कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

पहिलो पत्रकार सम्मेलनमा मोदी

पूर्ण बहुमतसहित पुनः सरकार बनाउने दाबी
सुरेशराज न्यौपाने

नयाँदिल्ली — पाँच वर्षे कार्यकालमा पहिलोपटक पत्रकार सम्मेलनमा उपस्थित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जारी लोकसभा चुनावमार्फत् अत्यधिक बहुमतसहित पुनः सत्तामा फर्कने दाबी गरेका छन् ।  नयाँदिल्लीको दिनदयाल मार्गस्थित भाजपाको मुख्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मोदीले भारतीय जनता पार्टी (भाजपा) को पुनः सरकार बन्ने दाबी गरेका हुन् ।

पहिलो पत्रकार सम्मेलनमा मोदी

'धेरै पछि मुलुकमा हाम्रो सरकार दोस्रो कार्यकालका लागि पूर्ण बहुमतका साथ सरकारमा फर्कदैछ,' मोदीले भने ।


सन् २०१४ मा विश्वकै सबैभन्दा ठूलो लोकतन्त्र भारतको प्रधानमन्त्री भएयता मोदी एकपटक पनि प्रत्यक्ष रुपमा पत्रकार सम्मेलनमा सहभागी भएका थिएनन् । त्यही भएर मोदीमाथि भारतीय राष्ट्रिय कांग्रेस लगायतका विपक्षी दलहरुले पत्रकारका प्रश्नहरु सामना गर्ने आँट नभएकाले आफ्नो कार्यकाल भर एकपटक पनि पत्रकार सम्मेलन नगरेको आरोप लगाउँदै आएका थिए । उक्त आरोपको जवाफ दिन शुक्रबार आफ्नो प्रधानमन्त्री कार्यकालको ५ वर्ष पुरा भएको अवसरमा पत्रकार सम्मेलनमा सहभागी भएको सहजै बुझ्न सकिन्छ । तर मोदीले उपस्थित पत्रकारका पश्नको सामना भने गरेनन् ।


पत्रकारले आफूलाई लक्षित प्रश्न सोधेपछि मोदीले पार्टीका अध्यक्ष अमित शाहतर्फ हेर्दै आफू पार्टीको बफादार कार्यकर्ता भएकाले पार्टी अध्यक्ष आफ्ना लागि सबैथोक भएको भन्दै शाहतर्फ प्रश्न पन्छाए । त्यसपछि शाहले पनि प्रधानमन्त्रीले प्रश्नको जवाफ नदिने भन्दै मोदीको बचाउ गरे ।


त्यसअघि अध्यक्ष शाहले भाजपाले चुनावी अभियानमा गरेको अथक मेहनतका लागि पार्टी कार्यकर्ताको प्रशंसा गर्दै आफूहरुले झन् धेरै बहुमतका साथ सत्तामा फर्कने बताए । पत्रकारको प्रश्नको जवाफसँगै उपस्थित भाजपा अध्यक्ष अमित शाहले दिने भन्दै मोदी पन्छिएका थिए । त्यसपछि शाहले पत्रकारको प्रश्नको जवाफ दिने क्रममा मोदी चुपचाप बसेका थिए ।


मोदीले देशका जनता र पत्रकारहरुले आफूलाई आर्शिवाद दिएर ५ वर्ष मुलुकका लागि काम गर्न दिएकोमा धन्यवाद दिन पत्रकार सम्मेलनमा उपस्थित भएको बताए । मोदीले विगत दुईवटा चुनावका बेला इण्डियन क्रिकेट लिग (आइपिएल) हुन नसकेको प्रसंग उठाउँदै सरकार बलियो भएकै कारण यसपटक चुनाव चलिरहेकै बेला समेत आइपीएल, रमजान र विद्यालयको परीक्षा पनि शान्तिपूर्णरुपमा सम्पन्न भएको दाबी गरे ।


मोदीको पत्रकार सम्मेलन भएकै समयमा भारतीय राष्ट्रिय कांग्रेस अध्यक्ष राहुल गान्धीले पनि पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा बोल्दै गान्धीले निर्वाचन आयोग पक्षपाती बनेको आरोप लगाए । उनले प्रधानमन्त्रीको पत्रकार सम्मेलनको सन्दर्भ जोड्दै रफाल लडाकु विमान खरिद प्रकरणमा आफूसँग प्रत्यक्ष संवाद गर्न नसकेको भनेर मोदीप्रति कटाक्ष गरे । 'मैले उनलाई चुनौती दिएको थिएँ, पत्रकारलाई बताउँनुस् किन त्यस्तो संवाद गर्नु भएन् ?' गान्धीले भने ।

प्रकाशित : जेष्ठ ३, २०७६ २०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?