१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

लन्डनमा बुद्ध जयन्ती मनाइयो

लन्डन — लन्डनको ट्राफलगर स्क्वायर अचेल ब्रेक्जिट विरोध अनि समर्थन र्‍यालीले भरिरहन्छ । प्रदर्शनकारीले बेलायत र ईयूका झन्डा फहराइरहने उक्त स्थान आइतबार साँझ भने नेपाली झन्डा, ध्वजापतका र बुद्धका पोस्टरले भरिएको थियो ।

नेपाली गीतसंगीत घन्किए अनि मौलिक नेपाली नाचमा कलाकारले विदेशीको ध्यान खिचे । भैरव, लाखे नाचदेखि कुमारी परम्पराको एउटा प्रदर्शन विदेशी आकर्षित गर्ने थप आइटम थिए । फूलको आँखामा..., रेशम फिरिरी...पनि घन्किए त्यहाँ ।


अवसर थियो, बुद्धजयन्ती । बुद्ध फाउन्डेसन यूके र कपिलवस्तु समाज यूकेले लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र गैरआवासीय नेपाली संघ बेलायतलगायतको सहकार्यमा बुद्धजयन्ती मनाएका हुन् । जहाँ छन् बुद्धका आँखा... गायिका शर्मिला बर्देवाको सुमधुर स्वरले माहोल एकाएक तात्यो ।


बर्देवासहित शर्मिला सिंह र सोनम उनेमको अर्को गीत ‘यो नेपाली शिर उचाली...’ ले एकपटक फेरि विदेशी भूमिमा नेपाली भावना जागृत गराएको महसुस दर्शकले गरे । करिब ५ सय हाराहारी नेपाली र केही विदेशी सहभागी ऊक्त कार्यत्रममा धार्मिक पूजा, शान्तिदीप प्रज्वलन, गौतम बुद्ध र लुम्बिनीसम्बन्धी प्रिजेन्टेसन साथै पर्यटन फ्रवर्द्धनात्मक कार्यक्रम गरियो ।


समारोहलाई सम्बोधन गर्दै कार्यत्रमका प्रमुख अतिथि तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्राडा.दयरत्न बज्राचार्यले भगवान् बुद्धको जन्मस्थान लुम्बिनीबाट शान्ति, अहिंसा र मैत्रीको सन्देश लिएर आफू बेलायत आएको बताए । उनले सन् २००४ मा स्थापित विश्वविद्यालयले विश्व शान्ति, सामन्जस्य र बुद्धको सन्देशको प्राज्ञिक प्रवर्द्धनका लागि काम गरिरहेको बताए । उनले अक्सफोर्डलगायत बेलायतका विभिन्न विश्वविद्यालयमा बौद्धधर्म र दर्शनका विषयमा पढाइ भैरहेको थाहा पाउँदा आफूलाई खुसी लागेको बताउँदै ती विश्वविद्यालयहरूसंग सहकार्य गर्न आफूहरू तयार रहेको पनि बताए ।


नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले गौतम बुद्धको जन्म नेपालमै भएको हो भन्ने विषयमा अब कुनै शंका नरहेको बताउँदै लुम्बिनीको योजनाबद्ध विकासका लागि संयुक्त राष्ट्रसंघले सघाउँदै आएको जनाए ।


उनले युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीलाई विश्वकै शान्ति, अहिंसा र सहअस्तित्वको केन्द्रको रूपमा विकास गर्न नेपाल सरकारले काम गरिरहेको जनाए । उनले आउँदो वर्ष बेलायतबाट १ लाख पर्यटक भित्र्याएर नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न आहृवान पनि गरे ।

प्रकाशित : वैशाख ३१, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?