२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

भारतीय प्रधानमन्त्री मोदीको मन्त्रिमण्डल ५८ सदस्यीय

भाजपा अध्यक्ष अमित शाहदेखि पूर्वविदेश सचिव एस शंकर बने मन्त्री 
सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका लागि शपथ लिएका छन् । बिहीबार साँझ एक विशेष समारोहबीच भारतीय राष्ट्रपति रामनाथ कोभिन्दबाट मोदीले भारतको १६ औं प्रधानमन्त्रीको रूपमा शपथ लिएका हुन् ।

भारतीय प्रधानमन्त्री मोदीको मन्त्रिमण्डल ५८ सदस्यीय

साथै मोदीको मन्त्रिमण्डलका सदस्यका रूपमा राजननाथ सिंह, अमित शाह, रविशंकर प्रसाद, नीतिन गडकरी, निर्मला सीतारमण, रामविलाश पाशवान, गिरिराज सिंहलगायत २५ जनाले क्याबिनेट मन्त्रीको शपथ लिएका छन् ।

त्यसैगरी, ९ जनालाई बिनाविभागीय र २३ जनालाई राज्यमन्त्री बनाइएको छ । उनीहरूलाई दिइने मन्त्रालयहरू भने अझै खुलाइएको छैन । मोदीको दोस्रो कार्यकालको मन्त्रिपरिषद्मा अधिकांश पुरानै अनुहार दोहोरिएका छन् । ३४ मन्त्रीमध्ये ९ जना मात्र महिला छन् ।

पूर्वअनुमानअनुरूप नै भाजपाका अध्यक्ष अमित शाहले पहिलो पटक मन्त्रिमण्डलमा स्थान बनाइएका छन् । उनलाई गृह र अर्थमध्ये एउटा मन्त्रालय दिइने सम्भावना छ । भाजपातर्फबाट मन्त्री शपथ लिएकामध्ये अधिकांश शाह र मोदीबीच निकट मानिन्छन् । शाह मोदीका सबैभन्दा विश्वास पात्रका रूपमा चिनिन्छन् ।

शाह र मोदीबीच दुई दशकभन्दा बढी समयदेखि घनिष्ट सम्बन्ध रहँदै आएको छ । मोदी गुजरातको मुख्यमन्त्री हुँदा शाह गृहमन्त्री थिए । पार्टीको एउटा तप्का शाहलाई अध्यक्षमै निरन्तरता दिन चाहन्थ्यो । तर, मोदी भने यसपटक आफ्ना विश्वासिला शाहलाई जसरी भए पनि मन्त्री बनाउने पक्षमा थिए । यसअघि गृहमन्त्री रहेका राजनाथ सिंहलाई रक्षामन्त्री बनाइने चर्चा छ ।

यसैगरी, विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीलाई उनकै गढ मानिएको अमेठीको लोकसभा क्षेत्रमा पराजित गरेर सनसनी मच्चाएकी स्मृति इरानीलाई पनि मन्त्री बनाइएको छ । अघिल्लो मन्त्रिपरिषद्मा उनी टेक्सटाइल मन्त्री थिइन् । उनले यसपटक प्रभावशाली मन्त्रालय पाउने सम्भावना छ । नीतिन गडकरी यसपटक पनि मोदी सरकारमा दोहोरिएका छन् । गडकरीले अघिल्लो कार्यकालमा जस्तै सडक यातायात र राजमार्ग, सिपिङ र जलस्रोत मन्त्रालय पाउने सम्भावना रहेको बताइन्छ । मन्त्रिमण्डलमा पूर्व विदेशसचिव सुब्रमण्यम (एस) जयशंकरको प्रवेशलाई आश्चर्यजनक मानिएको छ ।

मोदीसँगको निकै विश्वासिलो सम्बन्ध भएका शकंरले विदेश मन्त्रालय पाउने सम्भावना छ । यसअघि उनी भारतको बहुराष्ट्रिय कम्पनी टाटा समूहको ग्लोबल कर्पोरेट अफेयर्स प्रेसिडेन्ट थिए । जनवरी २०१८ मा परराष्ट्र सेवाबाट अवकाशप्राप्त शंकर पुनः टाटामा आबद्ध भएका थिए । मनमोहन सिंहको दोस्रो मन्त्रिपरिषद्मा अमेरिकाका लागि भारतीय राजदूत रहेका शंकरले सन् २००८ मा भारत–अमेरिकाबीच आणविक सम्झौता गराउन अहंभूमिका खेलेका थिए । शंकरलाई मोदीको कार्यकालको विदेश नीतिको योजनाकार मानिन्छ ।

