१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

राहुल गान्धीको नागरिकता सम्बन्धी मुद्दा सर्वोच्चद्वारा खारेज

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय राष्ट्रिय कंग्रेस अध्यक्ष राहुल गान्धी बेलायती नागरिक भएको दाबीसहित परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । प्रधानन्यायाधीश रञ्जन गगोईसहितको संयुक्त इजलासले बिहीबार दिल्ली निवासी जय भगवान् गोयल र सिपित्यागीले दायर गरेका रिट खारेज गरेको हो ।

राहुल गान्धीको नागरिकता सम्बन्धी मुद्दा सर्वोच्चद्वारा खारेज

उनीहरुले राहुलसँग भारतीय नागरिकता नभएको दाबी गर्दै लोकसभा चुनावी प्रक्रियामा भाग लिन प्रतिबन्ध लगाइनुपर्ने माग राख्दै रिट हालेका थिए । रिटमा राहुल सञ्चालक रहेको एउटा बेलायती कम्पनीको सन् २००५/०६ को वाषिर्क प्रतिवेदनमा उनी बेलायती नागरिक भएको उल्लेख भएको हुँदा निर्वाचन प्रक्रियामा सहभागी हुन रोक लगाउन माग गरिएको थियो । भारतको संविधानले कुनै पनि विदेशी नागरिकलाई राजनीतिक पार्टीको प्रतिनिधित्व गर्न बन्देज लगाएको छ ।


तर सर्वोच्चले आफ्नो कुनै कम्पनीले आफ्नो वाषिर्क प्रतिवेदनले बेलायती भनेको आधारमा नागरिकता लिएको भन्न नमिल्ने प्रश्न गर्दै रिट खारेजको फैसला गरेको हो । प्रधानन्यायाधी गोगई, न्यायाधीशद्वय दीपक गुप्ता र सञ्जीव खन्नाको संयुक्त इजलासको फैसलासँगै राहुलको बेलायती नागरिकतासम्बद्ध विवाद तत्कालका अन्त्य भएको छ ।

गतसाता भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता सुब्रमण्यम स्वामीले विभिन्न दस्तावेजसहित दिएको उजुरीको आधारमा गृह मन्त्रायलयले गान्धीसँग पन्ध्र दिनभित्र बेलायती नागरिकता सम्बन्धमा प्रस्ट पार्न आग्रह गर्दै पत्र लेखेको थियो । स्वामीले आफ्नो उजुरीमा गान्धी सन् २००३ मा बेलायतमा दर्ता भएको ब्याकअप्स लिमिटेडको सञ्चालक र सचिव रहेको दाबी गरेका थिए ।


गृह मन्त्रालयले पत्र काटेपछि कंग्रेसले पत्रकार सम्मेलन गर्दै सुब्रमण्यमको उजुरी दुराशयपूर्ण भएको बताएको थियो । 'सन् २०१४ मा उठाइएको विषय सर्वोच्च अदालतले यसअघि नै खारेज गरिसकेको हुनाले पछिल्लो कदमले भाजपाको दुर्भावना र पराजित मानसिकता उजागर भएको छ,' पार्टी कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा रन्दीपसिंह सुर्जेवालाले भनेका थिए ।


त्यसैगरी, पार्टीकी महासचिव तथा राहुलकी दिदी पि्रयंका गान्धी बाड्राले नागरिकतासम्बन्धी विवाद वाहियात भएको बताएकी थिइन् । भाजपा वरिष्ठ नेता स्वामीले गान्धीको नागरिकतामाथि प्रश्न उठाएको यो पहिलो पटक भने होइन । उनले २०१६ मा गान्धी बेलायती नागरिक भएको भन्दै छानविनको माग गरेका थिए । २०१७ मा उनले फेरि गृहमन्त्रीलाई राहुलको बेलायती नागकिरताबारे छानविन गर्न भन्दै लिखित निवेदन दिएका थिए । त्यसअघि २०१५ मा टवीट गर्दै स्वामीले राहुल इटालियन राहदानीमा विभिन्न मुलुकको भ्रमण गर्ने गरेको आरोप लगाएका थिए ।

स्वामीले राहुलको मात्र नभई उनकी आमा सोनिया गान्धीको नागरिकतालाई लिएर पनि विगत लामो समयदेखि प्रश्न उठाउँदै आएका छन् । सन् २००४ को चुनावमा कंग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबन्धनले सरकार बनाउने मौका पाएको थियो । त्यति बेला यूपीए प्रमुखका हैसियतले कंग्रेस अध्यक्ष सोनिया गान्धी प्रधानमन्त्री बन्ने प्रवल सम्भावना थियो ।

तर, तत्कालीन जनता पार्टीका अध्यक्ष स्वामीले नै सोनिया इटालीको नागरिक भएको आरोप लगाउँदै राष्ट्रपतिसमक्ष निवेदन दिएका थिए । त्यसलाई लिएर भाजपाले पनि चर्को विरोध गरेको थियो । विवादका कारण सोनिया आफंैले प्रधानमन्त्री नबन्ने घोषणा गरिन् र सबैलाई आश्चर्यमा पार्दै पूर्वअर्थमन्त्री मनमोहन सिंहलाई प्रधानमन्त्रीका रूपमा अगाडि सारिन् । उक्त कदमपछि केही शान्त देखिएका स्वामीले राहुलको नागरिकतालाई लिएर फेरि प्रश्न उठाएका हुन् ।

प्रकाशित : वैशाख २६, २०७६ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?