मोदीका तीन नयाँ हस्ती 

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालका गठन गरेको मन्त्रिपरिषद्मा पूर्वप्रशासकदेखि गायकसम्मले मौका पाएका छन् । मोदीले बिहीबार ३३ मन्त्री र २४ राज्यमन्त्रीसहितको मन्त्रिपरिषद् गठन गरेका हुन् । 

नवगठित मन्त्रिपरिषद्मा पूर्वअनुमान गरेअनुरूप नै भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष अमित शाहलाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको छ । मोदीका निकट विश्वासपात्र शाह उनी गुजरातको मुख्यमन्त्री हुँदा गृहमन्त्री थिए । यी दुईबीच दुई दशक लामो घनिष्ठ सम्बन्ध छ । त्यसैगरी वरिष्ठ नेता तथा पूर्वगृहमन्त्री राजनाथ सिंहलाई यसपटक रक्षा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
लोकसभा चुनावमा विपक्षी भारतीय राष्ट्रिय कंग्रेसले रक्षा मन्त्रालयसँग सम्बन्धित रफाल लडाकु विमान खरिद प्रकरणलाई प्रमुख मुद्दा बनाइएको थियो । उक्त खरिद प्रक्रियामा ठूलो भ्रष्टाचार भएको कंग्रेसले दाबी छ । त्यसैले सिंहका सामु रफाल लडाकु प्रकरणलाई पारदर्शी रविश्वसनीय ढंगले अवतरण गराउन चुनौती छ ।

मोदी सरकारको विदेशमन्त्रीमा पूर्वविदेशसचिव सुब्रमण्यम (एस) जयशंकरलाई चयन गरेपछि भने धेरै आश्चर्यमा परेका छन् । करिअर डिप्लोम्याट जयशंकर भूराजनीतिक मामिलामा विशेष दख्खल राख्छन् । उनको चयनलाई मोदीको भारतलाई विश्व राजनीतिमा प्रमुख शक्तिका रूपमा उभ्याउने रणनीतिका रूपमा हेरिएको छ ।

जयशंकर अमेरिका र चीनका लागि राजदूत रहिसकेका छन् । दुई वर्षअघि भारत र चीनबीचको दोक्लाम विवाद सुल्झाउन जयशंकरले प्रमुख भूमिका खेलेको बताइन्छ । यसअघि उनी भारतको बहुराष्ट्रिय कम्पनी टाटा समूहको ग्लोबल कर्पोरेट अफेयर्स प्रेसिडेन्ट थिए ।

जनवरी २०१८ मा परराष्ट्र सेवाबाट अवकाश पाएको केही महिनाभित्रै शंकर टाटामा आबद्ध भएका थिए । मनमोहन सिंहको दोस्रो मन्त्रिपरिषद्मा उनी अमेरिकाका लागि भारतीय राजदूत भएका थिए । त्यसताका उलने भारत र अमेरिकाबीच आणविक सम्झौता गराउन अहंभूमिका खेलेका थिए ।

अर्थमन्त्रीमा निर्मला सिथारमणको चयनलाई पनि रोचक मानिएको छ । स्वतन्त्र भारतमा अर्थमन्त्रीको जिम्मेवारी पाउने इन्दिरा गान्धीपछि उनी दोस्रो महिला हुन् । अघिल्लो कार्यकालमा अर्थमन्त्री रहेका अरुण जेट्लीले स्वास्थ्यको कारण देखाउँदै मन्त्री बन्न अस्वीकार गरेपछि निर्मलाले अर्थ मन्त्रालयको जिम्मेवारी पाएकी हुन् । अघिल्लो कार्यकालमा उनले केही समय वाणिज्य र पछि रक्षा मन्त्रालय सम्हालेकी थिइन् ।

पछिल्लो समय केही सुस्त देखिएको भारतीय अर्थतन्त्र गति दिनु उनको प्रमुख चुनौती हुनेछ । भारतीय तथ्यांक विभागका अनुसार गतवर्ष भारतको कुल गार्हस्थ उत्पादनको वृद्धिदर पछिल्लो पाँच वर्षयताकै न्यून अर्थात् ६.८ प्रतिशत थियो । यसअघि सन् २०१३/१४ उक्त वृद्धिदर ६.४ प्रतिशत मात्र थियो ।

