कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

भारतीय लोकसभा चुनाव : दार्जिलिङमा विष्ट

मनोज बोगटी

दार्जिलिङ — भारतीय लोकसभा चुनावमा दार्जिलिङका जनताले यसपल्ट पनि भाजपालाई रुचाएको सन्देश दिएका छन् । दार्जिलिङको लोकसभा सिटमा भारतीय जनता पार्टी (भाजपा) उम्मेदवार राजु विष्ट भारी मतले विजयी भए ।

भारतीय लोकसभा चुनाव : दार्जिलिङमा विष्ट

उनले ममता बनर्जी निटक गोर्खा जनमुक्ति मोर्चा (दोस्रो) का नेता अमरसिंह राईलाई १ लाख ९७ हजार २ सय ३९ मतान्तरले पराजित गरेका हुन् ।


दार्जिलिङका विधायक राई पदबाट राजीनामा दिएर लोकसभा चुनावमा होमिएका थिए । उनले राजीनामापछिको विधानसभा उपचुनावमा पनि भाजपा उम्मेदवार निरज जिम्बा विजयी भएका छन् । जिम्बाको जितसँगै पहिलोपल्ट दार्जिलिङबाट पश्चिम बंगाल विधानसभामा भाजपाले खाता पनि खोलेको छ । जिम्बासँग गोर्खा जनमुक्ति मोर्चा (दोस्रो) का अध्यक्ष एवं निर्दलीय उम्मेदवार विनोय तामाङले हारेका हुन् ।


भाजपाको जितका लागि चुनावी घोषणापत्रमा संलग्न गोर्खा लक्षित मुद्दाको प्रभाव मुख्य कारण ठानिएको छ । भाजपाले दार्जिलिङ र सिक्किमका गोर्खाअन्तर्गतका ११ जातिलाई जनजातिको मान्यता दिने तथा गोर्खाको समस्याको स्थायी राजनैतिक सामाधानको प्रतिबद्धता जनाएको थियो ।


त्यस्ता जातिमा भुजेल, गुरुङ, मगर, नेवार, जोगी, खस, राई, सुनार, थामी, यखा (देवान) र धिमाल छन् । भाजपाले सन् २०१४ को चुनावमा पनि यस्तै प्रतिबद्धता जाहेर गरेको थियो । त्यति बेला भाजपा उम्मेदवार एसएस अहलुवालियाले गोर्खा जनमुक्ति मोर्चा (पहिलो) को सहयोगमा जितेका थिए । त्यसअघि पनि भाजपाकै उम्मेदवार जसवन्त सिंह विजयी भएका थिए ।


गोर्खाल्यान्ड राज्यका लागि लोकसभामा विधेयक नलगी दार्जिलिङलाई धोखा दिएको आरोपसमेत लागेको भाजपा विजय हुनुमा ममता बनर्जीको तानाशाही राजनीति पनि कारण रहेको भूमिगत मोर्चा नेता विमल गुरुङको भनाइ छ । ‘आन्दोलन दबाउन बंगाल सरकारले


गोली चलायो । विभिन्न मुद्दा लगायो, त्यसैको जवाफ जनताले दिएका हुन्,’ राजु विष्ट र निरज जिम्बाको जितबारे गुरुङले कान्तिपुरसित भने ।’


चुनावी परिणामले दार्जिलिङमा बनर्जीको जनाधार नरहेको प्रस्ट भएको विष्टको भनाइ छ । उनले भने, ‘भाजपाले घोषणा पत्रमा जाहेर गरेको प्रतिबद्धता जनाताले विश्वास गरेका छन् । हामी हाम्रो प्रतिबद्धता प्रमाणित गर्नेछौं ।’

बंगालको विधानसभामा भाजपाको खाता खोल्ने भाजपा उम्मेदवार निरज जिम्बाले यस पटकको चुनाव गोर्खाको स्वाभिमान र सुरक्षासँग जोडिएको जनाए ।


‘गोर्खा जाति र गोर्खाहरूको मुद्दालाई सधैंका निम्ति धराशायी गर्ने ममता बनर्जीको कूटनीति सफल बन्न नदिन जनताले आफ्नो भूमिका निर्वाह गरेका छन्,’ जिम्बाले भने, ‘लोकसभा चुनाव मुद्दाको जित हो । विधानसभा गोर्खा स्वाभिमानको जित हो ।’

प्रकाशित : जेष्ठ १०, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?