१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

‘तातोपानी नाकाले बीआरआई गतिशील’

लक्ष्मी लम्साल

बेइजिङ — तिब्बतले नेपाल र चीनबीचको उत्तरी नाका तातोपानीको सञ्चालन बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) को गतिशीलताको महत्त्वपूर्ण चरण भएको जनाएको छ । तातोपानी नाका पुनः सञ्चालनबारे तिब्बतको राजधानी ल्हासामा गरिएको पत्रकार सम्मेलनमा तिब्बती अधिकारीहरूले यस्तो बताएका हुन् ।

‘तातोपानी नाका पुनः सञ्चालन भएपछि बीआरआईको अभियान दक्षिण एसियातर्फ अझै तीव्र हुनेछ,’ मंगलबार ल्हासामा पत्रकारले सोधेको प्रश्नको जवाफमा तिब्बत स्वायत्त प्रदेशका उपसचिव चासी च्याङछुओले भने, ‘बिग च्यानलमार्फत दक्षिण एसियातिरको व्यापार, संस्कृति, पर्यटन र अर्थतन्त्रका विविध पक्षको सहकार्य थप प्रवर्द्धन हुनेछ ।’


तातोपानी नाका खुलेसँगै नेपाल र चीनबीचको मित्रता अझै गहिरिँदै जाने उनले बताए । नेपाल–चीन व्यापारिक तथा आर्थिक लेनदेनले दुवै देशका जनताको जीवनस्तर सुधार्न र उच्चतातर्फ लैजान पनि सघाउ पुग्ने उनको विश्वास थियो ।

चासीले तातोपानी नाका खुलेपछि तिब्बतको वैदेशिक व्यापारमा पर्ने प्रभाव, चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभको भूमिका लगायतका विषयमा पत्रकारहरूले राखेका जिज्ञासाको जवाफ दिएका थिए । ‘सुरक्षाका कारण व्यापारिक नाकाबाट मानवीय आवतजावत हुने छैन,’ चासीले पत्रकारमाझ भने, ‘चिनियाँ भाषामा चाङ्मु भनिने तातोपानी नाका तत्काल कार्गो ओसारपसारका लागि मात्रै खुल्ला हुनेछ ।’


पत्रकार सम्मेलनमा उपस्थित ल्हासास्थित नेपाली दूतावासका महावाणिज्यदूत गोविन्दबहादुर कार्कीले कान्तिपुरसँग भने, ‘नाकामा बेइजिङबाट गएका जनरल भन्सार प्रशासनका उपमन्त्रीको टोली र नेपालबाट उद्योग वाणिज्य मन्त्रीसहितको टोलीबीच छोटो बैठक भएको’ जनाए ।

प्रकाशित : जेष्ठ १५, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?