त्यसैगरी बेरोजगारी दर पनि चिन्ताजनक ढंगले बढेको देखिन्छ । विभागद्वारा जारी पछिल्लो तथ्यांकअनुसार गत वर्ष कुल श्रमशक्तिको ६.१ प्रतिशत बेरोजगार थियो । जुन विगत ४५ वर्षयताको सबैभन्दा बढी भएको विभागले जनाएको छ ।

बिहीबार मन्त्री भएकामध्ये केहीले पुरानै मन्त्रालय पाएका छन् । यसमध्ये केही मोदीका विश्वासपात्र र केही अघिल्लो कार्यकालमा राम्रो काम गर्ने भनेर चिनिएका अनुहारहरू बढी छन् । मोदी निकट मानिने पीयूष गोयललाई रेल तथा वाणिज्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । गोयल यसअघि पनि रेलमन्त्री नै थिए ।

नीतिन गडकरी र धर्मेन्द्र प्रधान अघिल्लो मन्त्रिपरिषद्मा राम्रो काम गर्नेमध्येमा पर्छन् । प्रधानले अघिल्लो कार्यकालमा जस्तै यसपटक पनि पेट्रोलियम, प्राकृतिक ग्यास र स्टिल मन्त्रालय पाएका छन् । त्यसैगरी गडकरीलाई यसपटक पनि सडक, यातायात र हाइवे मन्त्रालयको जिम्मेवारी दिएको छ ।

पटनासाहिब लोकसभा सिटमा बलिउड अभिनेता शत्रुघ्न सिन्हालाई भारी मत अन्तरले पराजित गरेका रविशंकर प्रसादले पुनः सञ्चार, कानुन तथा सूचनाप्रविधिको जिम्मेवारी पाएका छन् । यसअघि पनि मन्त्री रहेका रामविलाश पासवान, हरसिम्रत कौर बादल, थवार चन्द गेहलोत र मुख्तार अब्बास नक्वीले मोदीको दोस्रो कार्यकालमा पनि मन्त्री बन्ने अवसर पाएका छन् ।

यसअघि राज्यमन्त्री रहेका गिरिराज सिंह र गजेन्द्र सिंह शेखावत यसपटक क्याबिनेट मन्त्री बनेका छन् । जवाहरलाल नेहरू विश्वविद्यालयका चर्चित विद्यार्थी नेता कन्हैया कुमारलाई बेगुसराय लोकसभा क्षेत्रबाट पराजित गरेका गिरिराज सिंहले जलशक्ति मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

यसैगरी, विपक्षी भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीलाई उनकै गढ मानिएको अमेठीको लोकसभा क्षेत्रमा पराजित गरेर सनसनी मच्चाएकी स्मृति इरानीलाई पनि मन्त्री बनाइएको छ ।

अघिल्लो मन्त्रिपरिषद्मा इरानी टेक्सटाइल मन्त्री थिइन् । यसपटक उनले प्रभावशाली मन्त्रालय पाउने चर्चा चले पनि महिला तथा बालबालिका विकास र टेक्सटाइल मन्त्रालयकै जिम्मेवारी दिइएको छ । सिथारमण, इरानी र कौरसहित ६ जना महिलाले मोदी सरकारमा मन्त्री बन्ने अवसर पाएका छन् । हालै सम्पन्न ५४३ सदस्यीय चुनावमा ७८ जना निर्वाचित भएका थिए ।

मोदी सरकारमा बलिउड
गायक बाबुल सुप्रियले पनि मौका पाएका छन् । पश्चिम बंगालबाट निर्वाचित सुप्रियलाई हेभी इन्डस्ट्री र पब्लिक इन्डस्ट्र्रिजको जिम्मेवारी दिइएको छ । हालै सम्पन्न चुनावमा भाजपालाई पश्चिम बंगालमा अहिलेसम्मकै सबैभन्दा बढी १८ सिट जिताउन उनको प्रमुख भूमिकारहेको थियो ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०८:२९
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

प्रायः व्यंग्य विनोदी भावमा प्रस्तुत हुने प्रधानमन्त्री ओली दिल्लीमा किन खिन्नझैँ देखिए ?

