कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

सिक्किममा ढल्यो चाम्लिङराज

मनोज बोगटी

दार्जिलिङ — पूर्वोत्तर भारतको सिक्किममा पवन चाम्लिङको २४ वर्षे शासनसत्ता ढलेको छ । पछिल्लो समय परिवर्तनलाई मूल नारा बनाएर संघर्ष गर्दै आइरहेको पीएस गोले नेतृत्वको सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले दोस्रो पटकको प्रयासमा चुनावबाट चाम्लिङलाई पाखा लगाएको हो ।

सिक्किममा ढल्यो चाम्लिङराज

भारतको पश्चिम बंगालमा मार्क्सवादी कम्युनिस्ट पार्टीको ३० वर्ष शासनपछि लामो समय राज्य सरकार सञ्चालन गर्नेमा चाम्लिङको सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) हो । एसडीएफले सिक्किममा २५ वर्ष शासन गरिसकेको छ । भारतीय लोकसभाका लागि एक सिट रहेको सिक्किममा विधानसभामा ३२ सिट छन् ।


अघिल्लो चुनावमा कडा टक्कर दिए पनि एसडीएफलाई पराजित गर्न नसकेको एसकेएम यसपल्ट सफल भएको छ । एसकेएम १७ सिटमा विजयी भएको छ भने एसडीएफ १५ सिटमा खुम्चिएको छ ।


सन् २०१४ को चुनावमा एसकेएमले १० सिट जितेको थियो । त्यसमध्ये ७ विधायकलाई चाम्लिङले रातारात एसडीएफमा तानेका थिए । यसपल्ट पनि इतिहास दोहोरिने अनुमान छ ।

सन् १९९३ मा नरबहादुर भण्डारीको दल सिक्किम संग्राम परिषद्को सरकार हुँदा पवन चाम्लिङ संग्राम परिषद्बाटै मन्त्री बनेका थिए । तर चाम्लिङले भण्डारीको दलमा विद्रोह गरेर भण्डारीको १४ वर्षे सत्ता आफ्नो अधीनमा लिए ।


पछिल्लो चुनावमा पछि उस्तै घटनाक्रम विकसित भएको छ । पीएस गोले सन् २००९ मा पवन चाम्लिङ सरकारमा विधायक थिए । गोले दुईपटक मन्त्री र तीनपटक विधायक बनिसकेका छन् । विधायक भएलगत्तै चाम्लिङविरुद्ध विद्रोह गरेका गोले यसपटक भने पार भए ।


समयअनुसार जनताको अपेक्षा सम्बोधन गर्न नसक्नु, भ्रष्टाचार र विविध सामाजिक समस्या चाम्लिङ सरकार ढल्नुका मुख्य कारण ठानिएको छ । त्यसमाथि जनता नयाँ नेतृत्वप्रति आकर्षित भएकाले पनि उनी असफल भएका हुन् । ‘२५ वर्ष शासन लामो हो । नयाँ पुस्ताको अपेक्षा ठम्याउन नसक्नु चाम्लिङ सरकारको कमजोरी हो,’ हाम्रो प्रजाशक्ति दैनिकका सम्पादक अञ्जन उपाध्यायको विश्लेषण छ ।


यसै परिवेशमा भ्रष्टाचार नियन्त्रणको प्रमुख मुद्दा लिएर चुनावमा होमिएका गोलेले सफलता हासिल गरेका उनको भनाइ छ । सिक्किमको राजनैतिक उथुलपुथुल देखेका हिन्दुस्तान टाइम्सका पत्रकार प्रमोद गिरीले ‘चाम्लिङ सरकार ढल्नुको कारण टिकट वितरणमा देखा परेको असन्तुलन पनि कारक भएको’ बताए ।

प्रकाशित : जेष्ठ ११, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?