कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जर्जियामा गर्भपतन कानुनको विरोध

महिलालाई 'सेक्स स्ट्राइक' गर्न आग्रह
एजेन्सीहरू

एटलान्टा, जर्जिया — दक्षिणपूर्वी अमेरिकी राज्य जर्जियामा गर्भपतन कानुनविरुद्ध यौन हडताल (सेक्स स्ट्राइक) को आह्वान गरिएको छ । अभिनेत्री तथा 'मीटू' अभियानकर्मी एलिस्सा मिलानोले महिलालाई यौन हडतालका लागि आह्वान गरेको बीबीसीले जनाएको छ ।

जर्जियामा गर्भपतन कानुनको विरोध

उनले टवीट गर्दै लेखेकी छन्, 'महिलालाई आफनै शरीरमाथि कानुनी रूपमा नियन्त्रण नभएसम्म गर्भको खतरा मोल्न सकिन्न ।' गर्भपतनमा कडाइ गर्ने कानुन ल्याउने जर्जिया पछिल्लो राज्य बनेको छ ।


मिलानोको ट्वीटपछि सामाजिक सञ्जालमा यसबारे विचारहरू विभाजित भएको देखिन्छ । अमेरिकामा ट्वीटमाथि 'ह्यासट्याग सेक्स स्ट्राइक' ट्रेन्डिङमा ठूलो बहस सुरु भएको छ । मिलानोले शनिबार गरेको आह्वान चाँडै 'ह्यासटयाग सेक्स स्ट्राइक' ट्वीटरमा ट्रेन्डिङ भएको थियो । उनले ट्वीट गरेको केही घण्टामै १२ हजार पटक रि-ट्वीट र ३५ हजारभन्दा बढीले 'लाइक' गरिसकेका छन् ।


प्रतिबन्धात्मक गर्भपतन विधेयक कार्यान्वयनमा आए ५० जना चलचित्रकर्मीले राज्यमा फिल्म र टेलिभिजन कार्यक्रम उत्पादन बहिष्कार गर्ने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यसमा मिलानो, एमी स्कुम्बर, क्रिस्टिना एल्लेगेट, एलेक बाल्विन र सिन पेन्नलगायत छन् ।


यस कानुनका पक्षपातीहरूले 'सेक्स स्ट्राइक' को आलोचना गर्दै यो विचार पुरुषलाई सेक्सले मात्रै खुसी तुल्याउने जस्तो गरी आएको भन्दै प्रतिक्रिया दिएका छन् । जनवरी १ बाट लागू हुने कथित 'हटबिट' कानुनमा जर्जियाका गभर्नर ब्राइन केम्पले मंगलबार हस्ताक्षर गरेका छन् । गर्भावस्थाको करिब ६ सातामा भ्रूणसम्बन्धी परीक्षण गर्न कानुनले रोक लगाएको छ । कतिपय महिलालाई ६ सातासम्म आफू गर्भवती भएको थाहै हुँदैन । यसबारे नौ सातापछि बल्ल जानकारी हुने महिला अधिकारकर्मीले बताएका छन् ।


जर्जियामा गर्भपतनमाथि प्रतिबन्ध लगाउने कानुनले अदालतमा चुनौतीको सामना गर्नुपर्ने देखिएको छ । एक जना संघीय न्यायाधीशले केन्टकीमा यस प्रकारको कानुनमाथि रोक लगाएको थियो । उक्त कानुन त्यहाँ तत्कालै लागू हुने बताइएको थियो । मिसिसिपीमा पनि मार्चमा यस्तै खालको कानुन पारित गरिएको थियो ।


त्यो जुलाईसम्म पनि कार्यान्वयनमा आउन सकेन । त्यहाँ पनि चुनौतीको सामना गर्नु परिरहेको छ । सन् २०१६ मा ओहियो राज्यले पनि यस्तै प्रकारको प्रतिबन्धात्मक कानुन पारित गरेको थियो, जसमा गभर्नरले भिट्टो प्रयोग गर्नुपरेको थियो ।

प्रकाशित : वैशाख २९, २०७६ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?