कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बेलायतमा ईयू संसद् चुनावको सरगर्मी

नवीन पोखरेल

लन्डन — युरोपेली संसद्को आउँदो २३ मेमा हुने चुनावको सरगर्मीले बेलायतलार्ई समेत छोएको छ । युरोपेली संघ (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) मिति अक्टोबर अन्त्यसम्म बढाइएपछि युरोपेली संसद्का लागि चुनाव हुन लागेको हो ।

बेलायतमा ईयू संसद् चुनावको सरगर्मी

पूर्वनिर्धारित योजनाअनुसार गत २९ मार्चमा बेलायतले ईयू छाडेको भए बेलायतमा युरोपेली संसद्को चुनाव नहुने प्रधानमन्त्री टेरेजा मेले बताएकी थिइन् तर यसबारे अहिलेसम्म कुनै निर्णय हुन नसकेपछि बेलायत युरोपेली संसद्को चुनावमा होमिनुपरेको हो ।


युरोपेली संसद्का ७ सय ५१ सांसदमध्ये बेलायतबाट ७३ निर्वाचित हुन्छन् । युरोपेली संघका सदस्य मुलुकमा हरेक ५ वर्षमा यो चुनाव हुने गर्छ । बेलायतमा बसोबास गर्ने ईयू, कमनवेल्थ तथा आइरिस नागरिकले यस चुनावमा भोट हाल्न पाउँछन् । चुनावको नतिजा मे २६ मा आउने बताइएको छ ।


बेलायतमा १२ क्षेत्रको समानुपातिक प्रतिनिधित्व हुने गरी मतदानको व्यवस्था छ तर उत्तरी आयरल्यान्डमा भने उम्मेवारीका आधारमा चुनाव हुनेछ ।


दुई सातापछि चुनाव हुन लागेको भए पनि बेलायत ब्रेक्जिट प्रक्रियामार्फत ईयूबाट बाहिरएलगत्तै ईयूमा प्रतिनिधित्व गर्ने बेलायती सांसदको म्याद पनि स्वतः सकिन्छ । यसअघि सन् २०१४ को ईयू चुनावमा बेलायतको करिब १५ अर्ब रुपैयाँ खर्च भएको थियो ।

यसपटक बेलायतका प्रमुख दलहरू कन्जरभेटिभ, ब्रेक्जिट पार्टी, लेबर, चेन्ज यूके, ग्रिन पार्टी, लिबरल डेमोक्र्याट र युकिप मैदानमा उत्रिएका छन् ।


प्रारम्भिक मत सर्वेक्षणमा वर्तमान सत्तारूढ दल कन्जरभेटिभ भारी मतान्तरले पराजय हुने आकलन गरिएको छ । हालै मात्र स्थापित कट्टर ईयू आलोचक नेता नाइजल फराजको ब्रेक्जिट पार्टीले निकै बढी मत पाउने युरोपको चर्चित समाचार संस्था ‘पोलिटी’ को सर्वेक्षणले देखाएको छ । सन् २०१६ को जनमत संग्रहमा नेता फराजले ईयू बहिर्गमनका पक्षमा प्रमुख भूमिका निर्वाह गरेका थिए ।


प्रधानमन्त्री मेले आफ्नै पार्टीका ईयूविरोधी सांसदहरूको इच्छाविपरीत प्रमुख प्रतिपक्षी लेबर पार्टीसँग ब्रेक्जिट सहमतिका लागि वार्ता गरेपछि सत्तारूढ दल थप विभाजित भई ब्रेक्जिट पार्टीमा आकर्षित भएको विश्लेषण ब्रेक्जिटलाई सुरुदेखि नै नियालिरहेका लन्डनस्थित अर्थ व्यवस्थापन विज्ञ विकलचन्द्र आचार्यको छ ।


ईयूसँग निकट सम्बन्ध राख्ने मूल नीति रहेको लेबर पार्टीका ईयूविरोधी शक्तिले पनि ब्रेक्जिट पार्टीलाई समर्थन गर्ने भएकाले प्रमुख दुई दल लेबर र कन्जरभेटिभको जनमत यसपटक कमजोर भएको हो ।


बेलायत र ईयूबीच गत नोभेम्बरमा भएको सहमति बेलायती संसद्ले पटकपटक अस्वीकार गरेपछि ब्रेक्जिट समयावधि बढाइएको थियो । बेलायत कस्तो समझदारीमा ईयूबाट निस्कने भन्ने कुरा यकिन हुन बाँकी नै छ ।


सन् २०१६ मा भएको जनमत संग्रहमा ईयू छोडेकाको प्रभावबारे बेलायतमा राम्ररी बहस नभएको भन्दै दोस्रो जनमत संग्रह गर्नुपर्ने माग पनि बढेको छ तर ईयूविरोधीहरू भने जनमत संग्रहको परिणामको अपमान भएको भन्दै ईयू कमन मार्केट एवं भन्सार संघबाट बेलायत बाहिरिनु नै उत्तम भएको जिकिर गर्दै आएका छन् ।


बेलायतले आफ्नो नियमकानुन आफैं बनाई स्वतन्त्र रूपले अरू देशसँग व्यापारिक सम्बन्ध बढाउन सक्ने दाबी उनीहरूको छ । व्यापार, सुरक्षालगायत थुप्रै क्षेत्रमा निकट सम्बन्ध रहेको ईयूसँग बिनासम्झौता बाहिरिँदा बेलायती अर्थतन्त्रमा प्रतिकूल असर पर्ने ईयू समर्थकले बताउँदै आएका छन् । यसपटक बेलायती जनताले कुन रूपमा ईयू संसद्मा मत हाल्नेछन्, त्यसको कौतुहल बढेको छ ।

प्रकाशित : वैशाख ३१, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?