१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भेनेजुएलामा फेरि हिंसा

एजेन्सीहरू

कराकस — भेनेजुएलामा बुधबार फेरि हिंसा भड्केको छ । प्रतिपक्षका नेता जुआन ग्वाइडोले राष्ट्रपति निकोलस माडुरोविरुद्ध संघर्षको घोषणा गरेपछि हिंसा भड्केको हो ।

भेनेजुएलामा फेरि हिंसा

मंगलबार राति भिडियो सम्बोधनमार्फत आफ्ना समर्थकलाई सडकमा उत्रन अपिल गरेलगत्तै ठूलो संख्यामा सर्वसाधारणले प्रदर्शनमा सहभागी भएका छन् । ग्वाइडोले राष्ट्रपति माडुरोलाई हटाउन यो निर्णायक प्रदर्शन हुने बताएका छन् ।


यसैबीच, सेनाका बख्तरबन्द गाडीहरू भीडमा प्रवेश गरी थुप्रै प्रदर्शनकारीलाई घाइते बनाएको भिडियोहरू सार्वजनिक भएका छन् । केही ठाउँमा बख्तरबन्द सेनाको गाडीसमेत आगजनी गरेका छन् । राजधानी कराकसस्थित एउटा सैन्य ठेगाना बाहिर ग्वाइडोका समर्थक र सुरक्षाकर्मीहरूबीच झडप भएको छ । ग्वाइडोले सेनासँग समेत निणर्ायक आन्दोलनमा सहयोग गर्न अपिल गरेका छन् । तर, सेनाले राष्ट्रपति माडुरोकै पक्षमा रहेको प्रतिक्रिया दिएको छ । माडुरोका बफादार सुरक्षाकर्मीहरूले सुरक्षाको दृष्टिबाट महत्त्वपूर्ण ठानिएका ठेगानालाई कब्जामा लिएको छ ।


'बीबीसी' का अनुसार सैनिकले प्रदर्शनकारीमाथि रबरका गोली प्रहार गरेका छन् । स्थिति विस्फोट बन्दै गएपछि नियन्त्रणमा लिन

कैयौं सेल अश्रुग्यास प्रहार गरिएको छ । समाचारमा प्रदर्शनकारीमाथि गोली नै चलाइएको समेत उल्लेख छ । सेना र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा आमनेसामने भएको छ ।


सुरक्षाकर्मीबाट बल प्रयोगका बाबजुद प्रदर्शनकारी सडकमा डटेर प्रदर्शन गरिरहेका छन् । भेनेजुएलाका सैन्य जनरल भ्लादिमिर प्याडि्रनोले सेना राष्ट्रपति माडुरोसँगै रहेको प्रतिक्रिया दिएका छन् । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनिओ ग्युटेरेजले दुवै पक्षलाई हिंसा भड्कन नदिने अपिल गरेका छन् ।


अमेरिकी राष्ट्रिय सुरक्षा सलाहकार जोन बोल्टनले सेनाबाट सर्वसाधारणमाथि बल प्रयोग भए त्यो ठूलो भूल हुने जनाएका छन् । रूस र टर्कीले ग्वाइडोले भेनेजुएलामा हिंसा भड्काएको आरोप लगाएको छ । बोलिभिया र क्युबा लगायतका ल्याटिन अमेरिकी मुलुकले ग्वाइडोको कडा शब्दमा आलोचना गर्दै पछिल्लो प्रदर्शन विदेशी हितहरूको लागि सत्ता संघर्षको प्रयास भनी प्रतिक्रिया दिएका छन् । भेनेजुएला संकटमा विश्वका विभिन्न मुलुकहरू विभाजित भएका छन् ।


ग्वाइडोको समर्थन गर्ने मुलुकमा अमेरिका, क्यानाडा, बेलायत, अर्जेन्टिना, ब्राजिल, चिली, कोलम्बिया, कोस्टारिका, ग्वाटेमाला, होन्डुरस, पानामा, पाराग्वे, पेरु, कोसोभो, दी ईयू २७ र अस्ट्रेलिया रहेका छन् । त्यस्तै, माडुरोको समर्थन गर्ने मुलुकमा रूस, बेलारुस, गि्रस, चीन, इरान, क्युबा, मेक्सिको, टर्की, सिरिया, बोलिभिया र उरुग्वे रहेको सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित : वैशाख १९, २०७६ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?