भारतीय मिडियामा मोदीको बखान, थप जिम्मेवार हुन सुझाव

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतका प्रमुख दैनिक अखबारहरुले भारतीय जनता पार्टीलाई लोकसभा चुनावमा ऐतिहासिक जित हासिल गरेसँगै आगामी दिनमा थप जिम्मेवार बन्न सुझाएका छन् । बिहीबार भएको १७ औं लोकसभा चुनावको मतगणनामा भाजपा नेतृत्वको एनडिएले अत्यधिक बहमुत पाएको हो ।

भारतीय मिडियामा मोदीको बखान, थप जिम्मेवार हुन सुझाव

करीब डेढ महिनासम्म चलेको निर्वाचन एनडिएले ३५३ सिट जितेको छ । भाजपा एक्लैले ३०० सिटमा जितेर लगातार दोस्रो पटक एकल बहुमत प्राप्त गर्न पनि सफल भएको छ । यो जितसँगै नरेन्द्र मोदी फेरि प्रधानमन्त्रीमा दोहोरिने निश्चित छ ।


चुनावी परिणाम र त्यससम्बन्धी सामग्रीलाई फराकिलो ढंगले पस्केका मूलधारका भारतीय दैनिक अखबारहरुले भाजपा जितसँगै थप जिम्मेवार बन्न पनि सुझाव दिएका छन् । केहीले मोदीको जितलाई सुनामी भनेका छन्, केहीले ‘चौकिदारको चमत्कार’ उल्लेख गरेका छन् । पत्रिकाहरुका अधिकांश सामग्रीहरु भाजपाका जितका कारण, विपक्षीहरुको फितलो प्रभावहरुमा केन्द्रित छन् । भाजपाले पश्चिम बंगाल र पूर्वोत्तर राज्यमा हासिल गरेको सफलतालाई पनि प्रमुखकता साथ उठाइएको छ ।


भाजपाको यो जितलाई मूलधारका भारतीय सञ्चारमाध्यमहरुले मोदीको व्यक्तित्व र पार्टी अध्यक्ष अमित साहको सांगठनिक चातुर्यको रुपमा अर्थ्याएका छन् । त्यसैगरी केहीले भने मोदी सरकारले अघि सारेका सामाजिक कार्यक्रमहरुको प्रभाव र विपक्षीहरुको कमजोर रणनीतिको परिणाम पनि भनेका छन् ।


कारण जेसुकै भए पनि चुनावको परिणामले भाजपा प्रभावको फुटप्रिन्ट देशव्यापी बन्दै गएको प्रष्ट पारेको उनीहरुले उल्लेख गरेका छन् । मतपरिणामको फराकिलो कभरेजसँगै भाजपा र आगामी सरकारले भारतको समावेशी चरित्रलाई सम्मान गर्दै बढी जिम्मेवार बन्न पनि मूलधारका पत्रिकाहरुले सुझाएका छन् । जितसँगै जिम्मेवारी पनि थपिएको उल्लेख गरिएको छ ।


मोदीको ‘सबका साथ सबका विकास’ लाई चरितार्थ पार्न अब बन्ने सरकारका कदमहरु बढी समावेशी ढाँचा र सबै समुदायलाई समेटेर लैजाने उद्देश्यले प्रेरित हुनुपर्ने जिकिर गरिएका छन् । त्यसैगरी केहीले पछिल्लो समय सुस्त देखिएको अर्थतन्त्रलाई सही गति हिँडाउने आगामी सरकारको पहिलो प्राथमिकता हुनुपर्ने सुझाव पनि दिइएको छ ।


मोदी र भाजपाप्रति आलोचनात्मक रहँदै आएको अंग्रेजी न्यूज पोर्टलले द वायरले भने मोदीको जितलाई भारतको लोकतन्त्रका खराब समाचारका रुपमा अर्थ्याएको छ । उक्त पोर्टलका सम्पादक सिद्धार्थ बर्द्धराजनले कमजोर कार्यकालका बाबजुद जातियता, राष्ट्रवाद, अत्यधिक स्रोतसाधन, सञ्चारमाध्यमको उदार समर्थनका कारणले मोदीले जित हासिल गरेको दाबी गरेका छन् ।


सँगै यो चुनावले विपक्षी भारतीय राष्ट्रिय कांग्रेसमाथि धेरै प्रश्न खडा गरेको भन्दै पार्टीलाई परिवारवादको छायाँबाट मुक्त पार्न ढिल गर्न नहुने पनि सञ्चारमाध्यमहरुको लेखेका छन् । चुनावमा कांग्रेसले नमिठो हार व्यहोरेको छ । पार्टीले यसपटक १६ प्रदेश र केन्द्रशासित राज्यमा खाता समेत खोल्न सकेन । कांग्रेसका तर्फबाट चुनावी मैदानमा उत्रिका विभिन्न राज्यका नौजना पूर्व मुख्यमन्त्रीहरुले हारको सामना गर्नुपरेको छ ।


भजपाले ऐतिहासिक एकल बहुमत हासिल गरेको चुनावमा केही जितलाई अस्वाभाविक ठानिएको छ भने केहीको पराजय अनेपिक्षत । कांग्रेसका ज्योतिरादित्य सिन्धिया, दिग्विजय सिंहको हारलाई अनपेक्षित मानिएको छ । कांग्रेसका महासचिवसमेत रहेका सिन्धिया आफ्नो पुस्तैनी सिट मध्यप्रदेशको गुनाबाट पराजित भएका छन् । उनले यसअघि सोही सिटमा चारपटक लोकसभामा प्रतिनिधित्व गरेका थिए । त्यसैगरी पूर्व प्रधानमन्त्री हेचडी देवगौडाको पराजयलाई पनि अनपेक्षित ठानिएको छ ।


चुनावी मैदानमा केही सेलिब्रेटी जितेका छन् भने केहीले नमिठो हार व्यहोरेका छन् । बलिउड कलाकारहरु हेमा मालिनी, सन्नि देवलसँगै भोजपुरी कलाकारद्वय मनोज तिवारी, रवि शंकरले जित हात परेका छन् । देशव्यापी मोदी लहरका बाबजुद बलिउडकी अभिनेत्री जयप्रदाले हार टार्न सकिनन् । विपक्षी कांग्रेसलगायतका अन्य दलबाट उम्मेद्वारी दिएका अधिकांश सेलिब्रिटिहरु पराजित भएका छन् । कांग्रेसका राज बब्बर, तृणामुल कांग्रेसकी उम्मेद्वार मुनमुन सुन समेतले हार व्यहोर्नु परेको छ ।


त्यसैगरी अभिनेता प्रकाश राजले पनि नमिठो हारको सामना गर्नु परेको छ । कर्नाटकबाट स्वतन्त्र उम्मेद्वारी दिएका प्रकाश मतगणनामा धेरै पछि परेका छन् । मोदी सरकारविरुद्ध आक्रमक ढंगले चुनाव प्रचारमा लागेका प्रकाशले चुनावी पराजय आफ्ना लागि .गतिलो थप्पड भएको बताएका छन् ।


प्रकाशित : जेष्ठ १०, २०७६ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?