कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दर्जनौं सर्वेक्षण 'फेल' भएको अस्ट्रेलियाको चमत्कारिक निर्वाचन

नारायण खड्का

अस्ट्रेलिया — आफ्नो पार्टीले अप्रत्याशित रूपमा जीत हासिल गरेपछिको पहिलो विजयी भाषणमा प्रधानमन्त्री स्कट मरिसनले 'आफू चमत्कारमा विश्वास गर्ने' बताएका थिए । विभिन्न संस्थाहरूको ५६ वटा सर्वेक्षणले जीत हासिल हुने नतिजा देखाइरहेको सन्दर्भमा सर्वेक्षणको विपरीत विपक्षी दल लेबरले लज्जास्पद हार ब्योहोरेपछि यहाँ हुने सर्वेक्षणहरूमै प्रश्न उठेको छ । 

दर्जनौं सर्वेक्षण 'फेल' भएको अस्ट्रेलियाको चमत्कारिक निर्वाचन

अहिले अस्ट्रेलियाका सञ्चारमाध्यमहरूले उठाइरहेको प्रश्न नै नहार्नुपर्ने निर्वाचन लेबरले कसरी हार्‍यो भन्नेमै केन्द्रित छ । करिब ३ वर्षदेखि भइरहेका सबै सर्वेक्षणहरूले लिबरलले हार ब्यहोर्ने प्रक्षेपण गरिरहेको सन्दर्भमा त्यसको विपरीत अपेक्षा गरेभन्दा बढी मत सहित बहुमतको सरकार बनाउने बाटोमा 'लिबरल कोअलिसन' अघि बढिसकेको छ ।


अस्ट्रेलियामा गरिने सर्वेक्षणहरूलाई अत्यन्तै महत्त्वका साथ हेर्ने गरिएको छ र यसपटकको निर्वाचनमा समेत सर्वेक्षणको नतिजालाई नै अन्तिम जस्तो मानेर ढुक्क भएको लेबरले नराम्रो हार ब्योहोरेको छ । यसको विपरीत लिबरलले तल्लो सदन र माथिल्लो सदन सिनेटमा सोचेभन्दा बढी मत ल्याएको छ । यसपटकको नतिजाले सर्वेक्षणको विश्वसनीयतामा प्रश्न त उठाइदिएको छ नै जनताले कुन एजेण्डालाई प्राथमिकता दिइरहेका छन् भन्नेमा केन्द्रित हुन समेत दलहरूलाई शिक्षा दिएको छ ।


अस्ट्रेलियाको राजनीतिलाई बुझेका डा. भरतराज पौडेलको भनाई अनुसार मुख्य कुरा त सर्वेक्षणमा लिइएको नमुना नै सानो सङ्ख्यामा भएकाले यसले सम्पूर्ण अस्ट्रेलियाको मतलाई समेट्न सकेको थिएन । अर्कोतिर मुख्य चारवटा विषयमा लेबर चुकेको कारणले समेत नराम्रोसँग हार ब्योहोर्नुपरेको हो । उसले दिगो अर्थतन्त्र र नेगेटिभ गियरिङको विषयमा स्थिर र विश्वासिलो धारणा दिन नसक्नु, कन्जरभेटिभ दक्षिणपन्थी धार भएका र दुर्गमका मतदाताले सरकारलाई धेरै विश्वास गर्नु, एसिया प्रशान्त क्षेत्रमा बढ्दै गएको चीनको प्रभाव कम गर्न लेबरलाई भन्दा सरकारलाई विश्वास गर्नु र महत्त्वपूर्ण तीन मन्त्रालय अध्यागमन, सामाजिक सुरक्षा र अर्थ सफलतापूर्वक सम्हालिसकेको व्यक्ति प्रधानमन्त्री भएकाले स्कट मरिसनलाई विल सर्टनभन्दा बढी पत्याउनु पनि लेबरको हारको कारण बनेको पौडेलले बताए ।


अस्ट्रेलियाको राजनीतिक दलको भविष्यको छिनोफानो यहाँका जनताले सर्वेक्षणभन्दा पनि नीति तथा कार्यक्रमहरूका आधारमा गर्ने गरेका छन् । अस्ट्रेलियाको कानुनमा विद्यावारिधि गरेका डा. समसेरसिंह थापा लिबरलले ल्याएको आर्थिक र आप्रवासी नीति विशेष गरेर दुर्गम क्षेत्रमा रहने मतदाताहरूले मन पराएका कारण सबै सर्वेक्षणहरूको प्रक्षेपण असफल भएको हो । लिबरलले अभिभावक भिसाको नीतिमा ल्याएको परिवर्तन दुर्गम भेगमा बस्ने नागरिकहरूले मन पराएको कारण समेत उनीहरूको मत निर्णायक देखिएको हो ।


अर्कातिर आप्रवासीको वाषिर्क कोटा ३० हजारले घटाएर दक्ष आप्रवासीहरूलाई प्राथमिकतामा राखेर र आप्रवासीहरूलाई दुर्गम भेगहरूमा सीमित गराउने लगायतका नीतिमा जोड दिएकाले समेत लिबरल मत पाउन सफल भएको थापाको विश्लेषण छ ।


अस्ट्रेलियाको निर्वाचनलाई एसिया प्रशान्त क्षेत्रमा मात्र नभएर विश्वका ठुला अर्थतन्त्र भएका मुलुकहरूले चासोका साथ हेर्ने गरेका छन् । यसका लागि ६ वर्षपछि पुनः सरकारमा फर्कने पूर्ण विश्वासका साथ निर्वाचनमा होमिएको पार्टीको हारसँगै पार्टी नेता बिल सर्टनले राजीनामा दिएपछि नेतृत्व सम्हाल्ने रस्साकस्सीमा लेबरका अन्य नेताहरू लागिसकेका छन् ।

यता यसको विपरीत 'चमत्कारिक' रूपमा जीत हासिल गरेपछि लिबरल कोअलिसनका नेताहरू भने निर्वाचन आयोगबाट आधिकारिक रूपमा बहुमत सिटको घोषणाको बाटो हेरिरहेका छन् ।

प्रकाशित : जेष्ठ ८, २०७६ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?