शंकरको नेपालसँगको अनुभव पनि त्यति सहज छैन । २०७२ सालमा नेपालमा गणतान्त्रिक संविधान जारी गर्ने पूर्वसन्ध्यामा विदेशसचिव शंकर मोदी सरकारको विशेष दूतका रूपमा काठमाडौं गएका थिए । त्यतिबेला शंकरले संविधानको मस्यौदाका केही बुँदामा संशोधन गर्न नेपालको राजनीतिक नेतृत्वमाथि कूटनीतिक मर्यादाविपरीत दबाब दिएको आरोप छ ।

संविधानसभाले भारतीय अपेक्षाविपरीत संविधान पारित

गरेपछि मधेस केन्द्रित दलको विरोधलाई समर्थन गर्दै भारतले नेपालमाथि नाकाबन्दी गरेको थियो । नाकाबन्दीका लागि शंकरले नै दिल्लीलाई प्रेरित गरेको नेपाल–भारत सम्बन्धमा जानकारहरूले दाबी गर्दै आएका छन् ।

मन्त्रीहरूको चयन गर्दा हालै सम्पन्न १७ औं लोकसभा चुनावमा हासिल जितको क्षेत्रीय अनुपातलाई पनि ध्यान दिइएको छ । भाजपाले ऐतिहासिक जित हासिल गरेको पश्चिम बंगालले दुई मन्त्री पाएको छ । भाजपाले यसपटक पश्चिम बंगालमा अहिलेसम्मकै सबैभन्दा बढी १८ सिट जितेको हो । बंगालबाट गायक बाबुल सुप्रियो र देवाश्री चौधरीले अवसर पाएका छन् । मोदीको गृहराज्य गुजरातबाट ३ अनुहार मन्त्रिपरिषद्मा समावेश गरिएका छन् ।

अघिल्लो मोदी सरकारका प्रमुख अनुहारहरू अरुण जेटली, सुषमा स्वराज र सुरेश प्रभुलाई भने निरन्तरता दिइएको छैन । सुषमा स्वराजले समेत मन्त्री बन्न इच्छा नदेखाएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । उनले आफूलाई लोकसभा चुनावबाट टाढा राखेकी थिइन् ।

अरुण जेटलीले स्वास्थ्यको कारण देखाएर मन्त्री बन्न असमर्थता जनाएपछि अर्थमन्त्रीमा पीयूष गोयलको चर्चा छ । जेटली स्वास्थ्य उपचारका लागि अमेरिकाका गएका बेला गोयलले नै अघि सरकारका तर्फबाट अन्तरिम बजेट प्रस्तुत गरेका थिए । तर, यसपटक स्वास्थ्य कारण जेटली आफैं पनि मन्त्री बन्न इच्छुक देखिएका छैनन् ।

जेटलीले बुधबार प्रधानमन्त्री मोदीलाई सम्बोधन गर्दै स्वास्थ्य जटिलको अवस्थामा रहेकाले आफूलाई मन्त्री नबाउन आग्रह गरेका थिए । तर, स्रोतका अनुसार मोदी जेटलीलाई बिनाविभागीय भए पनि मन्त्रिमण्डलमा राख्न पक्षमा छन् । त्यही भएर मोदी जेटलीलाई मनाउन बुधबार साँझ उनकै निवास पुगेका थिए । तर, जेटलीले मोदीको आग्रहको स्वीकार गरे कि गरेनन् भन्ने खुलेको छैन ।

दुइटा मन्त्री नपाएपछि भाजपा नेतृत्वको संयुक्त लोकतान्त्रिक गठबन्धन (एनडीए) को एउटा प्रमुख घटक जनता दल युनाइटेड (जेडीयू) ले मोदी सरकारमा जान अस्वीकार गरेको छ । अन्य घटकहरू शिवसेना, लोक जनशक्ति पार्टी भने सरकारमा सहभागी भएको छ ।

यसअघि बिहीबार अपराहृनसम्म पनि मोदी मन्त्रिमण्डलका सदस्यको नाममा ‘सस्पेन्स’ कायम थियो । मन्त्रीहरूको नाम टुंगो लगाउन मोदी र भाजपा अध्यक्ष अमित शाह बुधबार दिनभरि नै व्यस्त रहे । तर, पनि बुधबार साँझसम्म पनि नाम टुंगो लाग्न सकेन ।

बिहीबार पनि शाह र मोदीबीच यसलाई लिएर लामो छलफल चलेको थियो । सूचीको अन्तिम टुंगो लागेपछि बिहीबार ३ बजेतिर मात्र शाहले मन्त्रीका लागि चयन गरिएकालाई फोन गर्दै जानकारी गराएका थिए ।

प्रकाशित : जेष्ठ १७, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?