कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फेरि चर्चामा ऐय्यर

सुरेशराज न्यौपाने

नयाँदिल्ली — लामो समयदेखि गुमनाम रहेका भारतीय राष्ट्रिय कंग्रेसका नेता मणिशंकर ऐय्यर पुनः एक पटक भारतीय राजनीतिमा विवादित बन्न पुगेका छन् । मंगलबार राइजिङ कश्मीरमा प्रकाशित लेखमार्फत ७ डिसेम्बर २०१७ मा मोदीविरुद्ध गरेको टिप्पणीको बचाउ गरेपछि पूर्वकेन्द्रीय मन्त्रीसमेत रहेका ऐय्यर विवादमा तानिएका हुन् । 

फेरि चर्चामा ऐय्यर

सन् २०१७ को गुजरात विधानसभा चुनावको अभियान चलिरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘निच आदमी’ संज्ञा दिएका थिए । त्यसपछि पार्टीले उनलाई दुई वर्षका लागि निलम्बन गरेको थियो । तर गत वर्ष अगस्टमा उक्त निलम्बन फिर्ता लिएको थियो । मंगलबारको लेखमा उनले मोदीले चुनावीका अभियानका लागि भारतीय सेनाको अपमान गरेको भन्दै दुई वर्षअघि ‘निच आदमी’ को टिप्पणी कालान्तरमा सही सावित भएको उल्लेख गरेका छन् ।


उनले आफ्नो भविष्यवाणी मिलेको अब मोदीका लागि दस दिन मात्र बाँकी रहेको दाबी गरेका छन् । ऐय्यरको यो लेख प्रकाशित भएसँगै भाजपाले कंग्रेसविरुद्ध कडा प्रहार सुरु गरेको छ । प्रवक्ता जीभीएल नरसिंहा रावले टवीट गर्दै ‘त्यति बेला आफ्नो भनाइका लागि माफी माग्ने अनि अहिले आएर आफुलाई भविष्यबेत्ता भन्नुले कंग्रेसको दोहोरो चरित्र प्रस्ट हुन्छ ।’


पूर्वकेन्द्रीय मन्त्रीसमेत रहेका ऐय्यर भारतीय राजनीतिज्ञहरूमध्ये स्पष्ट र खरो वक्ताका रूपमा चिनिन्छन् । राजनीतिका अलावा लेखन र अध्ययनमा निकै नै सक्रिय उनी बेलाबेला तिखाखिता राजनीतिक टिप्पणीकै कारण अप्ठ्यारोमा समेत पर्दै आएका छन् ।

सन् २०१७ को निकै नै प्रतिस्पर्धात्मक ठानिएको गुजरात चुनावमा कंग्रेस हार्नुका पछाडि ऐय्यरको उक्त अभिव्यक्ति प्रमुख कारण मानिएको थियो । चुनाव प्रचारका क्रममा सत्तारुढ दल भारतीय जनता पार्टी र मोदीले ऐय्यरको उक्त अभिव्यक्तिलाई कंग्रेसविरुद्ध गतिलो हतियारका रूपमा प्रयोग गरेका थिए ।


पाटीकोे कारबाहीपछि ऐय्यर सक्रिय राजनीतिबाट टाढा रहँदै आएका थिए । तर, जारी लोकसभा निर्वाचनको अन्तिम तथा सातौं चरणको मतदानमा बाँकी रहेको अवस्थामा ऐय्यर फेरि एकपटक राजनीतिक विवादमा तानिएका हुन् । ७८ वर्षीय ऐय्यरको अभिव्यक्तिले अन्तिम चरणको मतदानमा असर पर्न सक्ने आँकलन गर्दै कंग्रेसले उनको अभिव्यक्ति पार्टीको भन्दा पनि व्यक्तिगत रहेको बताएको छ ।


मंगलबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा जयवीर सेरगिलले ऐय्यरले विगतमा आफैंले दिएको अभिव्यक्तिको सन्दर्भ दोहोर्‍याएको र त्यो उनको व्यक्तिगत टिप्पणी रहेको हुँदा पार्टीसँग त्यसको कुनै सरोकार नभएको बताएका थिए ।


ऐय्यर विवादमा तानिएको यो पहिलो पटक भने होइन । सन् २०१४ को चुनावअघि पनि ऐय्यरले मोदीलाई चिया बेच्ने हैसियत भएको भन्दै व्यंग्यात्मक टिप्पणी गरेका थिए । जसलाई भाजपा र मोदीले गतिलैसँगै भजाएका थिए ।


भाजपाले ऐय्यरको उक्त टिप्पणीलाई नै समातेर चाय पे चर्चा अभियान चलायो भने मोदीले त्यसपछिका सबैजसो चुनावी र्‍यालीहरूमा आफूलाई चायवालाका रूपमा प्रस्तुत गरे । र त्यस अभियानले मोदीलाई सत्ता पुर्‍याउन सहज बनाएको टिप्पणी गरिएको थियो । कंग्रेसभित्र अझै पनि ऐय्यरले भाजपालाई गतिलो चुनावी हतियार दिएको चर्चा हुने गरेको छ ।

प्रकाशित : जेष्ठ १, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?