१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अमेरिकामा राष्ट्रिय संकटकाल

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सूचना प्रविधि क्षेत्रमा खतरा उत्पन्न भएको बताउँदै बिहीबार राष्ट्रिय संकटकाल घोषणा गरेका छन् । 

अमेरिकामा राष्ट्रिय संकटकाल

अमेरिकी कम्पनीहरूले प्रयोग गर्ने दूरसञ्चार उपकरणहरूले राष्ट्रिय सुरक्षाका लागि जोखिम पुर्‍याउने दाबी राष्ट्रपति ट्रम्पको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार त्यस्ता उपकरणको प्रयोगमा बन्देज लगाउन राष्ट्रपतिले संकटकाल घोषणाको कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।


ट्रम्पका अनुसार अमेरिकी सञ्चार सञ्जाललाई जोगाउन राष्ट्रिय संकटकाल घोषणा गर्न बाध्य भएका हुन् । ट्रम्पे पटकपटक ‘विदेशी प्रतिद्वन्द्वीले अमेरिकाको सञ्चार क्षमता तथा सञ्जाल ध्वस्त पार्न क्रियाशील रहेको’ बताउँदै आएका छन् ।


ट्रम्पको कार्यकारी आदेशसँगै अमेरिकी कम्पनीले देशको राष्ट्रिय सुरक्षामा जोखिम पुर्‍याउने विश्वास गरिएका विदेशी दूरसञ्चार कम्पनीद्वारा उत्पादित उपकरण खरिद गर्न बन्देज लागेको छ । राष्ट्रपतिको आदेशमा त्यस्तो कुनै कम्पनीको नाम उल्लेख नगरिएको भए पनि उक्त कदम चिनियाँ दूरसञ्चार कम्पनी हुवावे लक्षित भएको बताइएको छ ।


अमेरिका र केही युरोपेली देशले हुवावे कम्पनीले आफ्ना उत्पादनमार्फत ती देशका आन्तरिक गतिविधिको निगरानी गर्ने गरेको आरोप लगाउँदै आएका छन् । हुवावेले उक्त आरोप अस्वीकार गर्दै आफ्ना उपकरणले कुनै सुरक्षा खतरा उत्पन्न नगर्ने दाबी गर्दै आएको छ । अमेरिका र चीनबीचको पछिल्लो समय व्यापार युद्ध जारी छ । ट्रम्पको पछिल्लो निर्णय त्यसको बाछिटाका रूपमा देखिएको विश्लेषकहरूको भनाइ छ । अमेरिकाले गतसाता २ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानको कर दोब्बर वृद्धि गरेको थियो ।


अमेरिकाले चिनियाँ समानको आयात शुल्क १० बाट २५ प्रतिशत पुर्‍याएपछि चीनले त्यसको उस्तै जवाफ दिने चेतावनी दिइसकेको छ । यसका साथै अमेरिकाले थप ३ खर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा करवृद्धि गर्ने चेतावनी दिइसकेको छ ।


चीनले अमेरिकी कदममा ‘खेद व्यक्त गर्दै’ आवश्यक प्रतिरोधी कदम चाल्ने बताएसँगै राष्ट्रपतिले चिनियाँ कम्पनीलक्षित निर्णय लिएका हुन् । अमेरिकी वाणिज्य मन्त्रालयले हुवावे र त्यससँग सम्बन्धित ७० कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय गरिएको जनाएको छ । यद्यपि, उक्त निर्णय कार्यान्वयनमा आईनसकेको जनाइएको छ । कालोसूचीमा पर्ने कम्पनीले अमेरिकी कम्पनीसँग कारोबार गर्न पाउने छैनन् ।


अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसद्वारा जारी विज्ञप्तिमा राष्ट्रपतिको आदेशले ‘सूचना प्रविधिका क्षेत्रमा रहेका कमीकमजोरीको फाइदा उठाउने सक्रिय रूपमा बढिरहेको विदेशी प्रतिद्वन्द्वीको प्रभावबाट अमेरिकालाई जोगिने’ दाबी गरिएको छ । राष्ट्रपतिको आदेशको संघीय सञ्चार आयोगका अध्यक्ष अजित पाइले स्वागत गरेका छन् । पाइले विज्ञप्तिमार्फत ‘अमेरिकी राष्ट्रिय सञ्जालको रक्षा गर्ने दिशामा राष्ट्रपतिले महत्त्वपूर्ण कदम चालेको’ बताए ।


