१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

आमाहरूका भरमा चलेको बजार

पर्वत पोर्तेल

इम्फाल, मणिपुर — राजधानी इम्फाल मात्रै होइन, सिंगो मणिपुरको बजारतन्त्र ‘मातृसत्ता’ मा चलेको छ । यहाँ पुरुषलाई व्यापार गर्न निषेध नै त छैन । तर, उनीहरूलाई व्यापारमा देखिँदैन ।

आमाहरूका भरमा चलेको बजार

सरकारले इम्फालमा महिलालाई व्यापारमा प्रोत्साहन गर्न करोडौं खर्चेर अलग भवन नै निर्माण गरिदिएको छ । जसलाई स्थानीयहरू ‘इमा केथेल’ अर्थात् आमा बजार भन्छन् । इम्फालको ख्वाइरबन्द भन्ने स्थानमा छ, इमा मार्केट । विगतमा झुप्रोमा थियो । अहिले ठुल्ठूला ३ पक्की भवन छन् ।


‘पुरुष त बजारमा किनमेलका लागि मात्रै आउँछन्,’ भारतीय गोर्खा परिसंघ मणिपुर राज्यसचिव राहुल राई भन्छन्, ‘पूरै बजार आमाहरूले कब्जा गरेर राखेका छन्, त्यहाँ उनीहरूकै हुकुम चल्छ ।’ राज्य सरकारको वार्षिक बजेटमा आमा बजारको ठूलै योगदान छ । ५ सय वर्षदेखि मणिपुरी आमाहरूले बजारमा राज गर्दै आएका हुन् ।


इमा मार्केट अनौठो बजार पनि हो । सन् १७८६ मा यो बजार सुरु हुँदा मणिपुर राजतन्त्रात्मक स्वतन्त्र देश थियो । ‘त्यही समयदेखि नै बजारमा आमाहरूको आधिपत्य थियो,’ नेपाली समुदायका अगुवा प्राध्यापक टंकनाथ खतिवडा भन्छन् ।


१६ औं शताब्दीतामा चीन र बर्माबीचको युद्धमा मणिपुरी पुरुष होमिएपछि महिलाले बालबच्चा हुर्काउन व्यापार गर्न थालेका हुन् । ‘पुरुषहरू घरमा नभएपछि उनीहरू स्वरोजगार बने,’ खतिवडाले भने, ‘जसका कारण उनीहरूलाई अहिलेसम्म आत्मनिर्भर छन् ।’


मणिपुर राज्य सरकारका अनुसार इमा मार्केटमा मात्रै करिब १५ हजार महिलाले बजार सम्हालेका छन् । इम्फालबाहेक सेनापति, उखरुल, चान्देल, तमेंलोड, चुरा चाँदपुरलगायत ग्रामीण बजारमा पनि उनीहकै पकड छ । ‘एउटी आटिली महिलाले सुरु गरेको सामान्य व्यापार समग्र महिलाको गौरवको विषय बनेको छ,’ भारतीय गोर्खा परिसंघका पूर्वअध्यक्ष डीपी शिवाकोटीले भने ।


करिब २८ लाख हाराहारी जनसंख्या रहेको मणिपुरमा रैथाने मणिपुरी (मैत्यै) समुदायको बाहुल्य छ । यहाँ करिब ८७.०७ प्रतिशत बढी मैत्यै छन् । ८.५० प्रतिशत इशाई र ४.४२ प्रतिशत रैथाने मुस्लिम समुदायका महिलाले बजार ओगटेका छन् । बजारमा नेपाली अनुहारका महिला चाहिँ देख्न सकिँदैन ।


‘नेपाली महिलाहरू मैत्यैसँगै व्यापार गर्न अप्ठ्यारो मान्छन्,’ नेपालीभाषी बाहुल्य कांग्लातुम्वी गाउँकी प्रधान (वडाध्यक्ष) मीना विष्टले भनिन् ।

प्रकाशित : जेष्ठ २२, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?