१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अमेरिकी व्यापार नीति : मेक्सिकोविरुद्ध कर घोषणा

एजेन्सी

वासिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासन रोक्न मेक्सिकोबाट आउने सबै सामानमा कर लगाउने शुक्रबार घोषणा गरेका छन् ।

अमेरिकी व्यापार नीति : मेक्सिकोविरुद्ध कर घोषणा

राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जुन १० देखि मेक्सिकोबाट अमेरिका भित्रने सम्पूर्ण सामानमा ५ प्रतिशत कर लगाउने घोषणा गरेका हुन् । ट्रम्पका अनुसार उक्त निर्णय ‘गैरकानुनी आप्रवासनसम्बन्धी समस्या हल नभएसम्म’ बिस्तारै बढाइँदै लगिनेछ ।


उत्तर अमेरिकाका लागि मेक्सिकोका प्रमुख कूटनीतिज्ञ जेसस सियाडले ट्रम्पको घोषणा ‘विनाशकारी’ भएको बताएका छन् । उनले कर घोषणा कार्यान्वयनमा आयो भने कडा प्रतिवाद गर्न बाध्य हुने चेतावनी दिए ।


ट्रम्पले यसअघि ‘मेक्सिकोसँगको सीमाक्षेत्रमा संकट उत्पन्न भएको’ भन्दै राष्ट्रिय संकटकाल घोषणा गरिसकेका छन् । भन्सार तथा सीमा सुरक्षा अधिकारीले राष्ट्रपतिको कदमको स्वागत गरेका अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, आलोचकहरूले ‘राष्ट्रपतिको कदमा सीमाक्षेत्रमा आप्रवासीलाई दुर्व्यवहारका लागि उद्यत भएको’ दाबी गरेका छन् ।


सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानका बेला ट्रम्पले पटकपटक मेक्सिको सीमा बन्द गर्न पर्खाल लगाउने बताउने गरेका थिए । त्यसयता सीमाक्षेत्रमा पर्खाल निर्माणका लागि ट्रम्पले आर्थिक स्रोत जुटाउने प्रयास गर्दै आएका छन् । त्यसको प्रयासस्वरूप उनले गत फेब्रुअरीमा संघीय कोषको रकम खर्चन गरेको प्रयास न्यायालयले असफल बनाइदिएको थियो ।


अमेरिकी राष्ट्रपति कार्यालय हृवाइटहाउसका अनुसार ‘इन्टरनेसनल इमर्जेन्सी इकोनोमिक पावर्स’ नामक कानुनअनुसार मेक्सिकोबाट अमेरिका आयता हुने सामानमा कर लगाउने घोषणा गरिएको हो ।


‘वर्षौंसम्म मेक्सिकोले हामीलाई सम्मानजनक व्यवहार गरेको छैन तर अब हामी सार्वभौम देशको हैसियतमा अधिकार खोज्दै छौं,’ विज्ञप्तिमा उल्लेख छ । हृवाइटहाउसका अनुसार ट्रम्पले अक्टोबर सुरुसम्म हरेक महिना करको दरमा ५ प्रतिशतले बढ्ने घोषणा गरेका हुन् । अक्टोबर सुरुबाट २५ प्रतिशतमा पुग्ने कर त्यसपछि भने ‘मेक्सिकोले आफ्नो भूमिबाट अमेरिका आउने गैरकानुननी आप्रवासी नियन्त्रण नगरेसम्म निरन्तर रहने’ जनाइएको छ ।


मेक्सिकोका राष्ट्रपतिद्वारा वार्ता प्रस्ताव

मेक्सिको सिटी (एएफपी)– अमेरिका र मेक्सिकोबीच तनाव बढाउने कारक ठानिएका आप्रवासीको मुद्दा समाधान गर्न मेक्सिकन राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले अमेरिकासँग वार्ता प्रस्ताव गरेका छन् ।


अमेरिकी राष्ट्रपति ट्रम्पलाई लेखिएको पत्रमा उक्त समस्या करको दर वृद्धि र बलपूर्वक आप्रवासी रोक्ने कदमले समाधान नहुने लोपेजले जनाएका छन् । राष्ट्रपति ओब्राडोरले ‘आफूहरूले आप्रवासी समस्या समाधानका लागि सक्दो प्रयास गरिरहेको’ समेत दाबी गरेका छन् । उनका अनुसार आप्रवासीलाई रोक्ने विषयमा ‘उनीहरूको मानवअधिकार उल्लंघन नहोस् भन्नेबारे पनि मेक्सिको उत्तिकै सजग रहेको बताए ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?