अस्ट्रेलियाली राजनीतिमा नेपाली मूलकाको पहुँच

नारायण खड्का

अस्ट्रेलिया — सत्तारुढ दल लिबरलले प्रमेज श्रेष्ठलाई सांसदको उम्मेदवार बनाएसँगै अस्ट्रेलियामा नेपाली मूलकाले राजनीतिक क्षेत्रमा समेत फडको मारेका छन्  । त्यस्तै, यही मे १८ मा घोषणा गरिएको केन्द्रीय निर्वाचनमा तेस्रो ठूलो दल मानिएको ग्रिन्सबाट पश्चिम अस्ट्रेलियाबाट अर्का नेपाली मूलका युवा भुवन खडका माथिल्लो सदन ‘सिनेट’ सदस्यका लागि सिफारिस भएका छन्  ।

लिबरलबाट नेपाली मूलकाहरूको बाक्लो बसोबास रहेको क्षेत्र बार्टनबाट सांसदको उम्मेदवार बनेका २६ वर्षीय श्रेष्ठ प्रचारप्रसारमा व्यस्त छन् । १ लाख ७ हजार मतदाता रहेको उक्त क्षेत्रमा विपक्षी दल लेबरकी प्रभावशाली नेतृ लिन्डा बर्नी, ग्रिन्सका कोनोर पेरिसिस, युनाइटेड अस्ट्रेलियाका बेन ल्यु लगायतका सँग उनले प्रतिस्पर्धा गर्दै छन् । २०१३ को निर्वाचनमा सत्तारूढ दल लिबरलकै उम्मेदवारको जित भएका कारण समेत यस वर्ष हुने निर्वाचनमा आफ्नो राम्रो सम्भावना रहेको श्रेष्ठको भनाइ छ ।


निर्वाचन हुन करिब ३ साता मात्र बाँकी रहेकाले आफू जतिसक्दो सबैको घरदैलोमा गएर आफ्नो एजेन्डाहरू बताउन लागिरहेको उनको भनाइ छ । अर्कोतिर, पहिलो पटक कुनै नेपाली मूलको युवाले सांसदको उम्मेदवारको जिम्मेवारी पाएका कारण समेत आफू थप गम्भीर र जिम्मेवार भएर निर्वाचनमा होमिएको उनी सुनाउँछन् । उनलाई नेपाली मूलका मात्र नभएर यहाँका स्थानीय कार्यकर्ताहरूले समेत सहयोग पुर्‍याइरहेका छन् । आफ्नो उम्मेदवारीले अस्ट्रेलियामा भएका नेपाली मूलहरूलाई यहाँको केन्द्रीय राजनीतिमा अवसरको सृजना गरिदिएको समेत दाबी गर्छन् ।


पश्चिम अस्ट्रेलियामा बसोबास गर्दै आएका खडका पनि तेस्रो ठूलो दल ग्रिनबाट सिनेट सदस्यका लागि मनोनयनमा परेपछि अहिले निर्वाचनको प्रचारप्रसारमा व्यस्त छन् । उक्त पार्टीबाट चौथो तहको सिनेट सदस्यमा मनोनयमा परेका उनी पनि अबको ३ सातापछि हुने निर्वाचनमा जित हासिल गर्न लागिपरेका छन् । उनी निर्वाचनमा हारजित जे भए पनि नेपालबाट आएको युवालाई ठूलो दलले विश्वास गरेर सिनेटमा मनोनयन गर्नु नै महत्त्वपूर्ण भएको बताउँछन् । उनी सिड्नीमा प्रमेजलाई सत्तारुढ दलबाट सांसदको उम्मेदवार बनाइनु र आफूलाई पर्थबाट ग्रिनले उम्मेदवार बनाउनुले यहाँ रहेका नेपाली मूलकाहरूलाई अस्ट्रेलियाली राजनीतिमा बिस्तारै सम्भावना बढदै गएको सुनाउँछन् । २ वर्ष अघि पश्चिम अस्ट्रेलियाको बेलमोन्ट क्षेत्रबाट राज्यस्तरीय निर्वाचनमा ग्रिनबाटै उम्मेदवारी दिएका उनले हार बेहोरेका थिए । अस्ट्रेलियाको जनगणना अनुसार ५५ हजार नेपालीको जनसंख्या रहेको अस्ट्रेलियामा यसअघि स्वतन्त्र रूपमा तल्लो तहका निर्वाचनहरूमा केहीले सहभागिता जनाएका भए पनि पार्टीगत रूपमा भने यो पहिलो अवसर हो ।


सत्तारूढ दल लिबरल समर्थक नेपाली मूलकाहरूको संस्था लिबरल फ्रेन्डस अफ नेपालका अध्यक्ष श्री नापित छोटो समयमै राजनीतिक तहमा ठूलो फडको मारेको दाबी गर्छन् । ‘निर्वाचनमा होमिएपछि हारजित हुनु सामान्य हो तर ठूला दलहरूको विश्वास पाएर अघि बढ्न पाउनु महत्त्वपूर्ण हो,’ नापित भन्छन् ।

प्रकाशित : वैशाख १४, २०७६ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?