अमेरिकाले आफ्ना संघीय निकायलाई हुवावेका उत्पादन प्रयोग नगर्न निर्देशन दिइसकेको छ । उसले अस्ट्रेलिया, न्युजिल्यान्ड, बेलायतलगायतका मित्रशक्तिलाई पनि हुवावेका उत्पादन प्रयोग नगर्न आग्रह गरिसकेको छ । तर फ्रान्स, बेल्जियम र जर्मनीले हालसम्म हुवावेको फाईभ-जी प्रविधिमाथि प्रतिबन्धको निर्णय गरेका

छैनन् ।


अमेरिकी आग्रहसँगै अस्ट्रेलिया र न्युजिल्यान्डले आफ्ना ‘फाइभ-जी’ सञ्जालमा हुवावेका उपकरणको प्रयोग तत्कालका लागि रोकेको जनाइसकेका छन् । बेलायती प्रधानमन्त्री टेरेजा मेले गतमहिना ‘फाईभ-जी’ सेवा विस्तारका लागि हुवावे प्रविधि प्रयोग गर्ने निर्णय गरेकी थिइन् । तर मन्त्रिपरिषद्का ५ सदस्यहरूले हुवावेको उक्त निर्णयविरुद्ध गम्भीर चासो व्यक्त गरेका समाचार सार्वजनिक भएका थिए ।


हुवावेले आफू चिनियाँ सरकारबाट स्वतन्त्र रहेको जनाउँदै कम्पनीका उपकरणले सुरक्षा लगायतका कुनै खतरा नरहेको उल्लेख गरेको छ ।


कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीलाई व्यवसाय गर्नबाट रोकेर अमेरिका सुरक्षित र बलियो हुन सक्दैन् ।’ ‘फाइभ-जी’ सेवा सीमित पार्ने अमेरिकी निर्णयले अमेरिकी कम्पनी तथा उपभोक्ता मारमा पर्ने हुवावेको दाबी छ । यसैबीच, हुवावेका अध्यक्ष लियाङ ह्वाले बेलायतको राजधानी लन्डनमा भएको एक बैठकमा आफूहरू विभिन्न सरकारसँग ‘जासुसी नगर्ने सम्झौता गर्न तयार रहेको’ बताएका बीबीसीले जनाएको छ ।


कडा प्रतिरोध गर्ने चीनको चेतावनी

बेइजिङ- चीनले दूरसञ्चार कम्पनी हुवावेलाई अन्तर्राष्ट्रिय व्यापारबाट प्रतिबन्ध लगाउन अमेरिकाले प्रयास गरेको दाबी गर्दै त्यसको कडा प्रतिरोध गर्ने चेतावनी दिएको छ ।


चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले ‘चिनियाँ कम्पनीमाथि एकपक्षीय रूपमा प्रतिबन्ध लगाउने कार्यको विरोध गर्दै त्यसविरुद्ध कदम चाल्ने’ बताए । अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्पले दूरसञ्चार कम्पनीका उत्पादनले आफ्नो देशमा सुरक्षा संकट उत्पन्न गरेको दाबी गर्दै त्यस्ता उपकरणमा प्रतिबन्धको घोषणा गरेका थिए ।


प्रवक्ता लु काङले भनेका छन्, ‘हामी यस्तो अभ्यास रोकी व्यावसायिक सहकार्यका लागि सुमधुर सम्बन्ध कायम गर्न अमेरिकासँग आग्रह गर्छौै ।’ यद्यपि, उनले अमेरिकामाथि के-कस्तो प्रतिकार गर्ने भन्नेबारे केही उल्लेख गरेनन् ।

प्रकाशित : जेष्ठ ३, २०७६ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?