१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

फ्लुका कारण यसवर्ष अष्ट्रेलियामा ४२ जनाको मृत्यु

क्विन्सल्याण्ड र दक्षिण अष्ट्रेलियामा महामारी कै रुपमा समस्या
नारायण खड्का

अष्ट्रेलिया — फ्लुका कारण यसवर्ष अष्ट्रेलियामा ४२ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा अधिकांश वृद्धवृद्धा रहेको तथ्यांक सार्वजनिक गरिएको छ । अष्ट्रेलियाको क्विन्सल्याण्ड र दक्षिण अष्ट्रेलियामा मात्र यसवर्ष ज्यान गुमाउनेहरुको संख्या अत्याधिक रहेको छ ।

फ्लुका कारण यसवर्ष अष्ट्रेलियामा ४२ जनाको मृत्यु

हालै सार्वजनिक गरिएको तथ्यांक अनुसार क्विन्सल्याण्डमा २५ जनाले अहिलेसम्म ज्यान गुमाइसकेका छन भने दक्षिण अष्ट्रेलियामा फ्लुकै कारण १७ जनाको मृत्यु भएको छ । ६ वटा राज्य र दुई टेरिटोरी रहेको अष्ट्रेलियाको अन्य राज्य तथा टेरिटोरीको तथ्यांक सार्वजनिक नभइसकेकाले यो संख्या अझ बढ्नसक्ने अनुमान गरिएको छ ।

दक्षिण अष्ट्रेलियामा मात्र यसबाट मृत्यु हुनेहरुमा वृद्धवृद्धा रहेको समाचारमाध्यमहरुले जनाएका छन् । जसका कारण केही वृद्धवृद्धाहरुले जीवन बिताउने ओल्ड एज होमहरु अस्थायी रुपमा बन्द समेत गरिएको छ । प्रमुख स्वास्थ्य अधिकृत प्रोफेसर प्याडी फिलिप्सले वर्षको शुरुवातदेखि अहिलेसम्म विभिन्न ५३ नर्सिङ्गहोमहरु यो रोग देखिइसकेको र १८ वटालाई अस्थायी रुपमा बन्द गरिएको बताएका छन् ।

यसैगरी क्विन्सल्याण्ड हेल्थले सार्वजनिक गरेको तथ्यांक अनुसार फ्लुकै कारण अहिलेसम्म ८ सय बढी बिरामीहरु अस्पतालमा भर्ना भइसकेका छन् भने करिब १० हजारजना यस रोगका कारण बिरामी परेका थिए । अष्ट्रेलियामा यसवर्षको सुरुवातदेखि अहिलेसम्म करिब ४० हजार बिरामीहरु पाइएको समेत जनाइएको छ ।

क्विन्सल्याण्डका प्रमुख स्वास्थ्य अधिकृत डा. जेनेट योङ्गले सबै नागरिकहरुलाई यथासक्य चाँडो फ्लुको भ्याक्सिन लगाउनका लागि आग्रह गरेकी छिन् । उनले फ्लु सामान्य रुघाखोकी जस्तो नभई गम्भिर किसिमको भाइरल रोग भएको बताउँदै भ्याक्सिन नै यो रोगबाट बचाउने सर्वोत्तम उपाय भएको बताइन् ।

अष्ट्रेलियाको अन्य राज्यहरु न्यु साउथ वेल्स, पश्चिम अष्ट्रेलिया लगायतका राज्यहरुमा समेत फ्लुका कारण दर्जनौ बिरामी परेको सञ्चारमाध्यमहरुले जनाएका छन् । हरेक वर्ष मौसमी फ्लुका कारण अष्ट्रेलियामा दर्जनौं नागरिकहरुले ज्यान गुमाउने गरेका छन् । फ्लुबाट बच्नका लागि अष्ट्रेलिया सरकारले नागरिकहरुलाई सहुलियतमा फ्लुको भ्याक्सिन लगाउन पाउने सुविधा समेत दिने गरेको छ भने अधिकांश रोजगारदाताहरुले समेत आफ्ना कर्मचारीहरुलाई निशुल्क भ्याक्सिन दिलाउने गरेका छन् ।


प्रकाशित : जेष्ठ १, २०७६ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?