१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

रोयटर्सका पत्रकार रिहा

रोयटर्स

याङ्गुन — गोप्यतासम्बन्धी ऐन उल्लंघनमा दोषी ठहर पछि जेल चलान गरिएका म्यान्मारका पत्रकार मंगलबार रिहा गरिएको छ । समाचार संस्था रोयटर्सका पत्रकारद्वय वा लोन र क्यावो सोय ओओ ५ सय दिनभन्दा बढी कारगारमा बिताएर रिहा भएका हुन् । 

रोयटर्सका पत्रकार रिहा

३३ वर्षीय लोन र २९ वर्षीय ओओलाई गोप्य सरकारी कागजात सार्वजनिक गरेको ठहर गर्दै सन् २०१७ को डिसेम्बरमा पक्राउ परेका थिए । उनीहरूलाई सन् २०१८ को सेप्टेम्बरमा ७ वर्षको कैद सुनाइएको थियो । उक्त मुद्दापछि कूटनीतिक तथा मानव अधिकारको क्षेत्रमा म्यान्मार सरकारको कडा आलोचना भएको थियो ।


म्यान्मारमा ६ हजार ५ सय २० कैदीलाई रिहा गर्ने क्रममा ती पत्रकारलाई पनि रिहा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति विन मिन्टले म्यान्मारको परम्परागत नयाँ वर्षको अवसरमा गत महिनादेखि २३ हजार १९ कैदीलाई माफीको घोषणा गरेका थिए ।


समाचार संस्था रोयटर्सले पत्रकारद्वयले कुनै गल्ती नगरेको भन्दै पटकपटक उनीहरूको रिहाइको माग गर्दै आएको थियो । रिहा भएलगत्तै पत्रकार तथा आफन्तहरूबीच कुरा गर्दै वा लोनले ‘आफूहरूको रिहाइका लागि गरिएको अन्तर्राष्ट्रिय पहलप्रति अनुग्रहित रहेको’ बताए ।


‘म मेरो परिवार र सहकर्मीलाई देख्न पाउँदा निकै खुसी छ । म पुनः पक्रकारितामा सत्रिय हुनका लागि कुनै समय खेर जान दिन चाहन्नँ,’ लोनले भने । लोनले त्यसो भनिरहँदा सोय ओओ भने मुस्कुराइरहेका थिए ।


पत्रकारद्वयलाई उनीहरूका श्रीमती र बालबालिकासँग भेट गराउन रोयटर्सका सहकर्मीहरूले गाडीमा पुर्‍याएका थिए ।


सन् २०१७ मा पक्राउ पर्नुअघि पत्रकारद्वयले सुरक्षा फौजद्वारा मारिएका १० रोहिंग्या मुस्लिमको हत्याबारे अनुसन्धानात्मक समाचार तयार पारेका थिए ।


उनीहरू समाचार प्रकाशन गर्नुपूर्व दुई प्रहरीबाट एक रेस्टुरेन्टमा कागजात लिएलगत्तै पक्राउ गरिएको थियो । प्रत्यक्षदर्शीका अनुसार पत्रकारलाई पक्राउ गर्नका लागि कागजात दिने षड्यन्त्र रचिएको हो ।


उक्त घटनापछि सरकारी अधिकारीले १० रोहिंग्याको हत्यामा दोषीलाई कारबाही गर्ने प्रतिबद्धतासहित छानविन सुरु गरेका थिए । हत्यामा दोषी ठहर ७ सैनिक जवान हाल कारागारमा छन् ।


पीडक, प्रत्यक्षदर्शी, पीडितका परिवारका सदस्यको भनाइका आधारमा लोन र ओओले तयार पारेको समाचारले अन्तर्राष्ट्रिय विधाको पुलित्जर पुरस्कारसमेत जितेको थियो ।

म्यान्मारको राखिने राज्यमा सन् २०१७ को अगस्टदेखि भडकेको हिंसाका कारण सयौं रोहिंग्या मारिएका थिए । हिंसाका कारण विस्थापित कम्तीमा ७ लाख ३० हजार बंगलादेशमा छन् ।


संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले पत्रकारद्वयको रिहाइको समाचारले आफूलाई खुसी लागेको बताएका छन् । त्यसैगरी, म्यान्मारस्थित अमेरिकी दूतावासले पनि पत्रकार रिहाइको स्वागत गरेको छ । गत अगस्टमा आफूहरू निर्दोष रहेको दाबीसहित रिहाइका लागि पत्रकारले गरेको पुनरावेदन अस्वीकार गरेको थियो ।

प्रकाशित : वैशाख २५, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?