कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राहुलसँग भिड्दै इरानी

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा जारी १७ औं लोकसभाअन्तर्गत आज पाँचौं चरणको मतदान हुँदै छ । सात राज्यका ५१ लोकसभा सिटका लागि सोमबार हुने मतदानसँगै ५४३ सदस्यीय तल्लो सदन (लोकसभा) का ४२५ सिटका लागि चुनाव सम्पन्न हुनेछ । 

राहुलसँग भिड्दै इरानी

पाँचौं चरणअन्तर्गत ८ करोड ९५ लाखभन्दा बढी मतदातले चुनावी मैदानमा रहेका ६७४ उम्मेदवार भाग्यको फैसला गर्नेछन् । सोमबार उत्तरप्रदेशका १४, विहारका ५, राजस्थानका १२, पश्चिम बंगालका ७, मध्यप्रदेशका ७, झारखण्डका ४ र जम्मुकश्मीरका २ सिटमा चुनाव हुनेछ । सन् २०१४ को चुनावमा भाजपाले सोमबार मतदान हुने ५१ मध्ये ३९ सिट जितेको थियो ।


यसअघिको लोकसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले यी क्षेत्रमा ऐतिहासिक जित हासिल गरेकाले सोमबारको मतदानलाई विशेष महत्त्वसाथ हेरिएको छ । सोमबार चुनाव हुने क्षेत्रमध्ये भाजपाले २०१४ मा उत्तरप्रदेशका १४ सिटमध्ये रायबरेली र अमेठीबाहेक सबै जितेको थियो ।


तर यसपटक समाजवादी पार्टी (सपा) र बहुजन समाज पार्टी (बसपा) बीचको गठबन्धनले भाजपालाई पाँच वर्षअघिको नतिजा दोहोर्‍याउन हम्मे पर्ने देखिन्छ । यदि सन् २०१४ को मतलाई हेर्ने हो भने गठबन्धनका कारण सोमबार मतदान हुने बहराईच, सीतापुर, मोहनलालगंज, कैशरगंज र कौशम्बी यस पटक भाजपाका लागि कठिन हुने अनुमान गरिएको छ किनकि यी सिटमा सपा र बसपाले पाँच वर्षअघि पाएको भोट जोड्ने हो भने भाजपाको भन्दा बढी हुन्छ ।


त्यस्तै राजस्थानका कुल २५ सिटमध्ये १२ सिटमा मतदान हुनेछ । अघिल्लो चुनावमा भाजपाले पुरै २५ सिट जितेको थियो तर केही महिनाअघिको विधानसभा चुनावमा हार बेहोरेका कारण भाजपालाई अघिल्लो पटकको सफलता दोहोर्‍याउन कठिन छ ।

त्यसैगरी मध्यप्रदेशका २९ मध्ये सोमबार ७ सिटमा मतदान हुँदै छ । अघिल्लो चुनावमा भाजपाले २९ मध्ये २७ सिट जितेको थियो ।


तर, राजस्थानमा जस्तै हालैको विधानसभा चुनावमा मध्यप्रदेशमा पनि भाजपाले हार बेहोर्नुपर्‍यो । भाजपाको हारका पछाडि नोटबन्दी, बेरोजगार, किसान समस्यालाई प्रमुख कारण मानिएको थियो । हारका कारण पनि भाजपामाथि यसअघिको नतिजा दोहोर्‍याउन बढी नै दबाब छ । सोमबार पश्चिम बंगालको ४२ लोकसभा सिटमध्ये सात वटामा मतदान हुँदै छ ।


यस पटकको चुनावमा भाजपाले पश्चिम बंगाललाई विशेष प्राथमिकतामा राखेको देखिन्छ । ममता बनर्जीविरुद्ध बढ्दो असन्तोष र कांग्रेसको फितलो संगठनको फाइदा उठाउन सक्ने आकलन भाजपाको छ । राजनीतिक विश्लेषकहरूका अनुसार हिन्दीभाषी क्षेत्रमा हुने क्षतिलाई पश्चिम बंगाललगायत राज्यबाट पूर्ति गर्ने रणनीति भाजपाको छ ।