दाहालको दबाबबारे प्रधानमन्त्रीले भने– 'नेपालको राजनीतिको स्तर’
सुरेशराज न्यौपाने

नयाँदिल्ली — प्रायः व्यंग्य विनोदी भावमा प्रस्तुत हुने प्रधानमन्त्री केपी शर्मा ओली यस पटकको यात्रामा खिन्नझैँ देखिन्थे । भारतीय समकक्षी नरेन्द्र दामोदर मोदीको शपथग्रहण समारोहमा भाग लिन दिल्ली ओर्लिएदेखिका २४ घण्टा उनी बढी सोचमग्न देखिए ।


शुक्रबार बिहान बाह्रखम्बा रोडस्थित नेपाली दूतावासमा केहीबेर नेपाली संवाददातासँग कुराकानी गर्दा पनि उनी गम्भीर थिए । तपाईंको पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले भर्खरै अन्तर्वार्तामा भनेअनुसार त तपाईंको कार्यकाल एक वर्षमात्र बाँकी छ नि भनेर सोधिएको थियो ।

‘मेरो कार्यकाल एक वर्ष हैन, चार–पाँच दिन मात्र बाँकी छ,’ उनले व्यंग्यमिश्रित शब्दमा भने । आलोपालो सरकार चलाउने सहमति पुरानै कुरा भएको खुलाउँदै उनले ‘यो कुनै गोप्य दस्तावेज होइन’ भने ।

‘उहिले नै सार्वजनिक भएको विषयलाई यतिबेला उछालेका छन् । यो त नेपालको राजनीतिको स्तर र चरित्र हो,’ उनले भने । अध्यक्ष दाहालले एक टेलिभिजन अन्तर्वार्तामा पार्टी एकीकरण क्रममा आलोपालो सरकार चलाउने सहमति भएको प्रसंग उप्काउँदै त्यसबाट दायाँबायाँ गरे कोही नटिक्ने बताएका थिए ।

अघिल्लो वर्ष जेठ २ मा ओली र दाहालले हस्ताक्षर गरेको सहमतिपत्रको चौथो बुँदामा दुवै अध्यक्षले समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप सरकारको नेतृत्व गर्ने उल्लेख छ । ओलीले आफू र अध्यक्ष दाहालबीच कुनै असमझदारी नभएको समेत दाबी गरे ।

ओली–मोदी भेट
प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच शुक्रबार बिहान द्विपक्षीय भेटघाटमा ‘उच्च राजनीतिकदेखि जनस्तरसम्म विश्वासको वातावरणलाई निरन्तरता दिँदै द्विपक्षीय हितका विषय अघि बढाउने’ छलफल भएको छ ।

हैदरावाद हाउसमा मध्याह्न भएको आधा घण्टा लामो भेटघाटमा दुई प्रधानमन्त्रीले पछिल्ला वर्ष नेपाल–भारत सम्बन्ध सकारात्मक ढंगले अघि बढेको र त्यसले सकारात्मक परिणाम दिएको भन्दै सन्तुष्टि व्यक्त गरेको प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले बताए । ‘राज्यस्तरमा पनि र जनस्तरमा पनि अत्यन्त राम्रो प्रभाव पारेको अनुभूति भएको छ भन्नेमा दुवै प्रधानमन्त्रीले सन्तुष्टि व्यत्त गर्दै यही भावनालाई अगाडि बढाउन सहमत हुनुभयो,’ उनले भने ।

ओलीले मोदीलाई लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी र राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) को जितका लागि बधाई दिएका थिए । प्रत्युत्तरमा मोदीले आफ्नो निमन्त्रणा स्विकारेर शपथग्रहण समारोहमा सहभागी भएकोमा ओलीलाई धन्यवाद दिए ।

ओलीले मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिए । दोस्रो पटक प्रधानमन्त्री भएयता ओलीको यो दोस्रो भारत भ्रमण हो । यसअघि २०७४ चैतमा गरेको औपचारिक भ्रमणले चार वर्षअघि भारतद्वारा नेपालमाथि लगाइएको नाकाबन्दी र विरोधमा नेपालले लिएको अडानका कारण मोदी–ओली सम्बन्धमा देखिएको तिक्तता हटाउन सघाएको विश्वास गरिएको थियो ।

