कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलायती चिकित्सक भन्छन्– बिरामी हेर्ने समय बढाऊ

चिकित्सकले प्रतिरोगीलाई बढी समय दिने मुलुक स्विडेन र सबैभन्दा कम समय दिने बंगलादेश रहेको छ 
एजेन्सीहरू

लन्डन — बेलायतमा सरकारी चिकित्सकले बिरामीलाई हेर्ने समय कम भएकाले बढाउन माग गरेका छन् । उनीहरूले हालको समयमा पाँच मिनेट थपेर १५ मिनेट बनाउन भनेका छन् । 

बेलायती चिकित्सक भन्छन्– बिरामी हेर्ने समय बढाऊ

चिकित्सकहरूका अनुसार रोगहरूको बढ्दो जटिलताका कारण बिरामीलाई हेर्ने हालको समयसीमा कम भएको प्रतिक्रिया दिएका छन् । बेलायतमा एक जना सरकारी चिकित्सकले प्रतिरोगी करिब १० मिनेट दिने गरेका छन् ।


नेपालमा औसतमा दुई मिनेटमा एउटा बिरामीलाई चिकित्सकले हेरिसक्छन् । भारतमा सरकारी चिकित्सकहरूका लागि प्रतिबिरामी २ मिनेट समय रहेको एउटा रिपोर्टमा उल्लेख छ । ‘रोयल कलेज अफ जनरल प्राक्टिसनर्स (आरसीजीपी) का अनुसार बेलायतमा २००३ पछि प्रतिवर्ष आठ प्रतिशतले दीर्घ रोगीहरूको संख्यामा वृद्धि भएको छ ।


त्यो अनुपातमा बिरामीहरूलाई समय कम भएको निष्कर्ष चिकित्सकहरूको छ । यसैलाई ध्यानमा राखेर पछिल्लो वर्षको अक्टोबरमा सरकारले ‘एप्वाइन्टमेन्ट’ को समयसीमाको समीक्षा गरेको थियो । समीक्षा बैठकलगत्तै समय बढाउने सिफारिस बेलायतमा गरिसकेको छ ।


चिकित्सकसँग बिरामीको समय पाँच मिनेट बढाउनुको अर्थ स्वास्थ्य क्षेत्रका झन्डै साढ चार अर्ब रुपैयाँ खर्चिनुपर्ने हुन्छ । यसबाट करिब २० हजार चिकित्सक र विशेषज्ञहरूको नयाँ नियुक्ति गर्नुपर्नेछ । क्याम्ब्रिज विश्वविद्यालयको एक शोधअनुसार सन् २०१७ मा बेलायतमा चिकित्सकसँग रोगीको बस्ने औसत समय ९ दशमलब २२ मिनेट रहेको छ । बेलायतका ९२ प्रतिशत चिकित्सकका अनुसार उनीहरूसँग रोगीलाई राम्ररी हेर्ने पर्याप्त समय छैन ।


विश्वकै आधा जनसंख्या भएका मुलुकमा ५ मिनेटभन्दा कम समय मात्रै चिकित्सकहरूबाट बिरामीले पाउने गरेका छन् । १५ यस्ता मुलुक छन, जहाँ विश्वका ५० प्रतिशत जनसंख्या बसोबास गर्छन् । त्यहाँ चिकित्सकबाट प्रतिरोगी पाँच मिनेट या योभन्दा कम समय मात्रै पाउँछन् । कम समय दिनु बिरामीका लागि चिन्ताको विषय हो ।


यसले चिकित्सकमाथि कामको बोझ र तनाव पनि बढाउँछ । यस्तो अवस्थामा रोगीले बढी समय फार्मेसीमा या एन्टिबायोटिक औषधिहरू खानमै बिताउनुपर्ने हुन सक्छ । यसबाट चिकित्सकसँगको सम्बन्ध पनि राम्रो हुँदैन । ६७ मुलुकलाई समेटिएर गरिएको अनुसन्धानले यो निष्कर्ष निकालेको हो ।


बेलायतमा सम्पादकीय कार्यालय रहेको र चिकित्सासम्बन्धी सबैखाले अनुसन्धानहरू सार्वजनिक गर्ने ‘बीएमजी जर्नल’ का अनुसार स्विडेनका चिकित्सकले आफ्ना बिरामीलाई सबैभन्दा बढी समय दिने गरेका छन् । त्यहाँ सर्वाधिक २२ दशमलब ५ मिनेट समय चिकित्सकबाट बिरामीले पाउने गरेको जर्नलमा प्रकाशित प्रतिवेदनमा उल्लेख छ ।


चिकित्सकबाट सबैभन्दा कम समय बंगलादेशमा

बिरामीहरूले पाउँछन् । त्यहाँ चिकित्सकहरूबाट एक जना बिरामीले ४८ सेकेण्ड मात्रै पाउने प्रतिवेदनमा उल्लेख छ । अनलाइन जर्नल बीएमजेले सार्वजनिक गरेको रिपोर्टमा नेपालको पछिल्लो तथ्यांक उल्लेख छैन ।


तर, सन १९९३ मा केही अस्पतालमा गरिएको सर्वेक्षणमा बिरामीले चिकित्सकबाट औसतमा ३ दशमलब ५ मिनेट पाउने गरेको उल्लेख छ । सन् २०१२ मा १ सय ९ वटा स्वास्थ्य केन्द्र/अस्पताल/क्लिनिकमा गरिएको अनुसन्धानमा २ दशमलब ०२ मिनेट उल्लेख छ । अन्य मुलुकमध्ये अमेरिकामा २१ दशमलब ०७, बुल्गेरियामा २०, रूसमा १७, फ्रान्समा १६ र चीनमा २ मिनेट बिरामीले पाउने गर्छन् ।

प्रकाशित : जेष्ठ ९, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?