भारतमा समुद्री आँधीको ताण्डव, तीनको मृत्यु र ठूलो धनमालको क्षति (भिडियोसहित)

सुरेशराज न्यौपाने

नयाँदिल्ली — बंगालको खाडीमा विकसित शक्तिशाली समुद्री चक्रवात फानीका कारण भारतको पूर्वी तटीय राज्य उडिसामा तीनजनाको मृत्युका हुनुका साथै ठूलो धनमालको क्षति भएको छ । बुधबार बिहान बंगालको खाडीको विकसित फानी शुक्रबार बिहान १० बजे उडिसाको तटीय क्षेत्रमा प्रवेश गरेको थियो । त्यसको असर स्वरूप करिब १७४ किमि प्रतिघन्टाको गतिले आएको डरलाग्दो आँधीले उक्त क्षेत्रमा तीन जनाको मृत्युका हुनुका साथै ठूलो मात्रामा भौतिक क्षति पुगेको हो । 

भारतमा समुद्री आँधीको ताण्डव, तीनको मृत्यु र ठूलो धनमालको क्षति (भिडियोसहित)

सर्वसाधारणमा सामुद्रिक आँधीबाट हुन सक्ने क्षतिको पर्याप्त मात्रामा चेतावनीसहितको पूर्वसूचना प्रवाह गरिएका कारण धेरैको ज्यान भने भएन । तर, अत्यधिक तीव्र गतिको आँधीका कारण ठूलो मात्रामा धनमालको पनि क्षति भने भएको छ । भारी वर्षासहित आएको हुरीले ठुल्ठूला रुखहरु ढाल्नुका साथै पक्की पर्खालहरुसमेत ढालेको छ । त्यसैगरी ठूलो संख्यामा बिजुली पोल, टेलिफोनका टावरहरुमा पनि क्षति पुगेको छ । रेडियोका टावरहरु पनि ढलेका छन् । फानी उडिसाको पुरी छेउको तटीय क्षेत्रबाट प्रवेश गरेको थियो । साथै दर्जनौं गाउँ डुबेका छन् ।

फानीकै कारण उडिसा भएर जाने सबै फ्लाइट र ट्रेनलाई स्थगित गरिएको छ । प्रभाव क्षेत्रमा तत्काल उद्धारका लागि सरकारले जल र वायु सेनालाई विशाखापटनममा तयारी अवस्थामा राखेको थियो । साथै मानवीय क्षति हुन नदिन तटीय क्षेत्रका करिब १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारेको थियो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतीय जल सेनालाई सामुदि्रक आँधीको असर कम भएसँगै औषधि र खाद्य सामग्रीलगायतका अत्यावश्यक राहत सामग्री पुर्‍याउनका लागि तीनवटा जहाजलाई तयारी अवस्थामा राखेको जनाएका छन् ।

मौसम पूर्वानुमान विभागले फानी उडिसाको खुर्दा, कटक, बलासोर, भद्रा, भुवनेश्वर हुँदै पश्चिम बंगालतर्फ सोझिएको जनाएको छ । बंगालमा प्रवेश गरेसँगै त्यसको असर कम हुँदै गएको बताइएको छ । यसले बंगालका कोलकातालगायतका हुग्ली, झारग्राम, मेदिनिपुरलगायतका जिल्लामा प्रभाव पार्ने बताइएको छ । यसलाई ध्यानमा राख्दै कोलकाता विमानस्थल शनिबारसम्मका लागि बन्द गरिएको छ भने सयौंको संख्यामा रेल पनि स्थगित गरिएको छ भने तटीय क्षेत्रमा प्रवेश गरेसँगै राज्य सरकारले सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आहृवान गरेको छ ।

साथै, पश्चिम बंगालकी मुख्य मन्त्री ममता बेनर्जीले ट्वीट गर्दै फानीबाट हुन सक्ने क्षति र उद्धारको प्रत्यक्ष निगरानीका लागि आफ्नो चुनावी अभियानलाई दुई दिनका लागि स्थगित गरेको जनाएकी छन् ।

त्यसपछि यो बंगलादेशतिर जाने सम्भावना छ । त्यही भएर बंगलादेशमा पनि सावधान रहन सूचना जारी गरिएको छ । भारतको मौसम पूर्वानुमान विभागले आसाम, अरुणाचल, मेघालय, मिजोरम, मणिपुर र त्रिपुरालगायतका राज्यमा भारी वर्षा हुन सक्ने जनाएको छ ।

फानीकै कारण प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबारका लागि तय गरिएका झारखण्ड राज्यका चुनावी र्‍यालीहरु स्थगित गरेका छन् । भारत सरकारले फानी प्रभावित क्षेत्रमा उद्धारका लागि करिब १ हजार करोड भारु दिने घोषणासमेत गरेको छ ।

सञ्चारमाध्यमहरुका अनुसार फानी भारतमा पछिल्लो दुई दशकमा आएको सबभन्दा शक्तिशाली आँधी हो । यसअघि सन् १९९९ मा सामुदि्रक आँधीले करिब १० हजारभन्दा बढीको ज्यान लिएको थियो ।

फानीको जन्म

सामुन्द्रक आँधी उडिसाको तटीय क्षेत्रमा प्रवेश गरेकै समयमा जन्मेकी एक बालिकाको नाम फानी राखिएको छ । भारतीय रेल्वेकी कर्मचारी ३२ वर्षीया महिलाले भुवनेश्वरकै रेल्वेको अस्पतालमा बालिकालाई जन्म दिएकी हुन् । फानीले उडिसामा छिरेलगत्तै जन्मिएकी हुँदा बालिकाको नाम फानी राखिएको भारतीय सञ्चारमाध्यमहरुले परिवारलाई उद्धृत गर्दै जनाएका छन् ।

प्रकाशित : वैशाख २०, २०७६ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?