कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अस्ट्रेलियामा ग्यास उत्सर्जन बढ्दो

नारायण खडका

(अस्ट्रेलिया) — अस्ट्रेलियामा हरित गृृह ग्यास उत्सर्जनमा गत वर्षको भन्दा वृद्धि भएको छ । अस्ट्रेलियाली सरकारको नयाँ तथ्यांकअनुसार वायु प्रदूषणमा मुख्य कारक रूपमा मानिएको हरित गृह ग्यास उत्सर्जन गतवर्षको भन्दा ०.७ प्रतिशतले वृद्धि भएको हो । 

अस्ट्रेलियामा ग्यास उत्सर्जन बढ्दो

अस्ट्रेलिया सरकारले हरेक ३ महिनामा ग्यास उत्सर्जनसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै आएको छ । बिहीबार सार्वजनिक तथ्यांकअनुसार हरित गृह ग्यास उत्सर्जन वृद्धि हुनुमा डिजेल प्रयोगमा वृद्धि, प्राकृतिक ग्यास निर्यात, धातु तथा कोइला उत्पादनमा वृद्धि मुख्य कारक रहेको उल्लेख गरिएको छ । वातावरण तथा ऊर्जा विभागका अनुसार हरित गृह ग्यास उत्सर्जनमा विद्युत् क्षेत्रको ३३.२ प्रतिशत, यातायातको १९.९ प्रतिशत, कृषि क्षेत्रको १२.९ प्रतिशत र अन्य विद्युतीय स्रोतको १९.१ प्रतिशत योगदान छ । ऊर्जामन्त्री एङग्स टेलरले तथ्यांक सार्वजनिक गर्दै जाडोयाममा मानिसहरुले बढी ऊर्जा खपत गर्ने भएकाले पनि ग्यास उत्सर्जनमा वृद्धि भएको जनाए ।


अस्ट्रेलियाले केही समयअघि कार्बनमा लगाउँदै आएको कर हटाएपछि यसको थप वृद्धि भएको हो । मन्त्री टेलरले प्राकृतिक ग्यास निर्यातका कारण तत्काल हरित गृह ग्यास उत्सर्जन बढेको देखिए पनि विश्वव्यापी रूपमा यसले अस्ट्रेलियाको २७ प्रतिशत उत्सर्जन कम गर्न मद्दत पुर्‍याएको दाबी गरे । विश्वव्यापी उत्सर्जन कम गर्न सहयोग पुर्‍याइरहेको प्राकृतिक ग्यासको निर्यात नहटाउने पक्षमा सरकार रहेको उनको भनाइ छ ।


अस्ट्रेलियामा केही साताअघिको निर्वाचनमा समेत वातावरण प्रदूषणसम्बन्धी विषय मुख्य एजेन्डा बनेको थियो । सत्तारूढ दल लिबरल र विपक्षी दल लेबरले समेत यसलाई प्रमुख एजेन्डाका रूपमा उठाएका थिए ।


वातावरण विषयलाई नै लिएर बि्रसबनमा करोडौं डलरमा बन्न लागेको अदानी कोल माइन पनि विवादमा अाइरहेको छ । अस्ट्रेलियामा ठूलो संख्यामा कोल माइनको खानी उत्खनन् गरेर विद्युत् निकाल्ने गरिएको छ । अस्ट्रेलियाले वातावरण प्रदूषण कम गर्नका लागि नै सोलारलगायतका प्राकृतिक स्रोतमा बढी प्राथमिकता दिन ठूलो मात्रामा आमजनतालाई आर्थिक लगायतका सहुलियत दिने गरेको छ ।

प्रकाशित : जेष्ठ २४, २०७६ २२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?