१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

दिल्लीको करोलबाग बजार सवारीमुक्त

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतीय राजधानी नयाँदिल्लीको चल्तीको बजार हो, करोलबाग । दिल्ली पुग्ने नेपालीमध्ये यो बजार नपुग्ने बिरलै भेटिन्छन् । बाह्रैमास उत्तिकै भीड । बिदाको दिन त झनै घुइँचो लाग्छ । ठेलमठेल । एक पटक बजारमा छिरेपछि कति बेला बाहिर निस्कूँजस्तो । पूरै उकुसमुकुस ।

दिल्लीको करोलबाग बजार सवारीमुक्त

मेट्रो स्टेसनबाट ओर्लेदेखि नै अत्यासलाग्दो भीड र कोलाहल । सडकभरि जथाभाबी छरपस्ट राखिएका सामान । त्यही भीडमा रिक्सा, अटोदेखि कारसम्म । ग्राहक र पैदलयात्रीलाई ज्यान जोगाउनै हम्मे ।


झट्ट सुन्दा पत्याउन गाह्रो पर्छ, त्यस्तो अत्यासलाग्दो बजार महिनायता एकाएक शान्त छ । पैदलयात्री निर्बाध हिँड्न पाउँछन् । मेट्रो स्टेसनबाट बाहिर निस्कनासाथ फरक अनुभव हुन्छ । पहिले जथाभाबी हुइँकिने रिक्सा, अटो र अन्य निजी सवारीसाधनलाई पूरै प्रवेश निषेध गरेर सडकलाई पैदलयात्रीमैत्री बनाइएको छ । अब त्यहाँ न धूवाँधूलो, न पहिलेको जस्तो कोलाहल छ ।


कसरी सम्भव होला त्यस्तो कहालीलाग्दो बजारलाई सवारीमुक्त गरेर पैदलयात्रीमैत्री बनाउन ? यसको अगुवाइ गरेका हुन् दिल्ली सरकार, उक्तर दिल्ली नगर निगम (एनडीएमसी) ले । यी दुई निकायको अग्रसरतामा करोलबाग क्षेत्रको १.७ किमि लामो मुख्य बजार अजमल खान रोडलाई एक महिनाअघि सवारीसाधनमुत्त घोषणा गरिएको हो । दिल्ली सरकारअन्तर्गतको सामाजिक कार्य विभाग (पीडब्लूडी) ले एनडीएमसीसँग मिलेर बजारलाई सवारीसाधनमुक्त बनाएपछि करोलबागको मुहार फेरिएको हो ।


सवारीसाधन बनाउका साथै बजारलाई व्यवस्थित र आकर्षक बनाउन ब्युटिफिकेसनलगाय अन्य कुरामा पनि त्यत्तिकै ध्यान दिइएको छ । सडकको बीचमा आकर्षक डिजाइनका सडकबत्ती ठड्याइएका छन् । सफासुग्घर पनि उस्तै । सवारी निषेध गरिएपछि किनमेलका लागि आएका ग्राहक हुन् वा अन्य सामान्य पैदलयात्री सहजै हिँडडुल गर्न सक्छन् । कसैलाई थकाइ लाग्यो भने ठाउँठाउँमा राखिएका कुर्सीमा आराम गर्न सक्छन् । पैदलयात्रीले पहिलेको जस्तो फुटपाथ व्यापारीहरूको तानातान र हैरानी पनि खेप्नु पर्दैन । पसलहरू दुई छेउमा मिलाएर राखिएका छन् । सबैजसो प्रवेश बिन्दुमा सवारीसाधनलाई रोक्न अवरोध बनाइएका छन् र सडकमा सेतो र पहेँलो धर्को लगाइएको छ ।


फुटपाथ पसल राख्न ६० वटा स्थान छुट्याइएका छन् । फुटपाथ व्यापारीका लागि सडकमा सेतो र पहेँलो धर्कोले छुट्याइएको छ । ती धर्को नाघ्न पाउँदैनन् । बाँकी बीचको पूरै भाग पैदलयात्रीका लागि छुट्याइएको छ ।


पैदलयात्रीलाई हैरानी वा असुरक्षा नहोस् भनेर नगरप्रहरी, करोल बाग व्यापारी संघका तर्फबाट सुरक्षाकर्मी पनि केही मिटरको दूरीमा तैनाथ गरिएका छन् । जथाभाबी फोहोर नगर्न र पैदलयात्रीलाई अवरोध नगर्न माइकिङ पनि गर्ने गरिएको छ । त्यहाँ भेटिएका लखनउ, उत्तरप्रदेशका भार्गव शर्मा धेरै पटक करोलबाग आए पनि पहिलो पटक सहज र आनन्द अनुभव भएको बताए । ‘सुरुमा त पत्याउनै सकिनँ, त्यस्तो अस्तव्यस्त बजार पनि यति व्यवस्थित होला भनेर तर जे होस्, पैदल नै बजार घुम्नेका लागि ठूलो राहत भयो,’ उनले भने ।


भारतीय सञ्चार माध्यमले एक महिनाको अवधिमै प्रदूषणको स्तरमा व्यापक गिरावट आएको जनाएका छन् । ‘सेन्टर फर साइन्स एन्ड इन्भ्वाइरेन्टमेन्ट’ ले गरेको एक अध्ययनलाई उद्धृत गर्दै सञ्चार माध्यमले सवारी साधन मुक्त गरिएको क्षेत्रमा प्रदूषणको मात्रा एक चौथाइले घटेको उल्लेख गरेका छन् ।

प्रकाशित : जेष्ठ १९, २०७६ २०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?