सोमबारको चुनावमा केही राजनीतिक दिग्गजहरूको अग्निपरीक्षासमेत हुँदै छ । त्यही भएर पनि ५१ लोकसभा सिटमध्ये केहीको बढी चर्चा छ । सोमबार हुने चुनावमा अमेठी, रायबरेली लोकसभा सिटलाई लिएर विशेष चासो र चर्चा छ । नेहरू(गान्धी परिवारको परम्परागत लोसकभा सिट भएकाले अमेठी र रायबरेलीमा सबैको केन्दि्रत भएको हो । अमेठीबाट कांग्रेसका अध्यक्ष राहुल गान्धी आफंै उम्मेदार छन् भने रायबरेलीबाट सोनिया गान्धी चुनावी मैदानमा छिन् । राहुलविरुद्ध केन्द्रीय मन्त्री स्मृति इरानीको उम्मेदारीले पनि अमेठीको चुनावले थप राष्ट्रिय चर्चा पाएको छ ।


कांग्रेसविरुद्ध आक्रामक रहँदै आएकी इरानी सन् २०१४ को चुनावमा पनि राहुलविरुद्ध नै चुनाव लडेकी थिइन् । चुनावमा करिब एक लाखभन्दा बढी भोटको अन्तरले पराजित भएकी थिइन् । त्यतिबेलाको चुनाव हारे पनि इरानीले पछिल्लो पाँच वर्ष आफ्नो र पार्टीको जनाधार विस्तार गर्न धेरै नै मेहनत गरेको स्थानीय राजनीतिज्ञहरूको बुझाइ छ । कश्मीरको पुलवामा भएको घटनापछि देशव्यापी बनेको प्रधानमन्त्री नरेन्द्र मोदीको राष्ट्रवादी छवि र भाजपा सरकारले अघि बढाएको सामाजिक सुरक्षा र विकासका नारालाई देखाएर चुनावी परिणाम आफ्ना पक्षमा पार्ने स्मृतिले बढी नै कसरत गरेकी थिइन् ।


लगातार तीन पटक अमेठीबाटै निर्वाचित भएर पनि क्षेत्रको विकासप्रति बेवास्ता गरेको विषयलाई समेत स्मृति र भाजपाले चुनावी मुद्दा बनाएको थियो । भाजपाको बलियो संगठन र कमजोर पूर्वाधारलाई लिएर स्थानीयमा बढ्दो असन्तुष्टिका कारण राहुलले यस पटक स्मृतिबाट कडा चुनौती सामना गर्नुपर्ने देखिन्छ । त्यही भएर पनि अमेठीको चुनावी नतिजालाई लिएर यस पटक विशेष चासो राखिएको छ ।


कांग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीका लागि भने रायबरेली सिट सुरक्षित नै मानिएको छ । भाजपाले गान्धीविरुद्ध भोजपुरी गायक दिनेशलाल यादवलाई मैदानमा उतारेको छ । त्यस्तै लखनउ लोसकभा सिटबाट उम्मेदार छन् गृहमन्त्री राजनाथ सिंह ।


समाजवादी पार्टीले सिंहका विरुद्ध बलिउड अभिनेता तथा राजनीतिज्ञ शत्रुध्न सिन्हाकी श्रीमती पुनम सिन्हालाई मैदानमा उतारेको छ । यस पटकको चुनावमा मुस्लिम समुदाय भाजपाको कट्टर हिन्दुत्वको छविका कारण रुष्ट देखिए पनि लखनउका स्थानीय सिया मुस्लिम समुदाय विगतदेखि नै राजनाथ सिंहको पक्षमा रहँदै आएका छन् । त्यसले गर्दा पनि राजनीतिका भेट्रान खेलाडी सिंहलाई जित हासिल गर्न खासै असहज हुने देखिँदैन ।


यस पटकको चुनावमा भारतीय जनता पार्टी नेतृत्वको सत्तारूढ गठबन्धन संयुक्त लोकतान्त्रिक गठबन्धन (एनडीए) र भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठन (यूपीए) बीच तीव्र प्रतिस्पर्धा छ । राजनीतिक विश्लेषकहरूले यो चुनाव सन् २०१४ मा ऐतिहासिक बहुमतसहित सरकारको नेतृत्व सम्हालेको प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको परीक्षासमेत भनेका छन् ।

प्रारम्भिक मत सर्वेक्षणहरूले पनि एनडीएले अर्को पाँच वर्षका लागि सत्ताको नेतृत्व गर्ने भविष्यवाणी गरेका छन् । ११ अपि्रलमा पहिलो चरणसँगै सुरु भएको १७ औं लोकसभाको चुनाव १९ मेमा हुने सातौं चरणको मतदानसँगै सम्पन्न हुनेछ । मतगणना २३ मेमा गरिनेछ ।

प्रकाशित : वैशाख २३, २०७६ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?