच्यूत गरे पनि नागरिक सरकार गठन हुन सकेको छैन । बरु सेनाको नयाँ नेतृत्वले सैनिक परिषदको नाममा पुनः सैनिक शासन चलाउने प्रयत्न थालेको सुडानी विपक्षीको आरोप छ ।


'सुडानको वर्तमान संकटको सुरक्षित अवतरणका लागि सेना र विपक्षीबीच छलफल जारी छ र हामी दुवै संकट समाधानमा सहयात्री हुन चाहन्छौं,' सैनिक परिषद् प्रवक्ता साम्स अल दिन कब्बासीले भने, 'सैनिक परिषद्ले वार्ताका लागि विपक्षीलाई आमन्त्रण गरिसकेको छ र संवाद एवं सम्झौताका लागि परिषद् खुला छ ।' विपक्षीले पनि समस्याको समाधान वार्ताबाटै गर्न चाहेको बताएका छन् ।


'हाम्रो एक मात्र चाहना संक्रमणकालीन नागरिक शक्तिलाई सत्ताको शान्तिपूर्ण हस्तान्तरण हो र यसले मात्र क्रान्तिका सहभागीको भावनालाई प्रतिविम्बित गर्नेछ,' एसपीएले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सत्ता हस्तान्तरणबाहेक अन्य विषयमा सैनिक परिषद्सँग वार्ता गर्न आफू तयार नभएको पनि एसपीएले स्पष्ट गरेको छ । मंगलबार सेनाले सैनिक मुख्यालय र रक्षा मन्त्रालयबाहिर प्रदर्शनकारीले सडकमा राखेका अवरोध हटाउने प्रयत्न गरेको थियो तर प्रदर्शनकारीले मुख्य सडकमा अझ बढी अवरोध खडा गरेका छन् । सुडानमा सैनिक शासनको विरोधमा महिनौंदेखि प्रदर्शन जारी छन् । वर्तमान सैनिक सरकार परिवर्तन गरी नागरिक सरकार बनाउनुपर्ने र लोकतान्त्रिक प्रक्रियामा मुलुकलाई लैजानुपर्ने जनताको माग छ ।


प्रदर्शनकै बीचमा करिब ३० वर्ष शासन चलाएका तत्कालीन राष्ट्रपति बसिरलाई सेनाले गत अपि्रल ११ तारिखका दिन नै अपदस्थ गरेको छ । उनलाई हाल सेनाले नजरबन्दमा राखेको बताइएको छ ।


प्रकाशित : वैशाख १३, २०७६ २०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?