गुजरातमा आगलागी, १९ विद्यार्थीको मृत्यु

कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारतको गुजरात राज्यको सुरतस्थित एक सपिङ कम्पलेक्सको कोचिङ सेन्टरमा आगलागी हुँदा १९ विद्यार्थीको ज्यान गएको छ । सुरत नगर निगममा रहेको ३ तले भवनमा शुक्रबार अपराह्न आगलागी भएको हो । भवनको दोस्रो तलामा रहेको कोचिङ सेन्टरमा अचानक आगो सल्किएपछि विद्यार्थीहरुबीच भागाभाग मच्चिएको थियो । भवनको छतसमेत आगोको लप्काले ढाकेपछि विद्यार्थी र भवनका अन्य मानिस झ्यालबाट हाम्फालेका थिए । 

आगाको मुस्लो र धुवाँबाट निस्सासिनबाट बच्न भुइँमा हाम्फालेका विद्यार्थीमध्ये १० को मृत्यु भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ । घाइते दुई दर्जन विद्यार्थीको उपचार भइरहेको छ । आगलागीलगत्तै पुगेका १८ दमकलले आगो निभाएका थिए । साथै भवनमा फसेकालाई हाइड्रोलिक क्रेन लगाएर उद्धार गरिएको थियो । आगलागीको कारण थाहा हुन सकेको छैन ।

घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख प्रकट गरेका छन् । उनले घाइतेलाई तत्काल सबै आवश्यक सहयोग उपलब्ध गराउन पनि गुजरात सरकार र स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

यसैबीच गुजरातका मुख्यमन्त्री विजय रुपानीले घटनाको छानबिन आदेश दिँदै प्रत्येक मृतकका परिवारलाई ४ लाख भारु दिने घोषणा गरेका छन् ।

तीन महिनाअघि भारतको राजधानी नयाँदिल्लीमा आगलागीमा १८ को ज्यान गएको थियो । दिल्लीको करोलबागको होटल अर्पित प्यालेसमा आपतकालिन निकास नहुँदा निस्सासिएर उनीहरुको ज्यान गएको थियो ।

प्रकाशित : जेष्ठ १०, २०७६ २१:०१
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

मोदीले दिए प्रधानमन्त्री पदबाट राजीनामा

नयाँ सरकार गठनको बाटो खुला
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतको तल्लो सदन लोकसभा निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको केही घन्टा नबित्दै प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजिनामा दिएका छन् । मोदीले शुक्रबार साँझ राष्ट्रपति रामनाथ कोविन्द राजीनामा बुझाएका हुन् । राजीनामासँगै नयाँ सरकार गठन नहुन्जेल मोदी सरकारले काम चलाउ हैसियतमा काम काम गर्ने छ ।  

यसअघि मोदीले शुक्रबार साँझ मन्त्रीपरिषद्को अन्तिम बैठक डाकेका थिए । बैठकले मन्त्रिपरिषद्को संयुक्त राजीनामासँगै १६ औं लोकसभाको औपचारिक विघटनका लागि राष्ट्रपति रामनाथ कोविन्दसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । राजीनामासँगै नयाँ सरकार गठनका लागि बाटो खुला भएको छ । आगामी साताभित्र नयाँ सरकार गठन हुने अनुमान गरिएको छ ।

हालै सम्पन्न १७ औं लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) ले अत्यधिक बहुमत ल्याएको हो । अन्तिम मतपरिणामअनुसार एनडिएले ३५० सिट जितेको छ । र, भाजपा एक्लैले ३०२ सिट जित्न सफल भएको छ । विपक्षी भारतीय राष्ट्रिय कांग्रेस भने ५२ सिटमा सीमित भएको छ । भाजपा र एनडिएको ऐतिहासिक जितसँगै नरेन्द्र मोदीले विश्वकै सबैभन्दा ठूलो लोकतन्त्रको संघीय सरकारको नेतृत्व गर्ने पक्कापक्की छ ।

प्रकाशित : जेष्ठ १०, २०७६ २०:५२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT