सुडानमा सेना र विपक्षीबीच सहमति

करिब १२ घण्टाको वार्तापछि दुवै पक्षले संक्रमणकालीन तीनवर्षे अवधिभित्रै सेनाले नागरिकलाई सत्ता हस्तान्तरण गर्ने सहमति भएको घोषणा गरेका छन् । 
एएफपी

खार्तुम — सुडानको सैनिक सत्ता र विपक्षीबीच तीन वर्षभित्र नागरिकलाई सत्ता हस्तान्तरण गर्ने सहमति भएको छ । विपक्षीले सैनिक सत्ता विस्थापन गरी पूर्ण लोकतन्त्रसहित नागरिकको हातमा सत्ता आउनुपर्ने माग गरी महिनौंदेखि प्रदर्शन गरिरहेका छन् ।

सुडानमा २० वर्षदेखि जनरल ओमार अल-बासिरको नेतृत्वमा सैनिक शासन कायम थियो तर सेनाले बसिरलाई पदच्युत गरी आफैंले राष्ट्रिय सैनिक परिषद् गठन गरी सरकार सञ्चालन गरिरहेका छन् । दुवै पक्षबीच अघिल्लो साता सुडानको भावी शासन प्रणालीका बारेमा छलफल भएको थियो । तर एक जना सैनिकको हत्या भएपछि भडकिएको हिंसाका कारण अरू पाँच जना प्रदर्शनकारीको पनि मृत्यु भएको छ । वार्तामा पनि गतिरोध आएको थियो ।


करिब १२ घण्टाको वार्तापछि दुवै पक्षले संक्रमणकालीन तीनवर्षे अवधिभित्रै सेनाले नागरिकलाई सत्ता हस्तान्तरण गर्ने सहमति भएको घोषणा गरेका छन् । सैनिक परिषदका एक सदस्य जनरल यासेर अल-आताले तीन वर्षको संक्रमणकालीन अवधि रहने गरी दुवै पक्षबीच सहमति भएको बताए । जनरल आताले शक्ति बाँडफाँडको विषयसहित आगामी सरकार गठन गर्नेबारे एक दुई दिनभित्रै विपक्षी गठबन्धन एलायन्स फर फ्रिडम एन्ड चेन्जसँग सम्झौता हुने उल्लेख गरे ।


प्रदर्शनमा सहभागी मोहमद अब्दुल्लाहले दुवै पक्षबीच मध्यस्थता भएकामा खुसी व्यक्त गरे तर उनले सैनिक परिषद्सँगको सम्झौतालाई कसरी विश्वास गर्ने भन्दै अझै पनि नागरिक तहबाट खबरदारीको आवश्यकता रहेकामा जोड दिए । सैनिक परिषद्ले आगामी ६ महिनाभित्र सुडानका युद्धग्रस्त क्षेत्रजस्तै डार्फर, ब्लु नाइल र साउथ कर्डोफानमा सक्रिय विद्रोहीसँग शान्तिसम्झौता गर्ने तयारी पनि गरेको छ ।


प्रकाशित : जेष्ठ १, २०७६ २१:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?