कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

लन्डन उत्रिए ट्रम्प

बेलायती प्रधानमन्त्री मेसँग पेरिस जलवायु सम्झौता र हुवावेबारे कुराकानी गर्ने 
एजेन्सी

लन्डन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने राजकीय भ्रमणका क्रममा सोमबार बेलायतको राजधानी लन्डन उत्रेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ट्रम्पलाई बेलायती महारानी एलिजाबेथ द्वितीयले बकिंगम दरबारमा स्वागत गरेकी छन् । ट्रम्प सोमबार नै एलिजाबेथले आयोजना गरेको राजकीय रात्रिभोजमा परिवारसहित सहभागी भए । 

लन्डन उत्रिए ट्रम्प

बेलायतको राजकीय भ्रमण गर्ने उनी तेस्रो अमेरिकी राष्ट्रपति हुन् । एलिजाबेथले आफ्नो शासनकालका १३ मध्ये १२ अमेरिकी राष्ट्रपतिलाई बकिंगम दरबारमा स्वागत गरिसकेकी छन् । तर राजकीय सम्मान भने यसअघि जर्ज डब्लु बुस र बाराक ओबामालाई मात्र दिइएको थियो ।


भ्रमणका क्रममा मंगलबार ट्रम्पले बेलायती प्रधानमन्त्री टेरेजा मेसँग भेटवार्ता गर्ने छन् । दुई नेताबीच जलवायु परिवर्तन तथा चिनियाँ दूरसञ्चार कम्पनी हुवावेबारे कुराकानी हुने बताइएको छ ।

सन् २०१७ मा भएको जलवायुसम्बन्धी पेरिस सम्झौताबाट अमेरिका एकपक्षीय रूपमा बाहिरिने ट्रम्पको निर्णयविरुद्ध बेलायत असन्तुष्ट छ । प्रधानमन्त्री मेले भेटवार्ताका क्रममा उक्त मुद्दा उठाउने बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।


त्यसैगरी, पछिल्लो समय चीन र अमेरिकाबीच जारी व्यापार विवादको जड मानिएको चिनियाँ दूरसञ्चार कम्पनी हुवावेबारे समेत दुई नेताबीच कुराकानी हुनेछ । आफ्नो देशको प्रविधि र बौद्धिक सम्पत्ति चोरेको आरोप लगाउँदै अमेरिकाले हुवावेलाई कालोसूचीमा राखिसकेको छ । कुनै पनि कम्पनीलाई कालोसूचीमा राखेपछि अमेरिकामा व्यापार तथा अन्य सहकार्यका लागि अनुमति आवश्यक पर्छ । त्यसकारण पछिल्लो निर्णयसँगै हुवावेले आगामी दिनमा निर्माण गर्ने मोइबाइलमा गुगल प्लेस्टोर, गुगल सर्च, गुगल म्याप, गुगल क्रोम, युट्युब, जिमेल लगायतका एप्सहरु हुने छैनन् ।


लन्डन मेयरविरुद्ध खनिए

विमान बेलायत उत्रनु केहीबेर अघि ट्रम्पले लन्डन मेयर सदिक खानविरुद्ध ट्वीट गरे । अमेरिकी राष्ट्रपतिलाई बेलायतले रातो कार्पेट विछ्याउन नहुने प्रतिक्रिया दिएपछि कुद्ध ट्रम्प खानविरुद्ध खनिएका हुन् । दुई नेता ट्वीटरमार्फत आरोप प्रत्यारोपमा उत्रने गरेका छन् । यद्यपि, उनलाई बेलायत सरकारले रातो कार्पेट बिछ्याएर स्वागत गरेको छ ।


ट्रम्पले ट्वीटमा ‘अमेरिकाको महत्त्वपूर्ण साझेदार मुलुकको भ्रमणका क्रममा लन्डन मेयर सदिक खानले गरेको व्यवहार मूर्खतापूर्ण रहेको’ बताए । ट्रम्पले भनेका छन्, ‘खानले लन्डनको अपराधबारे चिन्ता लिए पुग्छ, मेरोबारे होइन ।’ खानले आइतबार एक अखबारमा लेख लेख्दै अमेरिकी राष्ट्रपति ट्रम्पलाई सन् १९३० र १९४० को दशकका युरोपेली अधिनायकवादी नेतासँग तुलना गरेका थिए ।


बीबीसीका अनुसार ट्रम्पको विरोधमा मंगलबार बेलायतका मुख्य सहर लन्डन, म्यान्चेस्टर, बेलफास्ट र बर्मिंघममा विशाल विरोध प्रदर्शनीको तयारी गरिएको छ । विपक्षी दलका नेता जेरेमी कोर्बिनले खानको प्रतिरक्षा गर्दै ‘ट्रम्पविरुद्ध बेलायतका मुख्य सहरमा मंगलबार गरिने विरोध प्रदर्शन उनले सदिक खानसहित बेलायत, अमेरिका, र विश्वमा आफ्ना आलोचकमाथिको आक्रमणविरुद्धको ऐक्यबद्धता भएको’ जनाए ।


यसअघि राष्ट्रपति ट्रम्पले ‘बेलायतको सत्तारूढ दलको नेता तथा आगामी प्रधानमन्त्रीमा बोरिस जोन्सन उत्तम विकल्प’ भएको भन्दै कूटनीतिक मर्यादाविपरीत अभिव्यक्ति दिएका थिए ।

प्रकाशित : जेष्ठ २०, २०७६ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?