१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

अस्ट्रेलियामा आमनिर्वाचन, सत्तारुढ दलसहितको गठबन्धन सरकार बन्ने

हार स्वीकार्दै विपक्षी दलका नेताले दिए राजीनामा
नारायण खड्का

अस्ट्रेलिया — अस्ट्रेलियामा शनिबार आमनिर्वाचन सम्पन्न भएको छ । मतगणना जारी रहेको भए पनि सत्तारुढ दल लिबरल गठबन्धनले सरकार बनाउने पक्का भएको छ । निर्वाचनपछि विपक्षी दल लेबरका नेता बिल सर्टनले आफ्नो पार्टीको हार स्वीकार गरेका छन् । उनले निर्वाचनमा हार ब्योहोरेसँगै दलको नेताबाट समेत राजीनामा दिएका छन् ।

अस्ट्रेलियामा आमनिर्वाचन, सत्तारुढ दलसहितको गठबन्धन सरकार बन्ने

लिबरल नेता तथा प्रधानमन्त्री स्कट मरिसनलाई शुभकामना दिँदै अस्ट्रेलियाली जनताको हितमा काम गर्न आग्रह गरेका छन् । अहिलेसम्मका निर्वाचनमा कुनै पनि दलको प्रस्ट बहुमत आउने नदेखिएकाले मिलिजुली सरकार बन्नसक्ने यहाँका सञ्चारमाध्यमले विष्लेषण गरेका छन् ।

१ सय ५० प्रतिनिधिसभा सदस्य र ७६ माथिल्लो सदन सिनेट सदस्यका लागि भएको चुनाव करिब १ महिनाअघि देखि नै सुरु गरिएको थियो । मतदानस्थलमा चुनाव घोषणा भएको दिन मतदान गर्न नसक्नेका लागि केही साता पहिल्यै देशैभरि दर्जनौंको संख्यामा 'प्रि-पोल' मतदानको व्यवस्था गरिएको थियो भने हुलाकबाट समेत मतदानको व्यवस्था गरिएको थियो । 'प्रि-पोल' मतदानमा ४० लाख बढीले मतदान गरेका थिए भने हुलाकबाट १५ लाखले मतदान गरेका थिए ।


आज भएको निर्वाचनमा करिब १२ लाखले मतदान गरेको बताइएको छ । बहुमत ल्याउनका लागि ७६ सिटको आवश्यकता पर्नेमा अहिलेसम्मको नतिजामा लिबरल गठबन्धनले ७४ स्थानमा अग्रता बनाएको छ भने विपक्षी दल लेबरले ६६ सिटमा अग्रता लिएको छ । अस्ट्रेलियाका पूर्वप्रधानमन्त्री टोनी अबटले करिब २५ वर्षदेखि जित हासिल गर्दै आएको निर्वाचन क्षेत्रबाट स्वतन्त्र उम्मेदवार जाली स्टेगलसँग हार ब्योहोर्नुपरेको छ । प्रधानमन्त्री स्कट मरिसनलगायत अन्य अधिकांश उच्च नेताहरुले भने आफ्नो जित सुनिश्चित पारेका छन् । निर्वाचनमा विपक्षी दल लेबरले बहुमत ल्याउने सर्वेक्षणहरुले देखाएको भए पनि नतिजा त्यसको विपरीत देखिएको छ ।


यसपटकको निर्वाचनमा अन्टार्कटिकामा रहेका आफ्ना नागरिकहरुलाई मतदान अधिकार दिनका लागि अस्ट्रेलियाको निर्वाचन आयोगले उक्त स्थानमा समेत मतदान केन्द्र स्थापना गरेको थियो । यसैगरी विदेशमा रहेका नागरिकहरुलाई मतदानमा सामेल गराउनका लागि विश्वभरि रहेका अस्ट्रेलियाली दुतावास तथा कूटनीतिक नियोगहरुमा ७६ वटा मतदान केन्द्र स्थापना गरिएको थियो । अनिवार्य रुपमा मतदान गर्नुपर्ने नियम राखिएको अस्ट्रेलियाको निर्वाचनमा करिब ९५ प्रतिशत मतदाताहरुले मतदान गरेको जनाइएको छ ।

अहिलेसम्म ७० प्रतिशत मतगणना भइसकेको निर्वाचनको पूर्ण नतिजा आउन अझै केही दिन कुर्नुपर्ने सञ्चारमाध्यमहरुले जनाएका छन् । 'प्रि-पोल' र हुलाकमार्फत गरिएका मतहरु समेत गणना गरिसकेपछि मात्र पूर्ण नतिजा आउने बताइएको छ । रोजगार, वातावरण परिवर्तन, ट्याक्स, सामाजिक सुरक्षा लगायतका विषय यसपटकको निर्वाचनमा मुख्य एजेण्डा बनेका थिए ।


नेपालीमुलका उम्मेदवार पराजित

पहिलोपटक नेपाली समुदायको प्रतिनिधित्व गर्दै अस्ट्रेलियाको प्रमुख दलबाट चुनावमा होमिएका युवा प्रमेज श्रेष्ठ पराजित भएका छन् । विपक्षी दल लेबरकी लिण्डा बर्निसँग उनी करिब १३ हजार मतले पराजित भएका हुन् ।


उनलाई निर्वाचनमा सहयोग पुर्‍याउन शनिबार विहानैदेखि दर्जनौं नेपाली मतदानस्थलमा खटिएका थिए । श्रेष्ठले हार स्वीकार्दै 'चुनावले नेपालीलाई अलग पहिचान दिलाएको' बताए । उनले आफू पराजित भए पनि प्रमुख दलबाट उम्मेदवार बन्नु नै नेपालीका लागि ठूलो अवसर भएको समेत सुनाए । 'हारजित निर्वाचनमा हुन्छ नै तर यसले नेपाली समुदायका लागि ठूलो अवसर र सम्भावनाहरु सिर्जना गरिदिएको छ' निर्वाचनपछि उनले कान्तिपुरसँग भने ।

विपक्षी दल लेबरबाट लामो समयदेखि राजनीति गरिरहेकी उनका प्रतिद्वन्द्वी बर्नि लेबरको परिवार तथा सामाजिक सेवा छायाँ मन्त्री हुन् । ८० प्रतिशत मतगणना भइसक्दा श्रेष्ठले २५ हजार २ सय ४१ मत ल्याएका छन भने बर्निले ३७ हजार ६ सय २४ मत ल्याएकी छिन् । २६ वर्षका श्रेष्ठले आफू सम्पूर्ण नेपाली तथा यहाँको सत्तारुढ दलको प्रतिनिधि बनेर निर्वाचनमा आउन पाउनुले भविष्यमा नेपालीहरुलाई यहाँको मूल राजनीतिमा आउन बाटो प्रशस्त गरिदिएको दाबी गरे ।

प्रकाशित : जेष्ठ ४, २०७६ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?