शपथग्रहणमा बिमस्टेक राष्ट्रलाई निम्तो गरेर भारतले दक्षिण एसियाली सहयोग संगठन (सार्क) लाई पाखा लगाउन खोजेको आशंका भइरहेका बेला ओलीले सार्क यस क्षेत्रको सबैभन्दा उच्च मञ्च भएको दाबी गरेका छन् ।
‘यो क्षेत्रमा मित्रतापूर्ण र हार्दिक सम्बन्ध विकास गर्न सार्क सबैभन्दा उत्तम मञ्च हो,’ उनले भने ।

यस पटक भारतले शपथग्रहणमा बिमस्टेक राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसँगै मोरिससका प्रधानमन्त्री र किर्गिस्तानका राष्ट्रपतिलाई निम्तो गरेको थियो । पाँच वर्षअघिको शपथग्रहणमाभने सार्कका सरकार प्रमुखहरू उपस्थित थिए ।

भारतको पछिल्लो कदमलाई उसको पाकिस्तानसँगको तिक्ततापूर्ण सम्बन्धको प्रभावका रूपमा बुझिएको छ । ‘बिमस्टेक सदस्य राष्ट्रप्रमुखलाई शपथग्रहणमा बोलाउनु भारत सरकारको लुक इस्ट नीतिको निरन्तरता हो,’ भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।

ओलीले सार्कका सम्बन्धमा आफू आशावादी रहेको बताए । उनले सार्क अध्यक्ष भए पनि नेपाल एक्लैले यो क्षेत्रीय संगठनलाई अगाडि बढाउन सम्भव नभएकाले यसका लागि सार्कका सदस्य राष्ट्रका कार्यकारी प्रमुखहरूसँग कुराकानी भइरहेको बताए । ‘सार्कलाई पुनर्जीवन र पुनः गतिशील बनाउँदा यो क्षेत्रमा शान्ति, सुव्यवस्था, मित्रता, समझदारी र सहकार्य कायम हुन्छ, त्यो नै सबैभन्दा राम्रो कुरा हो,’ उनले भने ।

'कुनै व्यक्ति आउँदैमा सम्बन्धमा असर पर्दैन’
पूर्वविदेश सचिव एस जयशंकरलाई भारतीय विदेशमन्त्री बनाइएकोमा नेपालमा चासो व्यक्त भइरहँदा ओलीले यसबाट नेपाल–भारत सम्बन्धमा असर नपर्ने बताएका छन् । सरकार र मन्त्री कस्तो बनाउने भन्ने भारतीय जनता र प्रधानमन्त्री मोदीको निजी कुरा भएको उनको भनाइ छ ।

‘हामीलाई त्यसको कुनै चासो छैन र दुई देशबीचको सम्बन्धमा खासै प्रभाव पर्दैन,’ ओलीले भने । २०७२ मा नेपालमा गणतान्त्रिक संविधान जारी गर्ने पूर्वसन्ध्यामा तत्कालीन विदेश सचिव जयशंकर मोदी सरकारको विशेष दूतका रूपमा काठमाडौं गएका थिए ।

शंकरमाथि संविधानको मस्यौदाका केही बुँदामा संशोधन गर्न नेपालको राजनीतिक नेतृत्वमाथि कूटनीतिक मर्यादाविपरीत दबाब दिएको आरोप लागेको थियो । भारतको अपेक्षाविपरीत तत्कालीन संविधानसभाले संविधान पारित गरेपछि भारतले मधेस केन्द्रित दलले गरेको आन्दोलनलाई समर्थन गर्दै नेपालमाथि ‘अघोषित नाकाबन्दी’ गरेको थियो ।

उक्त नाकाबन्दीका लागि जयशंकरले नै दिल्लीलाई प्रेरित गरेको नेपाल–भारत सम्बन्धका जानकारहरूले दाबी गर्दै आएका छन् ।

प्रकाशित : जेष्ठ १८, २०७६ ०७:०३
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT