२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

ब्रेक्जिट विवाद : राजीनामा मागपछि मे दबाबमा

नवीन पोखरेल

लन्डन — बेलायत युरोपेली संघबाट बाहिरिने सम्झौता (ब्रेक्जिट) समयसीमा थप गरिएको मिति नजिकिँदै गर्दा बेलायती प्रधानमन्त्री टेरेजा मे थप दबाबमा परेकी छन् । 

ब्रेक्जिट विवाद : राजीनामा मागपछि मे दबाबमा

प्रधानमन्त्री मेले ब्रेक्जिटबारे पेस गरेको सम्झौता पटकपटक अस्वीकृत भइसकेको छ । ब्रेक्जिट मुद्दाको टुंगो लगाउन असफल रहेको भन्दै आफ्नै पार्टीका सांसदहरूले उनको राजीनामा माग गरेका छन् । कन्जरघभेटिभ सांसद ग्राहम ब्राडीले प्रधानमन्त्रीलाई पद त्याग्ने मिति घोषणा गर्नुपर्ने समय आएको बताए । उनले प्रधानमन्त्रीले पद नत्यागे आगामी जुन १५ मा पार्टीमा उनको नेतृत्वप्रति प्रश्न उठाउने बताएका छन् ।


सत्तारुढ कन्जरभेटिभका प्रभावशाली सांसद जियोफ्री किलिफ्टन ब्राउनले मे २३ मा हुने युरोपेली निर्वाचनपछि प्रधानमन्त्रीले पद त्याग्ने घोषणा गर्नुपर्ने माग गरेका छन् ।


मेले आइतबार विपक्षी दल लेबर नेता जेरेमी कोर्बिनलाई आपसी मतभिन्नता पन्छाउँदै ब्रेक्जिटमा सहमति जनाउन पुनः आग्रह गरेकी थिइन् । प्रधानमन्त्री मेले ब्रेक्जिट सम्झौता संसदबाट पारित गराउन विपक्षी दलको सहयोग खोज्ने क्रममा यस्तो अपिल गरेकी हुन् ।


लेबर नेता जोन म्याकडोनेलले मेको ब्रेक्जिटबारे अधिकांश सांसद दोस्रो जनमतसंग्रहको पक्षमा रहेको दाबी गर्दै त्यो नै उत्तम विकल्प हुन सक्ने बताएका छन् । लेबर तथा कन्जरभेटिभ दलबीच मंगलबार वार्ता हुने जनाइएको छ ।


बेलायतले गत मार्च २९ मा ईयू छाड्नुपर्ने थियो तर सांसदहरूले प्रधानमन्त्रीको सम्झौता तीन

पटक अस्वीकार गरिदिएपछि अक्टोबर ३१ भित्र ईयू छाड्ने नयाँ मिति तोकिएको छ ।


लन्डनबाट प्रकाशित हुने ‘डेली मेल’ समाचारपत्रमा एक लेख लेख्दै उनले गत बिहीबार भएको स्थानीय चुनावमा बेलायती मतदाताले दिएको सन्देश बुझ्न पनि आग्रह गरेकी छन् ।


स्थानीय निर्वाचनमा सत्तारूढ कन्जरभेटिभले १ हजार ३ सय ३४ काउन्सिलर पद गुमाएको छ भने लेबर पार्टीले ८२ स्थान गुमाएको छ । तेस्रो ठूलो दल लिबरल डेमोक्र्याटले ७ सय ३ स्थान थप गरेको छ । त्यस्तै ग्रिन र स्वतन्त्र उम्मेदवारले पनि स्थान बढाएका छन् ।


प्रधानमन्त्रीले ब्रेक्जिटबारे समयमै निर्णय लिन नसकेकाले चुनावमा त्यस्तो नतिजा आएको स्वीकार गरिन् । प्रधानमन्त्री मे भन्सार तथा श्रमिकहरूको हितलगायत विषयमा सम्झौता गर्न तयार रहेको बताइएको छ तर यसको पुष्टि भइसकेको छैन । सन् २०१६ जुनमा भएको जनमतसंग्रहमा बहुमत बेलायतीले ईयूबाट अलग्गिने पक्षमा मत दिएयता सुरु ब्रेक्जिट प्रक्रिया अझै टुंगोमा पुग्न सकेको छैन ।


५ सय २४ दिन लामो छलफलपछि युरोपेली आयोगको गत २५ नोभेम्बरमा बेल्जियमको ब्रसेल्समा आयोजित सम्मेलनमा प्रधानमन्त्री मेले प्रस्तुत गरेको ५८५ पृष्ठ लामो ब्रेक्जिट प्रस्ताव ईयूका २७ राष्ट्रप्रमुखले स्विकारेका थिए । पछि २६ पेजको राजनीतिक घोषणामा सैद्धान्तिक सहमतिसमेत बनेको थियो ।


५८५ पृष्ठ लामो दस्तावेजमा बेलायतले युरोपेली संघ छोडदा पारपाचुके सम्झौता (डिभोर्स डिल) अन्तर्गत ३९ अर्ब पाउन्ड तिर्नुपर्ने, ईयू र यूके नागरिकका हकअधिकार सुनिश्चित गर्नुपर्ने र भविष्यमा व्यापारसम्बन्धी वार्ता रोकिए पनि उत्तरी आयरल्यान्ड र आयरल्यान्डबीचको सीमा नरोकिने जस्ता कुरा उल्लेख छन् । हाल बेलायतमा ३० लाख ईयू देशका नागरिक र युरोपेली मुलुकमा करिब १० लाख बेलायती रोजगारीमा रहेको विश्वास छ ।


यसैबीच, प्रधानमन्त्री मे ब्रेक्जिटबारे संसदले दोस्रो जनमतसंग्रहको निर्णय गर्ने आकलनपछि गोप्य छलफलमा जुटेकी जनाइएको छ । बेलायती अखबार डेली टेलिग्राफ अखबारका अनुसार प्रधानमन्त्री मेले विपक्षी लेबर नेताहरूसँगको बैठकपछि आफ्ना सहयोगी तथा निकटस्थसँग जनमतसंग्रहबारे गोप्य छलफल गरेकी हुन् ।


मेले दोस्रो जनमतसंग्रहबारे संसदमा हुने मतदानमा सरकार असफल भए के गर्ने भन्नेबारे योजना बनाउनसमेत छलफल चलाएकी बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।


प्रकाशित : वैशाख २५, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?