भारतमा लाेकसभा निर्वाचन : अन्तिम चरणको मतदान सुरु

मोदीदेखि सन्नी देवलसम्मको भाग्यको परीक्षा
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा जारी १७ औं लोकसभा चुनाव अन्तर्गत आइतबार सातौं अर्थात् अन्तिम चरणको मतदान सुरु भएको छ । 
अन्तिम चरणअन्तर्गत विभिन्न सात प्रदेश र केन्द्रशासित एक गरी आठ राज्यका ५९ लोकसभा सिटमा मतदान हुँदैछ ।

भारतमा लाेकसभा निर्वाचन : अन्तिम चरणको मतदान सुरु

उत्तरप्रदेश (यूपी) का १३, बिहारका आठ, पश्चिम बंगालको नौ, पन्जाबका सबै १३, चण्डिगढको एक, झारखण्डको तीन, हिमाचलका सबै चार र मध्यप्रदेशका आठ लोकसभा क्षेत्रका दश करोडभन्दा बढी मतदाताले ९१८ उम्मेद्वारको भाग्यको फैसला गर्दैछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि बलिउड अभिनेता सन्नी देवलसम्मको भाग्यको फैसला समेत आजकै मतदानले गर्नेछ । सन् २०१४ को चुनावमा आइतबार मतदान भइरहेका ५९ वटा लोकसभा सिटमध्ये भारतीय जनता पार्टी र गठबन्धन दलले ३९ सिट मा जितको झण्डा र्फहराएका थिए ।

आइतबार चुनाव हुने लोकसभा क्षेत्रहरुमध्ये युपीको वाराणसी, गोरखपुर, पञ्जाबको गुरदासपुर र बिहारको पटनासाहेब तथा पाटलीपुत्रको निर्वाचनलाई लिएर सर्वत्र चासो छ । सांस्कृतिक र धार्मिक नगरी बाराणासी प्रधानमन्त्री नरेन्द्र मोदीको चुनावी क्षेत्र हो ।

पाँच वर्षअघि मोदीले यही लोकसभा क्षेत्रमा आम आदमी पार्टीका प्रमुख अरविन्द केजरीवाललाई पराजित गरेका थिए । तुलनात्मक रुपमा मोदीका लागि सहज ठानिएको बाराणासीमा यसपटक भारतीय राष्ट्रिय कांग्रेसका अजय राय मुख्य प्रतिस्पर्धाका रुपमा रहेका छन् ।

सत्तारुढ दल भारतीय जनता पार्टीका लागि युपीकै गोरखपुर लोकसभा क्षेत्र प्रतिष्ठाको विषय बनेको छ । युपीका मुख्यमन्त्री योगी आदित्यनाथको गृहनगरी पनि भएकाले गोरखपुर विगत दुई दशकदेखि भाजपाको किल्लाका रुपमा चिनिँदै आएको थियो ।

तर, एक वर्षअघि भएको उपनिर्वाचनमा समाजवादी पार्टी (सपा) ले भाजपाको किल्ला भत्काउन सफल भयो । उक्त हारका कारण पनि गोखरपुरमा गुमेको साख फर्काउन यसपटक भाजपाले पुरै जोड लगाएको छ । भाजपाका तर्फबाट भोजपुरी सिनेमाका हिरो रवि किशन र सपाले रामभुसल निषादलाई चुनावी मैदानमा उतारेको छ ।

सातौं चरणअन्तर्गत पन्जाबका तेह्रवटै लोकसभा सिटमा चुनाव हुँदैछ । तीमध्ये गुरदासपुर बलिउड अभिनेता सन्नी देअलको उम्मेद्वारीका कारण चर्चामा छ । यो लोकसभा सिटबाट बलिउडका अर्का अभिनेता बिनोद खन्ना भाजपाका तर्फबाट चारपटक चुनाव जितेका थिए ।

दुई वर्षअघि खन्नाको निधन भएपछि भाजपाले पुनः बलिउड कलाकारलाई नै मैदानमा उतारेको छ । साथै पाँच वर्षअघि आम आद्मी पार्टीका चारवटा सिटमा अप्रत्यासित जित हात पारेको थियो । तर, पछिल्लो समय उक्त पार्टीको जनाधार दिल्लीबाहिर खुम्चिँदै गएका कारण यसपटकको चुनावमा उसले हात पार्ने नतिजाप्रति पनि राजनीतिक वृत्तमा विशेष चासो रहेको पाइन्छ ।

त्यसैगरी आइतबार मतदान हुने बिहारका आठ लोकसभा क्षेत्रमध्ये पटनासाबिह र पाटलीपुत्रको चुनावी रस्साकस्सी विशेष छ । पाँच वर्षअघि पटनासाहिबमा भाजपाको तर्फबाट अर्का बलिउड अभिनेता शत्रुध्न सिन्हा निर्वाचित भएका थिए । तर, यसपटक उनै सिन्हा भाजपा छाडेर क‌ांग्रेसबाट उम्मेद्वार छन् ।

भाजपाले भने केन्द्रीय मन्त्री रवि शंकर प्रसादलाई सिन्हाको विरुद्ध मैदानमा उतारेको छ । एक त विरोधी खेमामा पुगेका सिन्हाको उम्मेद्वार र अर्कोतर्फ केन्द्रीय मन्त्री मैदानमा रहेकाले भाजपाले पटनासाहिबलाई प्रतिष्ठाको रुपमा लिएको छ ।

चारदशकभन्दा बढी समयदेखि बिहारको राजनीतिमा आफ्नो प्रभाव छाड्दै आएका राष्ट्रिय जनता दल -राजद) का प्रमुख लालुप्रसाद यादवकी जेठी छोरी मिसा भारती र भाजपाका रामकृपाल यादवबीचको प्रतिस्पर्धाका कारण पाटलीपुत्र लोकसभा क्षेत्रको चुनावी परिणामलाई लिएर पनि विशेष चासो रहेको पाइन्छ ।

कुनै समय लालुका विश्वासपात्र रहेका यादव पाँच वर्षअघि राजद छाडेर भाजपा प्रवेश गरेका थिए । २०१४ को चुनावमा यी दुईबीच नै प्रतिस्पर्धा थियो र यादवले मात्र चालिस हजार भोटले बाजी मारेका थिए । अघिल्लोपटक जस्तै यसपटक पनि यी काका र भतिजीबीचको भिडन्त निकै रोचक हुने अपेक्षा गरिएको छ ।

गएको १३ अपि्रलदेखि जारी १७ औं लोकसभा निर्वाचनको मतगणना भने २३ मे हुनेछ । भारतको निर्वाचन आयोगले छैटौं चरणसम्म ६६.८८ प्रतिशत मतदान भएको जनाएको छ ।

चुनावअघिका केही अनौपचारिक मतसर्वेक्षणहरुले भाजपा नेतृत्वको राष्ट्रिय लोकतानिन्त्रक गठबन्धन (एनडीए) ले स्पष्ट बहुमत ल्याउने भविष्यवाणी गरेका थिए । तर, निर्वाचन सकिँदै गर्दा केही भारतीय सन्चारमाध्यम र राजनीतिक विश्लेषकहरुले यसपटकको चुनावमा कुनै पनि गठबन्धनको प्रष्ट बहुमत नआउने र सत्ताको साँचो क्षेत्रीय दलहरुको हातमा पुग्ने प्रक्षेपण गरेका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?