कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतीय लोकसभा चुनाव : उत्तरप्रदेशमा मोदीविरोधी लहर

मनोज पौडेल

बढनी, भारत — भारतको उत्तरप्रदेशस्थित सिद्धार्थनगर जिल्ला ढेबरुवाका इस्तियाक अहमद छैटौं चरणअन्तर्गत मे १२ मा हुने मतदानको व्यग्र प्रतीक्षामा छन् । उनी यसपटक सरकारको नेतृत्व परिवर्तनको पक्षमा छन् । मतदातबाट नयाँ प्रधानमन्त्री चुन्न आतुर रहेको उनले बताए ।

भारतीय लोकसभा चुनाव : उत्तरप्रदेशमा मोदीविरोधी लहर

‘मुलुकमा भ्रष्टाचार बढ्यो,’ उनले भने, ‘बेरोजगारीले सीमा नाध्यो ।’ धार्मिक प्रचारलाई सत्तामा उक्लिने माध्यम बनाइएकोमा यसपटक रोक्ने उनले दाबी गरे । मुलुकभर मोदीविरोधी जनमत बढेको उनले दाबी गरे ।

सिद्धार्थनगरकै बढनीका राजु शाही भने भारतको भविष्यका लागि मोदी पुनः विजयी हुनुपर्ने बताउँछन् । उनले भने, ‘नरेन्द्र मोदीको राष्ट्रभक्ति र विकासले विजय हासिल गर्छ ।’ मोदी विकासप्रेमी भएकाले त्यसले चुनावमा प्रभाव पारेको उनले दाबी गरे । ‘यो अवसरबाट चुक्नहुन्न,’ उनले भने, ‘गुजरात मोडल ल्याएर मोदीले भारत समृद्ध बनाउँछन् ।’

लोकसभाको छैटौं चरण चुनाव मे १२ मा हुँदै छ । कपिलवस्तु, रुपन्देही र दाङ सीमासँग जोडिएको उत्तरप्रदेशमा निर्वाचन हुनेछ । मतदाता मतदानको प्रतीक्षामा छन् । ‘नयाँ भारत बनाउने अभियान हो,’ बढनीका दीपेन्द्र मद्धेशियाले भने, ‘त्यहीँ भएर उत्सहित छौं । पक्ष/विपक्षमा लागेका छैनौं ।’ राम्रो काम गर्ने उम्मेदवार छानेर मतादान गर्ने उनले बताए । सातौं तथा अन्तिम चरणको चुनाव मे १९ मा हुनेछ ।

सिद्धार्थनगर जिल्ला एउटै लोकसभा क्षेत्र हो । यसको नाम डुमरियागंज लोकसभा सिट हो । यहाँ १ हजार ६ सय मतदान केन्द्र छन् । तिनमा २ हजार २ सय ४८ मदतान स्थल छन् । यहाँ १६ हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिने प्रशासनले जनाएको छ । यहाँ विभिन्न दलबाट १० प्रत्यासी छन् । १८ लाख ८५ हजार १ सय ९१ मतदाता छन् ।

सीमाक्षेत्रको सुरक्षामा कडाइ

निर्वाचन नजिकिँदै गर्दा सुरक्षा व्यवस्था कडा बनाइएको छ । सीमा क्षेत्रमा निगरानी बढाइएको छ । ‘ग्रामीण र सहरी बस्तीका ठाउँठाउँमा चेकजाँच थालिएको छ,’ सिद्धार्थनगरका प्रहरी अधिक्षक डा. धर्मवीर सिंहले बताए । मुख्य र सहायक मार्गमा पनि आकस्मिक जाँच भइरहेको उनले बताए । सीमा नाका अलिगढवा, कक्ररहवा, खुनुवा, बढनी र कोइलाबासमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । नेपाल ओहोरदोहोर गर्ने व्यक्ति र सावरीसाधानलाई विषेश चेकजाँच गरिएको छ ।

‘नेपाली समकक्षीलाई सुरक्षा सतर्कता बढाउन आग्रह गरेका छौं,’ उनले भने, ‘उताबाट पनि सहयोगको प्रतिबद्धता आएको छ ।’ ठाउँठाउँमा नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्त गस्ती गरिरहेको उनले बताए । चुनाव लक्षित गरी भारतीय सुरक्षाकर्मीले चोक, बजार र संवदेनशील ठाउँमा विषेश सुरक्षा योजना बनाएका छन् ।

सुरक्षालाई मध्यनजर गरी पूरै जिल्लालाई २० जोन र २ सय ९ सेक्टरमा बाँडिएको छ । ७ चरणका लागि तय गरिएको चुनावको दुई चरण बाँकी छन् । मे १९ मा सम्पन्न हुने चुनावको मतगणना मे २३ मा गरिनेछ ।

प्रकाशित : वैशाख २५, २०७६ ०९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?